अत्तरिया- रामसाय राना उमेरले ५६ वर्ष पुगे। कञ्चनपुरको कृष्णपुर नगरपालिका- ८ बिचुवाका राना अहिले युवा अवस्थाजस्तो शारीरिक बलले काम गर्न सक्दैनन्। पुरै जीवन कृषि कर्ममा बिताएका रानाले अहिले भने ‘बंगुर’ पालनलाई प्राथमिकता दिएका छन्।
बिचुवामा चिटिक्क परेको घर बनाएका रानाका सन्तान छैनन्। उनको त्यो घरमा श्रीमान श्रीमती मात्रै बस्छन्। युवा अवस्थामा कृषिमा तरकारी खेती, अन्नबाली, कुखुरा पालनसँगै बंगुर पालेका उनले अहिले सबै कृषि काम छोडेर बंगुरलाई प्राथमिकता दिएका छन्।
अन्य काम गर्न नसक्ने अवस्था आएकाले बंगुर पालनलाई जीवन धान्ने साहारा बनाएका उनको भनाइ छ। यो उनको पुख्र्यौली पेसासमेत हो। उनले परिवारले लामो समयदेखि बंगुल पालन गर्दै आएको थियो। जीवनको उत्तरार्धमा त्यही कामलाई निरन्तरता दिएको उनको भनाइ छ।
‘कृषिकार्यमा मैले सुरुदेखि बंगुर पालन गर्दै आएको छु’, उनले भने, ‘यो मेरो पर्खौली व्यवसाय पनि हो।’ उनले बंगुरसँगै आफूलाई खान पुग्ने तरकारी र खाद्यान्न लगाएका छन्। सानो संख्यामा कुखुरासमेत पालेका छन्।
‘खाद्यान्न र तरकारी खेती खानपुग्ने गरी लगाएको छु’, बंगुल मोह भएका उनी थप्छन्, ‘मलाई बंगुर पालन मनपर्छ। व्यवसायकै रुपमा अहिले मैले ३५ वटा बंगुर पालेको छु।’ बंगुलबाट राम्रो फाइदा हुने उनको अनुभव छ। ‘आम्दानी राम्रै छ’, उनले भने, ‘लगानी उठेर फाइदा पनि हुन्छ।’
उनले २०७२ सालमा आरएस बंगुर पालन फर्म दर्ता गरेर बंगुर पालनलाई व्यवसायिकता दिएका हुन्। ‘यो उमेरमा अरु काम गर्न सकिदैन। घरमा सहयोग गर्ने अरु कोही छैनन्’, उनले भने, ‘ बुढाबुढीको जीवनधान्ने साहारा यही बंगुर हो। हाम्रा सन्तान पनि छैनन्।’
उनले आफ्ना सन्तान नभएपछि दाइकी छोरीलाई सँगै राखेका थिए। उनको विवाह भइसकेको छ। ‘पहिले दाइको छोरी थिइ। अहिले उसको पनि बिहे भइसक्यो’, उनले भने, ‘मैले सबै काम छोडे पनि बंगुर पाल्न छोड्दिन। यसबाट नाफ भए पनि नभए पनि मेरो व्यवसाय यही हो।’
फर्म विस्तारको अधुरो सपना हालदर्ता गरेको फर्ममा ३५ बंगुर पालेका रानाले लगानीको अभावमा फर्म विस्तार गर्ने सपना भने पुरा गर्न नसकेको बताए। उनले बंगुर पालन विस्तारका लागि विभिन्न निकायमा अनुदानका लागि गएको सुनाए। तर, उनलाई सबैले रित्तो हात फर्काएका छन्।
‘एकचोटी महेन्द्रनगरमा अनुदान खुलेको थियो। मैले पनि खबर पाएर अनुदान फारम भर्न गएको थिएँ। मेरो फाइल फालिदियो। मलाई तपाईंको उमेर बढी भयो भनिदियो।’
अनुदानका लागि उमेरले बाधा गरेपछि उनी दुःखी भएर फर्किए। ‘४० वर्ष उमेर काटेपछि अनुदान नपाइने रहेछ’, उनले आफूले अनुदान नपाएको भन्दै थपे, ‘त्यो कुरा सुनेर मलाई दुःख लाग्यो। हामीजस्तो धेरै शारीरीक परिश्रम गर्न नसक्नेलाई पनि राज्यले अनुदानमा समेट्नु पथ्र्यो।’
वास्तविक किसान भन्दा पनि पहुँचबाला किसानले अनुदान पाउने गरेको देखेर पनि दुःख लाग्ने गरेको उनको भनाइ छ। उनले आधुनिक तरिकाले बंगुर पालनका लागि भने एक पटक कृष्णपुर नगरपालिकाबाट तालिम लिएको बताए।
किसानभन्दा व्यापारी नाफामा रानाले कृषि उपज उत्पादन गर्ने किसानभन्दा पनि सोही वस्तु बिक्री गर्ने व्यपारीले बढी नाफा कमाउने गरेको बताए। बजारीकरण गर्न नसक्दा तरकारी खेती छोडेका रानाले किसानलाई लगानी उठाउन समस्या भए पनि व्यापारी भने सधै नाफामा रहने गरेको बताए।
‘बंगुरको पनि मूल्य तलमाथि भइरहन्छ। कहिलेकाही त बंगुर बेच्दा दाना खुवाएको पैसा पनि उठ्दैन’, उनले भने ‘मासुमाभन्दा पनि बंगुरको बच्चा बेच्न पाए अलि बढी फाइदा हुन्छ।’ उनले सरकारले बंगुरको मासुको मूल्य तोकिदिए आफू जस्ता किसान ठगिनबाट जोगिने बताए। किसान हरेक ठाउँबाट ठगिने तर, व्यापारी, बिचौलियामात्रै कमाउने बजारको संरचना बनेकाप्रति गुनासो गरेका छन्।