तस्वीर- ट्विटर/युक्रेनी सैन्य बल

अन्तर्राष्ट्रिय

४० दुश्मन मार्न सफल दुई सन्तानकी आमा स्नाइपर युक्रेनी फौजको नियन्त्रणमा

By खबरहब

April 02, 2022

काठमाडौं– हालसम्म ४० दुश्मन मार्न सफल एकजना रुसी महिला निशानेबाज (स्नाइपर) लाई युक्रेनी फौजले नियन्त्रणमा लिएका छन् । बगिरा नाम दिइएकी रुसी स्नाइपर एरिना स्टारिकोभालाई पक्राउ गर्न सफल भएको युक्रेनी फौजले जानकारी दिएको छ ।

सामाजिक सञ्जालमार्फत् विज्ञप्ति जारी गर्दै युक्रेनी फौजले उनलाई नियन्त्रणमा लिएको पुष्टि गरेको हो । उनी रुसी फौजको ११ औं स्पेशलाइज्ड स्पेशल अपरेसन डिभिजनमा तैनाथ रहेको जनाइएको छ ।

युक्रेनी फौजसँगको लडाइका क्रममा उनी घाइते भएको र उपचारका क्रममा उनलाई युक्रेनी फौजले नियन्त्रणमा लिएको अमेरिकी अनलाइन समाचार पोर्टल न्यूयोर्क पोष्टले जनाएको छ ।

युक्रेनको पूर्वी भागमा अवस्थित पृथकतावादी राज्यको फौजसँग आबद्ध उनले हालसम्म ४० जनालाई मार्न सफल भएको र उनीबाट मारिनेमा केही सर्वसाधारण समेत रहेको बताइएको छ ।

यता उनले भने रुसी फौजले आफूलाई मर्न त्यसै छाडेको आरोप लगाएकी छिन् । ‘म घाइते छु भन्ने थाहा पाउँदा पाउँदै पनि उनीहरुले मलाई मर्न यतिकै छाडेर गए ।’ उनलाई उद्धृत गर्दै विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

उनी सर्बियाली मूलको रहेको जनाइएको छ । ४१ वर्षीया उनको विवाह बेलारुसी सैनिक अलेक्जाण्डर ओर्गेनिचसँग भएको न्यूयोर्क पोष्टले जनाएको छ ।

दुई सन्तानकी आमा उनका ११ र ९ वर्षीया छोरीहरु छन् ।