दोहा – गैरकानुनी कामदारमाथि कडाइ गरेको साउदी सरकारले थप १२ हजार ३४ जना पक्राउ गरेको छ।
देशका विभिन्न क्षेत्रबाट एक साताभित्रै आवास तथा श्रम ऐन र सीमा सुरक्षा नियम उल्लङ्घन गर्नेलाई पक्राउ गरिएको त्यहाँको राहदानी महानिर्देशनालय (जवाजत) ले जनाएको छ । गत २१-२७ अप्रिलको अवधिमा सुरक्षा निकायका विभिन्न इकाई र जवाजतले गरेको संयुक्त फिल्ड अभियानका क्रममा उनीहरूलाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा रेसिडेन्सी ऐन उल्लङ्घन गर्ने ७ हजार ५१५, सीमा सुरक्षा नियम उल्लङ्घन गर्ने करिब ३ हजार २ र श्रम कानुन उल्लङ्घन गर्ने १ हजार ५१६ भन्दा बढी रहेका छन् ।
राज्यमा सीमा पार गर्न खोज्दा जम्मा १९९ जना पक्राउ परेका थिए, जसमध्ये ४७ प्रतिशत यमनी, ३५ प्रतिशत इथियोपियाली र १८ प्रतिशत अन्य राष्ट्रका थिए भने ३९ जना राज्यको सीमा पार गरेर भाग्न खोजेको आरोपमा पक्राउ परेका थिए ।
यी मध्य कानुन उल्लङ्घन गर्नेलाई ओसारपसार गर्ने र आश्रय दिने १२ जनालाई पनि सुरक्षा बलले पक्राउ गरेको जवाजतलाई उद्धृत गर्दै साउदी गजेटले जनाएको छ। यी सबैलाई सजाय तथा कानुनी प्रक्रिया पुराएर देश निकाला गरिनेछ ।
घुसपैठ गर्ने, राज्य प्रवेशमा सहजीकरण गर्ने, ढुवानी, आश्रय दिने, कुनै सहयोग वा सेवा प्रदान गर्नेलाई १५ वर्षसम्म कैद र अधिकतम १० लाख साउदी रियाल जरिवानाको सजाय हुने त्यहाँको गृह मन्त्रालयले जनाएको छ ।
पछिल्लो समय साउदीले भिसाको म्याद सकिएर लुकिछिपी बस्ने आप्रवासीलाई लक्षित गरी अभियान तीव्र पारेसँगै गैरकानुनी रुपमा त्यहाँ कार्यरत सयौँ नेपालीहरू पनि पक्राउ परेका र हाल उनीहरूलाई जेलमा राखिएको र जेल अवधि समाप्त गरेपछि आवश्यक कानुनी प्रक्रिया पूरा गरी छुटाइने बताइएको छ ।