अन्तर्राष्ट्रिय

आज यस्ता छन् तपाईँले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम (अडियोसहित)

By खबरहब

April 02, 2022

अडियो सुन्नुहोस्ः

रुसी आक्रमणमा युक्रेनका ५३ ऐतिहासिक सम्पदा क्षतिग्रस्त

रुसी हमलामा युक्रेनमा धार्मिक भवन र संग्रहालयसहित कम्तीमा ५३ ऐतिहासिक भवन तथा क्षेत्र क्षतिग्रस्त भएको राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक र सांस्कृतिक संगठन युनेस्कोले जनाएको छ ।

‘यो पछिल्लो सूची हो, तर यो पूर्ण छैन । किनकि हाम्रा विज्ञहरूबाट युक्रेनी अधिकारीहरूले फाइल गरेका धेरै रिपोर्टहरू प्रमाणीकरण गर्ने कार्य जारी छ’, युनेस्कोका प्रवक्ताले समाचार संस्था एएफपीलाई भने । युनेस्कोले देशको उत्तर तथा पूर्वी भागमा क्षतिग्रस्त क्षेत्रको एउटा सूची नै सार्वजनिक गरेको छ ।

युक्रेनी अधिकारीहरूले प्रदान गरेको सूचना पुष्टि गर्न युनेस्कोले घटनास्थलबाट स्याटलाइट तस्वीरहरू र साक्षीका रिपोर्टहरू प्रयोग गरेको उनको भनाइ छ ।

युनेस्कोका अनुसार रुसी गोलाबारीमा पूर्वी खार्किभ क्षेत्रका एक दर्जनभन्दा बढी क्षेत्रहरू क्षतिग्रस्त भएका छन् । एफपीका अनुसार क्षतिग्रस्त भवनमा चर्चदेखि आधुनिक सम्पदा छन् ।

क्षतिग्रस्त सम्पदाहरूमध्ये पाँच ओटा राजधानी किभ र अरु पाँच ओटा उत्तरी युक्रेनको चेर्निभका छन् । चेर्निभ ऐतिहासिक स्थलहरूको घरसमेत मानिन्छ ।

युनेस्कोका अनुसार रुसी हमलामा समग्रमा २९ ओटा धार्मिक स्थल, १६ ओटा ऐतिहासिक भवन, चार ओटा संग्रहालय र चार ओटा स्मारक क्षतिग्रस्त भएका छन् । सूचीमा रुसी सेनाले घेरा हालेको मारिओपोल र खेर्सन सहरको विवरण भने समावेश छैन् ।

अमेरिकाले युक्रेनलाई थप ३० करोड डलर सहयोग गर्ने

अमेरिकाले युक्रेनलाई ३० करोड अमेरिकी डलरको थप सैन्य सहायता उपलब्ध गराउने भएको छ । अमेरिकाको रक्षा मन्त्रालयले दिएको जानकारीअनुसार युक्रेन सेक्युरिटी असिस्टेन्स इनिसिएटिभ कार्यक्रम मार्फत अमेरिकाले युक्रेनको रक्षा क्षमतालाई बलियो बनाउन थप ३० करोड डलर उपलब्ध गराइने छ ।

यस्तो सहयोग सुरक्षा सहायतामा केन्द्रित रहने अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

यस्तो सहयोगमा लेजर गाइडेड रकेट सिस्टम, मानवरहित हवाई उपकरण (ड्रोन), सैनिक सवारी साधन, मेसिनगन, व्यावसायिक अन्तरिक्ष तस्वीर सेवा राति पनि देख्न सक्ने एवम् थर्मल चश्मा, गोलीगठ्ठा लगायत समावेश रहेको रक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

‘यो निर्णयले युक्रेनको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डतालाई आफ्नो रक्षा प्रयासको समर्थनमा संयुक्त राज्य अमेरिकाको अटल प्रतिबद्धतालाई जोड दिन्छ’ पेन्टागनका प्रेस सचिव जोन किरबीले भने ।

युक्रेनमाथि रुसले आक्रमण गरेसँगै अमेरिकासहित विभिन्न युरोपेली मुलुकहरूले युक्रेनलाई आर्थिक एवम् सुरक्षा सहायता उपलब्ध गराउँदै आएका छन् ।

पछिल्लो १२ दिनमा भारतमा १० औँ पटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि

भारतमा पछिल्लो १२ दिनमा १० पटक पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ । अन्तर्राष्ट्रिय बजारमा पनि पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएकाले भारतमा पनि बढाउनु परेको अधिकारीहरूले जनाएका छन् ।

पछिल्लो समय शनिबार प्रति लिटरमा ८० पैसाको दरले मूल्य वृद्धि भएको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

संघीय राजधानी नयाँ दिल्लीमा अहिले प्रति लिटर पेट्रोलको मूल्य भारु १०७ रुपैयाँ ६१ पैसा पुगेको छ । त्यसैगरी डिजेलको मूल्य प्रति लिटर भारु ९३ रुपैयाँ ८७ पैसा रहेको छ । त्यस्तै मुम्बई शहरमा भने पेट्रोलको मूल्य प्रतिलिटर भारु ११७ रुपैयाँ ५७ पैसा र डिजेलको मूल्य भारु १०१ रुपैयाँ ७९ पैसा पुगेको एएनआईले जनाएको छ ।

स्थानीय करका आधारमा भारतका विभिन्न राज्यहरूमा पेट्रोलियम पदार्थको दरमा फरक पर्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

पुटिनका कारण मूल्य बढेको बाइडेनको आरोप

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका कारण विश्वभर मूल्य वृद्धि भएको अमेरिकी राष्ट्रपति जो बाइडेनले आरोप लगाएका छन् । युक्रेनमाथि रुसी हमलापछि ग्यासको मूल्य बढेका र यसकारण सबै वस्तुको भाउ अकासिएको उनको भनाइ छ ।

उर्जाको बढ्दो मूल्य व्यवस्थापन गर्नका लागि अमेरिकी रणनीतिक भण्डारबाट दैनिक दश लाख ब्यारेल तेल निकाल्न निर्देशन दिएसँगै बाइडेनको यस्तो भनाइ आएको हो ।

‘अमेरिकीहरूले पुटिनको ग्यासको मूल्यवृद्धिको असर पम्पहरूमा भोगिरहेका छन् ।’ बाइडेनले भने ।

उनले ट्विटरमा लेखेका छन्, ‘मलाई थाहा छ ग्यासको भाउ एकदमै पीडादायी छ । मेरो योजनाले अहिलेको पीडा कम गराई भोलि यसबाट जोगाउँछ । मसँग भएका सबै उपकरणको प्रयोग गरी पुटिनको मूल्यवृद्धिबाट तपाईँहरूलाई बचाउने छु । र दलीय मतभेदलाई पन्छाउन म कांग्रेससमक्ष आह्वान गर्छु । यो समय सँगै भेटौँ ।’

श्रीलंकामा आपतकाल घोषणा

श्रीलंकामा आपतकाल घोषणा गरिएको छ । आर्थिक संकटको विरोधमा सयौँ प्रदर्शनकारी राष्ट्रपतिको निवासतर्फ बढेको भोलिपल्ट सरकारले आपतकाल घोषणा गरेको हो । आपतकालसँगै सुरक्षा फौजलाई असीमित शक्ति प्रदान गरिएको छ ।

राष्ट्रपति गोटाबाया राजापाक्षेले  संदिग्धहरूलाई बिना कुनै मुद्दा चलाउन र हिरासतमा राख्न अनुमति दिने कडा कानूनको आह्वान गरेका छन् । राष्ट्रपतिको राजीनामा माग गर्दै प्रदर्शन भएपछि पछिल्ला घटनाक्रम विकसित भएका हुन् ।

‘सार्वजनिक व्यवस्थाको संरक्षण र समुदायको जीवनका लागि अत्यावश्यक आपूर्तिका लागि आपतकाल घोषणा गरिएको’ उनले भनेका छन् । सरकारले राजधानी कोलम्बोसहित पश्चिम प्रान्तमा शुक्रबार राति कफ्र्यू लगाएको थियो ।

२ करोड २० लाख जनसंख्या भएको श्रीलंकाले सन् १९४८ मा बेलायतबाट स्वतन्त्र भएपछि पहिलो पटक ठूलो मन्दी सामना गरेको छ । मूल्यवृद्धि आकासिएको छ भने दैनिक १० घण्टाभन्दा बढी लोडसेडिङ भएको छ । कागजको अभावमा परीक्षा नै स्थगित गरिएका छन् ।

मेरो ज्यान जोखिममा छ – पाकिस्तानी प्रधानमन्त्री इमरान खान

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले आफ्नो ज्यान जोखिममा रहेको विश्वस्त स्रोतबाट सूचना पाएको दाबी गरेका छन् । आफूविरुद्ध संसद्मा अविश्वासको प्रस्ताव दर्ता गरिएपछि प्रधानमन्त्री खानले यस्तो दाबी गरेका हुन् । 

उनले आफू निडर भएर स्वतन्त्र र लोकतान्त्रिक पाकिस्तानका लागि लडाइँ जारी राख्ने बताए । आफूविरुद्ध संसदमा पेस भएको अविश्वासको प्रस्तावमाथि आइतबार हुने मतदानभन्दा एक दिन अगाडि समाचार संस्था एआरवाईसँगको एक अन्तरवार्तामा प्रधानमन्त्री खानले  देशको शक्तिशाली सेनाले आफूलाई  तीनवटा विकल्पहरू– अविश्वासको मत, मध्यावधि निर्वाचन र  प्रधानमन्त्री पदबाट राजीनामा दिएको बताएका छन् ।

आफ्नो ज्यान जोखिममा रहेको र विपक्षीहरूले चरित्र हत्या गरेको उनले दाबी गरे । ‘मेरो ज्यान पनि जोखिममा छ भन्ने मेरो देशलाई  जानकारी गराउन चाहन्छु । विपक्षीले  मेरो चरित्र हत्याको योजना बनाएका छन् । म मात्र होइन मेरी श्रीमतीलाई पनि चरित्र हत्याको योजना गरेका छन्’, पूर्व क्रिकेटरसमेत रहेका ६९ वर्षीय खानले भने ।

भारतीय प्रधानमन्त्री तथा रुसी विदेशमन्त्रीबीच भेटवार्ता

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रुसी विदेशमन्त्री सर्गेई लाभरोभसँग भेटवार्ता गरेका छन् ।

राजधानी नयाँ दिल्लीमा भएको भेटमा प्रधानमन्त्री मोदीले युक्रेनमा शान्ति प्रयासमा योगदान गर्न भारत तयार रहेको बताए । युक्रेनमाथि रुसी हमलाको विरोध गर्न भारतलाई अन्तर्राष्ट्रिय दबाबबीच प्रधानमन्त्री मोदी र रुसी विदेशमन्त्रीबीच ४० मिनेट भेटवार्ता भएको थियो ।

प्रधानमन्त्रीको कार्यालयबाट जारी प्रेस विज्ञप्तिअनुसार लाभरोभले शान्ति वार्तालगायत युक्रेनको अवस्थाबारे मोदीलाई जानकारी गराएका थिए । जवाफमा मोदीले हिंसा अन्त्य गर्न विदेशमन्त्री लाभरोभलाई आह्वान गरेका थिए ।

सो अवसरमा प्रधानमन्त्रीले तत्काल हिंसा अन्त्यको लागि आह्वान गरेको र शान्ति प्रयासमा कुनै पनि तरिकाले योगदान गर्न भारतको तयार रहेको बताएका थिए ।

रुसी सेनाले युक्रेनमा हमलाको आकार घटाउने घोषणा गरिरहेका बेला लाभरोभले मोदीलाई भेटेका हुन् ।

मलेशियाका राजारानी कोरोना संक्रमित

मलेशियाका राजा रानी कोरोना भाइरसबाट संक्रमित भएका छन् । कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै राजा सुल्तान अब्दुल्लाह सुल्तान अहमद शाह र रानी टुङ्कु अजिजा अमिना मैमुना इस्कनदरिया क्वारेन्टाइनमा रहेको सिंगापुरको टेलिभिजन च्यानल न्यूज एसिया सीएनएको अनलाइन संस्करणले जनाएको छ ।

मलेशियाको दरबारले जनाएअनुसार राजा सुल्तान अब्दुल्लाह आगामी बिहीबार अर्थात् अप्रिल ७ सम्म तथा रानी टुङ्कु अजिजा शुक्रबार अर्थात् आगामी अप्रिल ८ सम्म क्वारेन्टिनमा रहनेछन् । उनीहरु मलेशियाको स्वास्थ्य मन्त्रालयले जारी गरेको मापदण्डअनुसार नै क्वारेन्टाइनमा बसेको जनाइएको छ ।

‘राजा र रानीमा सामान्य लक्षणमात्रै देखिएको छ र मौसुफहरूको स्वास्थ्य अवस्था राम्रै छ ।’ दरबारले जनाएको छ । राजाले मलेशियालीहरुलाई मुसलमानहरुको पवित्र महिना रमजानको शुभकामना दिँदै चनाखो रहन आह्वान गरेको सीएनएले जनाएको छ ।

मलेशियाको दरबारले राजा र रानीको सुस्वास्थ्यको कामना गर्न समेत सबै जनतामाझ अपिल गरेको छ । मलेशियामा हालसम्म कोरोना भाइरसबाट ४२ लाख १९ हजार ३ सय ९५ जना संक्रमित भएका छन् भने मृत्यु हुनेको संख्या ३५ हजार १३ छ ।

खुँखार रुसी स्नाइपर युक्रेनी फौजको नियन्त्रणमा

हालसम्म ४० दुश्मन मार्न सफल एकजना रुसी महिला निशानेबाज (स्नाइपर) लाई युक्रेनी फौजले नियन्त्रणमा लिएका छन् । बगिरा नाम दिइएकी रुसी स्नाइपर एरिना स्टारिकोभालाई पक्राउ गर्न सफल भएको युक्रेनी फौजले जानकारी दिएको छ ।

सामाजिक सञ्जालमार्फत् विज्ञप्ति जारी गर्दै युक्रेनी फौजले उनलाई नियन्त्रणमा लिएको पुष्टि गरेको हो । उनी रुसी फौजको ११ औं स्पेशलाइज्ड स्पेशल अपरेसन डिभिजनमा तैनाथ रहेको जनाइएको छ ।

युक्रेनी फौजसँगको लडाइका क्रममा उनी घाइते भएको र उपचारका क्रममा उनलाई युक्रेनी फौजले नियन्त्रणमा लिएको अमेरिकी अनलाइन समाचार पोर्टल न्यूयोर्क पोष्टले जनाएको छ ।

युक्रेनको पूर्वी भागमा अवस्थित पृथकतावादी राज्यको फौजसँग आबद्ध उनले हालसम्म ४० जनालाई मार्न सफल भएको र उनीबाट मारिनेमा केही सर्वसाधारण समेत रहेको बताइएको छ ।

यता उनले भने रुसी फौजले आफूलाई मर्न त्यसै छाडेको आरोप लगाएकी छिन् । ‘म घाइते छु भन्ने थाहा पाउँदा पाउँदै पनि उनीहरूले मलाई मर्न यतिकै छाडेर गए ।’ उनलाई उद्धृत गर्दै विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

उनी सर्बियाली मूलको रहेको जनाइएको छ । ४१ वर्षीया उनको विवाह बेलारुसी सैनिक अलेक्जाण्डर ओर्गेनिचसँग भएको न्यूयोर्क पोष्टले जनाएको छ ।

दुई सन्तानकी आमा उनका ११ र ९ वर्षीया छोरी छन् ।