जेष्ठ १९ तत्कालीन राजा वीरेन्द्र शाहको पूरै परिवारको सामूहिक हत्या भएको दिन । वि.सं. २०५८ साल जेठ १९ गते तत्कालीन नारायणहिटी राजदरबार भित्र भएको राजकीय जमघटमा राजपरिवारका १० सदस्यको सामूहिक हत्या भएको थियो । जुन हत्याकाण्डको सत्यतथ्य अहिलेसम्म सार्वजनिक गरिएको छैन । रक्तपातपूर्ण हत्या श्रृंखलाबाट गुज्रिँदै आएको नेपालको राजनीतिमा यो हत्याकाण्ड, आधुनिक इतिहासकै सबैभन्दा नाटकीय र अकल्पनीय घटनाका रूपमा चिनिएको छ ।
यो घटना लगत्तै सरकारले गठन गरेको छानबिन समितिले तत्कालीन युवराज दीपेन्द्र शाहले नै राजा वीरेन्द्र, रानी ऐश्वर्या, अधिराजकुमारी श्रुति, निराजन वीर विक्रम शाह, काका धीरेन्द्र शाह, काकी शान्ति, श्रद्धा, जयन्ती र श्रद्धाका पति कुमार खड्गविक्रम शाहलाई गोली हानी हत्या गरेका थिए भन्ने प्रतिवेदन सार्वजनिक गर्यो । तर तत्कालीन प्रतिनिधि सभाका सभामुख तारानाथ रानाभाटले सार्वजनिक गरेको उक्त प्रतिवेदनको निष्कर्ष यो घटनाको २१ वर्षपछि पनि आम रुपमा स्वीकार्य भएको छैन ।
रानाभाटले प्रतिवेदन सार्वजनिक गर्दै, आफ्ना बाबु राजा वीरेन्द्र, आमा, दिदी र भाइ लगायतको हत्या गरेपछि कालो पदार्थ सेवन गरेर लठ्ठिएका युवराज दीपेन्द्रले आफैमाथि गोली प्रहार गरेको पाइयो भन्दै उक्त घटनामा प्रयोग भएको स्वचालित हतियार समेत सार्वजनिक गरेका थिए । तर, गम्भीर घाइते अवस्थामा छाउनीस्थित सैनिक अस्पतालमा पुर्याइएका युवराज दीपेन्द्रले उक्त घटनाको समयमा कुनै नशालु पदार्थ सेवन नगरेको दाबी उनकै उपचारमा खटिएका वरिष्ठ नशा रोग विशेषज्ञ डाक्टर उपेन्द्र देवकोटाले धेरै पछि सार्वजनिक गरेका थिए ।
‘मैले एक जिम्मेवार चिकित्सक हुनुको नाताले लुकेर दीपेन्द्र सरकारको रगत परीक्षण गरेको थिएँ, तर हामीलाई रगत परीक्षण नगर्नू भन्ने आदेश थियो । मैले मेरो धर्म छाडिनँ, त्यसबेला दीपेन्द्रको रगतमा कुनै नशालु पदार्थको मात्रा थिएन, तर मैले यो कुरा कसैलाई भन्न पाइनँ ।’ डाक्टर देवकोटाले गम्भीर बिरामी परेर थलिनु अगाडि दिएको टेलिभिजन अन्तर्वार्तामा यो तथ्य उजागर गरेका थिए । तर, यो विषय त्यसबेला रानाभाटले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख नै थिएन ।
काठमाडौँको सडकमा दंंगा भड्किन थालेपछि कर्फ्यु आदेश जारी गरेर घटनाको ३ दिनपछि राजा घोषण गरिएका युवराज दीपेन्द्रको पनि मृत्यु भएको घोषणा भयो । ‘कसैको पनि रगत परीक्षण नगर्नू भन्ने आदेश थियो तर मैले अचेत अवस्थामा रहेका दीपेन्द्रको रगत सबैलाई झुक्याएर रगत निकालेर राखिसकेको थिएँ,’ उनले भनेका थिए । उनले घटनापछि पानी समेत नपिएको अवस्थामा झिकेको रगतमा कालो पदार्थ अथवा मादक पदार्थ लिएको नभेटिएको बताएका थिए ।
लामो समयपछि मात्र सैनिक अस्पतालको ट्रमा हलमा भोगेको पीडा र जुटाएको प्रमाणबारे मुख खोलेका देवकोटा माघ १९ पछि तत्कालीन राजा शाहको प्रत्यक्ष शासन कालमा स्वास्थ्य मन्त्री बनाइएका थिए । अचेत अवस्थामा रहेका युवराज दीपेन्द्रलाई घटनाको सत्यतथ्य पत्ता लाग्नुअघि नै हत्यारा करार गरिसकिएको थियो र अचेत अवस्था मै राजा घोषणा गरिएको थियो । जसको नायबी अधिकार तत्कालीन राजपरिषद्ले नजिकका नातेदार काका अधिराजकुमार ज्ञानेन्द्र शाहलाई सुम्पिएको थियो ।
राजा ज्ञानेन्द्रले २०६४ सालमा मुलुक गणतन्त्रमा गइसकेपछि राजदरबार त्याग्दासम्म पनि उक्त घटनामा आफ्ना दाजु, भाउजू लगायत परिवारका सदस्यहरू मारिएको घटनामा आफ्नो परिवारको नाम जोडिएको भन्दै खिन्नभाव पोखेर सरकारलाई निष्पक्ष छानबिन गरेर सत्यतथ्य पत्ता लगाई दरबार हत्याकाण्ड सम्बन्धी भ्रम चिर्न चुनौती दिएका थिए । घटनाको विस्तृत अध्ययन र घटनास्थलको सुरक्षा र संरक्षणमा तत्कालीन सरकार उदासिन बनेकै कारण सामूहिक हत्या गरिएका राजपरिवारका सबै सदस्यको सामूहिक अन्तिम संस्कार गरियो । काठमाडौँको सडकमा दंंगा भड्किन थालेपछि कर्फ्यु आदेश जारी गरेर घटनाको ३ दिनपछि राजा घोषण गरिएका युवराज दीपेन्द्रको पनि मृत्यु भएको घोषणा गरियो ।
यसबेला राज्यविरुद्ध हतियार उठाएको तत्कालीन नेकपा माओवादीको सशस्त्र हिंसा चरम उत्कर्षमा पुगेको थियो । नेपाली जनतामा राजनीतिक दलहरू र तिनका नेताहरूप्रतिको विश्वास खस्किरहेको थियो । माओवादी सशस्त्र हिंसाका कारण बहुदलीय व्यवस्थाप्रति नै नागरिकको मोहभंग भइरहेको समयमा तत्कालीन राजाको परिवार नै मारिएपछि नेपालको राजनीतिले अर्कै मोड लियो । नेपाली जनताको माझमा अत्यन्तै राम्रो छवि बनाएका राजाको वंश निवासपछि जेष्ठ २२ गते ज्ञानेन्द्र शाह नयाँ राजा घोषित भएका थिए ।
जो नेपालको राजतन्त्रको इतिहासमा अन्तिम राजा हुन् । राणाशासनविरुद्ध भएको आन्दोलनको अन्तिम समयमा बाजे त्रिभुवन भागेर भारतको शरणमा गएका बेला ज्ञानेन्द्र दोस्रोपटक पनि गम्भीर उदास वातावरणका बीच राजा बन्न पुगे । शाहले राजगद्दी सम्हालेपछि उनकै परिवारतर्फ तेर्सिरहेको जनआक्रोश र हत्यासम्बन्धी आशंका चिर्न सर्वोच्च अदालतका प्रधान न्यायाधीश केशवप्रसाद उपाध्याय र सभामुख तारानाथ रानाभाट रहेको उच्चस्तरीय छानबिन समिति गठन गरिएको थियो । जसमा तत्कालीन एमालेका महासचिव माधव कुमार नेपाल सदस्य रहने तोकिएको थियो तर नेपालले अन्तिम समयमा उक्त समितिमा नबस्ने घोषणा गरे ।
समितिले यति गम्भीर र रक्तरञ्जित घटनाको एक हप्ता मै छानबिन सक्यो । समितिले राजा ज्ञानेन्द्रलाई प्रतिवेदन बुझायो र सभामुख रानाभाटले त्यसको अंश सार्वजनिक गर्दै, लागू पदार्थ र रक्सीले मातेका युवराज दीपेन्द्र घटनामा दोषी रहेको र उनले नै स्वचालित हतियार चलाएको भन्दै भ्याटाटा–र्याटाटाटाको अभिनय समेत गरेका थिए । जसमा प्रश्नै प्रश्नको चाङ थियो र प्रतिवेदनको अंश सार्वजनिक गर्दै गर्दा रानाभाटले धेरै प्रश्नको उत्तर दिन सकेका थिएनन् । राजा ज्ञानेन्द्रले २०६४ सालमा मुलुक गणतन्त्रमा गइसकेपछि राजदरबार त्याग्दासम्म पनि उक्त घटनामा आफ्ना दाजु, भाउजू लगायत परिवारका सदस्यहरु मारिएको घटनामा आफ्नो परिवारको नाम जोडिएको भन्दै खिन्नभाव पोखेर सरकारलाई निष्पक्ष छानबिन गरेर सत्यतथ्य पत्ता लगाई दरबार हत्याकाण्ड सम्बन्धी भ्रम चिर्न चुनौती दिएका थिए ।
जुन चुनौती चिर्ने हिम्मत कुनै पनि सरकारले गरेका छैनन् । हत्याकाण्ड भएको दरबारभित्रको महत्त्वपूर्ण बगैँचा, पोखरी तथा राजपरिवारको जमघट भएको उक्त भवन समेत भत्काइसकिएको छ ।
भारतीय अखबारहरुको ब्रेकिङ समाचार
जेष्ठ १९ गते राति दरबारभित्र भएको यो सामूहिक हत्याका विषयमा भोलिपल्ट अबेरसम्म पनि काठमाडौँका नागरिक अलमलमा थिए । नेपालका सञ्चारमाध्यम अथवा तत्कालीन सरकारका प्रमुख गिरिजाप्रसाद कोइरालाले समय केही कुरा बताउन सकेका थिएनन् । नारायणहिटी दरबार पूरै सेनाको घेरामा थियो, मृतक तथा घाइतेको वरिपरि तोकिएका चिकित्सक र सुरक्षाकर्मी बाहेकको पहुँच थिएन । तर, काठमाडौँको राजदरबारमा राति ८ बजेपछि भएको यो हत्याकाण्डको लगत्तै भोलिपल्ट निस्केका भारतीय अखबारले, ‘युवराज दीपेन्द्रले प्रेमीसँगको विवाह विवादका कारण आफ्नै परिवारलाई मारे’ भन्ने दाबी सहितका खबर प्रकाशन गरिसकेका थिए ।
घटना भएको दिन निस्केको नवभारत टाइम्स, पञ्जाव केशरी, हिन्दुस्थान टाइम्स तथा सन्डे टाइम्सले आफ्नो समाचार विवरणमा नेपालका युवराज दीपेन्द्रले खाफ्नै बाबुआमा तथा परिवारका सदस्यको हत्या गरी श्री ५ महाराजधिराज बन्ने सपना साकार पारे भनेर लेखेका थिए ।जबकि, नेपालमा औपचारिक रूपमा यो विभत्स घटनाका विषयमा सरकारले कुनै सूचना दिन सकिरहेको थिएन । भारतीय अखबारहरुले लेखेका थिए, द म्यान हु मे नेभर किङ । अधिकांश भारतीय अखबारले एउटै प्रश्न उठाएका थिए– ‘हु इज दि गर्ल ? दीपेन्द्र इण्डिया कनेक्सन ?
जसमा दीपेन्द्रले केही समय पहिले पाकिस्तान भ्रमणका अवसरमा अवलोकन गरेका स्वचालित हतियारको तस्वीर छापिएको थियो र ‘ह्वाई क्वीन स्पिक्ट दीपेन्द्रज् लभ स्टोरी’ भन्ने प्रश्न उठाएका थिए । त्यस्तै सन्डे टेलिग्राफले, युवराजले प्रेमिकाका खातिर दरबारमा हत्याकाण्ड मच्चाए, एक अर्ब हिन्दूका सम्राट मारिए भनेर समाचार प्रकाशन गरेको थियो । यसरी विदेशी सञ्चार माध्यममा एकतर्फी समाचार आइरहँदा काठमाडौँमा जेष्ठ २० गते केही अखबारले भने प्रधानमन्त्री कोइराला र प्रमुख प्रतिपक्षी दलका नेता नेपाललाई सेनाले नजरबन्दमा राख्यो भन्ने अड्कलबाजी मात्रै छापे ।
जेष्ठ २४ सम्म वरिष्ठ न्युरो सर्जन डाक्टर उपेन्द्र देवकोटालाई शाही सेनाले घटनाबारे पोल खोल्न सक्ने भन्दै बेपत्ता बनायो भन्ने हल्ला चल्यो । जेष्ठ २१ गते अड्कलबाजी कै बीचमा काठमाडौँमा मुमा बडामहारानीलाई हृदयघात भएको हल्ला चल्यो । जेष्ठ २३ गते बिहानैदेखि काठमाडौँवासीको पानीको मुहान मै विष हालिएको छ, धाराको पानी पिउनु हुँदैन भन्ने हल्ला चल्यो । त्यसपछि उपत्यकामा वितरण हुने दूध मै विष मिसाइएको छ भन्ने हल्ला पनि यत्रतत्र फैलियो । यसरी काठमाडौँवासीको आक्रोश विभिन्न हल्लाको पछि लाग्दालाग्दै मत्थर भयो । हजारौं केश मुण्डन गरेका युवाले राजपरिवारको विभत्स शव यात्रामा भाग लिए ।
सरकारले राजपरिवारका अधिकांश सदस्य मारिएको विषयमा एउटा औपचारिक विवरण सार्वजनिक नगरी सीधै ‘अन्तिम संस्कार’ गरेपछि एकाएक काठमाडौँमा दंगा भड्कियो । राजदरबारका बडागुरु ज्यू केशरीराज पाण्डेले राजारानी अथवा राजपरिवारको शरीर पोस्टमार्टम गर्न हुँदैन भनेको हल्ला चलाएर सेनाले सबै शव पोष्टमार्टम समेत नगरी सोझै दाहसंस्कारका लागि लगेको थियो । जुन कुरा तत्कालै केशरीराज पाण्डेले नै खण्डन गरेका थिए । यसरी घटना अनुसन्धानका विषयमा महत्वपूर्ण प्रमाण जुट्न सक्ने पोस्टमार्टम सम्म गर्न नदिनुमा त्यसबेला नै सेनापतिको भूमिकामाथि प्रश्न उठिसकेको थियो ।
यत्रो विभत्स घटना हुँदा समेत प्रधानमन्त्री, रक्षामन्त्री अथवा राजदरबारको सुरक्षा जिम्मा सम्हालेको सेनाका प्रमुख कसैले पनि नैतिकताका आधारमा राजिनामा दिएनन् । निरन्तर शोक धुन मात्रै बजिरहेको रेडियो नेपालले जेष्ठ २२ गते सबेरै एउटा राजपरिषद्को जरुरी सूचना प्रसारण गर्यो । जसमा अधिराजकुमार ज्ञानेन्द्रलाई राजा घोषणा गरिएको थियो । जबकि, सोही दिन अपरान्ह ५ बजेर ५७ मिनेटमा मात्र दीपेन्द्रको निधन भएको घोषणा गरेको थियो । दीपेन्द्रको निधन भएको सूचना नआउँदै ज्ञानेन्द्र शाहलाई राजा घोषणा गरिएपछि शहरमा दंगा भड्कियो ।
काठमाडौँमा कफ्र्यु लाग्यो र राति १२ बजे दीपेन्द्रको पार्थिव शरीर सेनाको ट्रकमा राखेर चक्रपथ हुँदै आर्यघाट लगियो । यसरी रातारात दीपेन्द्रको समेत शव जलाएपछि यो घटनाका लगभग सबै प्रमाणहरू मेटिए । राजा वीरेन्द्र भारतीयसामु झुक्नुभन्दा आफ्नै जनतासामु झुक्ने जुन प्रतिबद्धता देखाए त्यसले विस्तारवादीहरुलाई पटक्कै मन परिरहेको थिएन । दरबार हत्याकाण्ड त्यसैको परिणाम हुन सक्छ । तिबेलासम्म पनि सरकारले कुनै औपचारिक जानकारी दिएको थिएन । घटनाको ६ दिनपछि बल्ल सञ्चार मन्त्रालयले पत्रकार सम्मेलन गरेर दरबार तथा राजाका विषयमा जथाभावी समाचार नलेख्न धम्की दिएको थियो ।
त्यसबेला दरबार हत्याकाण्डका विषयमा समाचार तथा विचार छापेको आरोपमा कान्तिपुर दैनिकका सम्पादक युवराज घिमिरेसहित केही पत्रकार गिरफ्तार भइसकेका थिए । त्यसपछि मात्र नेपालका सञ्चार माध्यमले दरबार हत्याकाण्डका विषयमा समाचार खोज्न र सम्प्रेषण गर्न थाले । दीपेन्द्र निर्दोष रहेको र दरबार हत्याकाण्डमा ज्ञानेन्द्र शाह र छोरा पारस शाहको हात रहेको भन्दै आक्रोश पोखिन थाल्यो ।
गणतन्त्र स्थापनाको निर्णायक घुम्ती
नेपालको राजनीतिक इतिहासमा दरबार हत्याकाण्डलाई गणतन्त्र स्थापनाको निर्णायक घुम्ती मानिन्छ । जुन घटनाको समयमा भूमिगत रहेका माओवादीका नेता बाबुराम भट्टराईले घटनाबारे सरकारले औपचारिक जानकारी सार्वजनिक नगर्दै जेष्ठ २४ गते यो हत्याकाण्डलाई कोत पर्वको रुपमा चित्रण गर्दै, नयाँ कोत पर्वलाई मान्यता दिनु हुँदैन भन्ने धारणा सार्वजनिक गरेका थिए ।
जसमा भूमिगत अवस्थामा रहेका भट्टराईको दाबी थियो, राजा वीरेन्द्रसँग कतिपय राष्ट्रिय प्रश्नमा दरबारसँग अघोषित कार्यगत एकता थियो । २०४६ सालको भारतीय नाकाबन्दीको समयमा होस् अथवा त्यसपछिको जनआन्दोलनको समयमा, राजा वीरेन्द्र भारतीयसामु झुक्नुभन्दा आफ्नै जनतासामु झुक्ने जुन प्रतिबद्धता देखाए त्यसले विस्तारवादीहरुलाई पटक्कै मन परिरहेको थिएन । दरबार हत्याकाण्ड त्यसैको परिणाम हुन सक्छ ।
आफू प्रधानमन्त्री बनेर मुलुकको बागडोर सम्हाल्दा भने भट्टराईले नारायणहिटी दरबार परिसर अवलोकन गर्ने बाहेकको काम गर्न सकेनन् । तत्कालीन राजा वीरेन्द्रको वंश नास हुने गरी दरबार हत्याकाण्ड हुँदा दरबारभित्र १७ वर्ष बिताएका राजा वीरेन्द्रको प्रमुख सुरक्षा गार्डको भूमिकामा रहेका नेपाली सेनाका पूर्व महासेनानी सुन्दरप्रताप राना, यो हत्याकाण्डको विषयमा अझै पनि अत्याधुनिक प्रविधिसहित अनुसन्धान गर्न सकिने बताउँछन् । उक्त घटना भएको समयका केही प्रत्यक्षदर्शी अझै जीवित रहेको, उनीहरुले दिएको बयान र घटनाको प्रकृति, सैनिक अस्पतालमा रहेको कागजपत्र समेतका आधारमा नयाँ शिराबाट छानबिन गरेर निष्कर्ष निकाल्न सकिने बाटो कसैले नरोजेको रानाको गुनासो छ ।
रानाले यही दरबार हत्याकाण्डमा केन्द्रित भएर दरबारको दुःखान्त लेखेका छन् । जसमा हत्याकाण्ड सम्बन्धी थुप्रै अनुत्तरित प्रश्न रानाले उठाएका छन् ।यो हत्याकाण्डको समयमा गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री थिए भने सेनाको प्रधानसेनापति प्यारजंग थापा थिए ।आफ्नै संगठनको परामाधिपतिसहित संरक्षक राजपरिवारको वंश विनाश हुँदासमेत भूमिकाविहीन बनेको सेनाकै सुरक्षा घेरामा राजा वीरेन्द्र समेतको हत्या भएको लामो समयसम्म प्रज्वल सम्शेर राणा समेतले मुख खोलेनन् । जो ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनकाल समाप्त भएपछि नेपालमा संवैधानिक राजतन्त्र आवश्यक छ भन्ने सार्वजनिक टिप्पणी गरिरहेका छन् ।
यो हत्याकाण्डको पहिलो सूचना पाउने, उद्धार तथा उपचार गर्ने, घटनास्थलको अवलोकन र संरक्षण गर्ने, घटनाको प्रमाण जुटाउने, शव संकलन गर्ने तथा दाहसंस्कार गर्ने सबै जिम्मा सेनाले नै लिएको थियो । तत्कालीन प्रधानमन्त्री कोइरालालाई समेत हत्याकाण्डको भोलिपल्ट बिहान मात्रै औपचारिक सूचना दिइएको थियो भन्ने समाचार आएको हो । तर राजाको सबैभन्दा नजिकको संयन्त्र शाही नेपाली सेना अथवा प्रधानसेनापतिले यो विषयमा तत्कालीन छानबिन समितिलाई समेत असहयोग गरेका थिए । राजदरबार हत्याकाण्डपछि केही अन्तर्राष्ट्रिय समाचार संस्थाले नेपालमा माओवादी शक्तिशाली भएर आएको र यो घटनापछि माओवादीले नेपालमा कम्युनिष्ट सत्ता स्थापना गर्न खोजेको भन्ने सम्मको विश्लेषण गरे ।
केही अखबारमा नेपालमा माओवादी द्वन्द्व उत्कर्षमा पुगेको मौकामा तत्कालीन शाही नेपाली सेनाले राजतन्त्र नै सिध्याएर नेपालमा सैनिक शासन लागू गर्न खोजेको रूपमा समेत टिप्पणी गरे । तर यी कुनै पनि विश्लेषण सही भएन । बरु यही घटना नेपालबाट राजतन्त्र अन्त्यको प्रस्थान बिन्दु बन्यो ।
छानबिन समितिबारे उठेको प्रश्न
राजाको रूपमा गद्दी सम्हालेपछि ज्ञानेन्द्र शाहले तत्कालीन नेपालको संविधान २०४७ को धारा २८(२) र धारा ३५ (२) को व्यवस्था विपरीत तत्कालीन श्री ५ को सरकारसँग सल्लाह अथवा परामर्शबिनै आफ्नो अधिकार क्षेत्रबाहिर गएर छानबिन समिति बनाएको भन्दै विरोध भएको थियो । संविधानको धारा २८ (२) मा, ‘श्री ५ को वंशजहरूको राजगद्दी उत्तराधिकार सम्बन्धी कानून बनाउने, संशोधन गर्ने र खारेज गर्ने अधिकार श्री ५ मा मात्र हुनेछ’ उल्लेख रहेकोमा आयोग गठन श्री ५ को स्वविवेकीय अधिकार क्षेत्रको विषय थिएन ।
यस्तै धारा ३५ (२) मा ‘श्री ५ बाट मात्र वा मौसुफको स्वविवेकमा वा अन्य कुनै निकाय वा पदाधिकारीको सिफारिस गरिबक्सने किटानीका साथ व्यवस्था भएकोमा बाहेक यो संविधान बमोजिम श्री ५ बाट गरिबक्सने सबै कार्यहरू मन्त्रिपरिषद्को सल्लाह र सम्मतिबाट गरिबक्सनेछ छ । यस्तो सल्लाह र सम्मति प्रधानमन्त्री मार्फत जाहेर हुनेछ ।’ भनिएको थियो । तत्कालीन परिस्थितिमा ज्ञानेन्द्र शाहद्धारा गठित उच्च स्तरीय आयोगमा नेकपा एमालेका महासचिव माधव नेपालले संविधानका यी धाराबाहिर गएर गठन भएको आयोगले निर्भयका साथ काम गर्न नपाउने र यो आयोग वैधानिक नरहेको भन्दै राजदरबारमा एउटा असमर्थता पत्र पठाएका थिए ।
नभन्दै संविधानको कुनै धारा उल्लेख नगरी गठन गरिएको आयोगले दिएको प्रतिवेदनले धेरै अनुत्तरित प्रश्नको जवाफ दिन सकेन । तत्कालीन राजदरबारले तोकेको सीमाभित्र बसेर आयोगले छानबिन गरेको थियो । तर आयोगले काम थाल्दा, अथवा जिम्मेवारी पाउँदा अधिकांश प्रमाण सुरक्षित थिए । हत्या गरिएका अथवा हत्याराको पगरी गुथाइएकाको शवको हतार हतार दाहसंस्कार गरिए पनि घटनास्थलमा धेरै प्रमाण बाँकी थिए । अस्पतालले स्वास्थ्य परीक्षण गरेको रिपोर्ट, चिकित्सकको अनुभव, घटनाको समयमा दरबारको भोजमा रहेका र बाँच्न सफल सदस्यहरूले प्रशस्तै प्रमाण दिन सक्थे । तै पनि आयोगले अपूर्ण प्रतिवेदन दियो र त्यसपछि यो घटनाको कहिल्यै छानबिन भएन ।
राजा वीरेन्द्रद्धारा आयोजित रात्रिभोजमा आमन्त्रित भएर पनि तत्कालीन अधिराजकुमार ज्ञानेन्द्र, अधिराजकुमारी प्रेक्षा तथा कुमार मोहन बहादुर शाही उपस्थित नहुनुको कारण आयोगले खोज्न सकेन । श्री ५ मुमा बडामहारानी रत्न, श्री ५ शाहज्यादा पारस, डा. राजीव शाही कसरी सकुशल रहे अनि अंग रक्षक तथा भोजमा सहयोगी सेवकहरू गोलिकाण्ड हुँदा कहाँ थिए र तिनको भूमिका के रह्यो भन्ने बारे आयोग मौन रह्यो । डाक्टर राजीवले धेरै पछि, आफूले लगाएको कोट फुकालेर राजा वीरेन्द्रको शरीरबाट बगिरहेको रगत पुछेको भन्ने बताएका थिए ।
राजपरिवारको भोजमा सहभागी हुँदा युवराज दीपेन्द्रले मात्रै किन कम्ब्याट पोशाक लगाएका थिए ? औपचारिक सैनिक कार्यक्रममा सेनाको पृथुलाधीशको मर्यादामा मात्र दीपेन्द्रले यो पोशाक लगाउने गरेकोमा राज दरबारभित्रको भोजमा यस्तो पोशाक लगाउने अनुमति हुन्छ कि हुँदैन भन्ने प्रश्नमा पनि प्रतिवेदन मौन छ । प्रतिवेदनले जोडतोडका साथ पशुपति शम्सेर राणाकी छोरी देवयानी राणासँगको प्रेमका कारण यो दुर्घटना निम्तिएको उठाएको थियो ।
राणा ए श्रेणीको राणा परिवारको छोरी नभएकाले तत्कालीन राजा र रानीले बुहारीको रुपमा दरबारले स्वीकार्न नसक्ने तथा देवयानीसँगै विवाह गर्ने भए दीपेन्द्र शाहले राजगद्दीको उत्तराधिकार भाइ निराजनलाई छाड्नुपर्ने सम्मको विवाद चर्किरहेको थियो ।रानी ऐश्वर्या जुद्धशमशेर कै सन्तानलाई बुहारीका रुपमा भित्र्याउने पक्षमा उभिएपछि दीपेन्द्रको केही समययता दरबारभित्र द्वन्द्व थियो । मोहन शम्शेरको सन्तानलाई बुहारी स्वीकार्न नसक्ने विषय सोही दिनको जमघटमा पनि उठेको र यही विवाद बढ्दै गएपछि दीपेन्द्रले मदिराले लठ्ठिएर स्वचालित हतियार लिएर आमाबुबा सहितको हत्या गरेको भन्ने प्रतिवेदनको निष्कर्ष छ ।
तर अचेत अवस्थामा रहेका दीपेन्द्रको उपचारमा संलग्न चिकित्सकहरूले दीपेन्द्रको शरीरको पछिल्लो भागमा पनि गोलीको छर्रा भेटिएको बताएका थिए । यो विषयमा पनि केशवप्रसाद उपाध्याय आयोगको प्रतिवेदन मौन थियो । जसले थप आशंका जन्माइदिएको हो । त्यसबेला युवराज दीपेन्द्रले प्रयोग गर्ने मोबाइल ९८१०२१५१३ तथा देवयानी राणाले प्रयोग गर्ने ९८१०२४३३९ मा शाह र राणाका बीचमा भएको कुराकानीको विवरण सार्वजनिक गर्न माग उठ्यो ।
छानबिन समितिले उक्त मोबाइलका विषयमा पहुँच पुर्याउन सकेन । तर दरबार हत्याकाण्ड भएको केही दिनपछि जेष्ठ २१ बाट २४ गतेको बीचमा दीपेन्द्र शाहले चलाइरहेको नम्बरमा देवयानी राणा, राजदरबार मुख्य सचिवालय, सुप्रिया शाह, डेविना मल्लको नाममा रहेको फोनमा संवाद भइरहेको थियो भन्ने तथ्य नेपाली सञ्चारमाध्यममा छापियो । यसबारे छानबिन समिति मौन थियो । बरु युवराज दीपेन्द्रले कालो पदार्थ र अल्कोहल खाएर स्वचालित हतियार चलाएको पुष्टि गर्ने प्रयत्न गरेको समितिलाई छानबिनका क्रममा दीपेन्द्रको टाउकाको शल्यक्रियाका संलग्न सेनाका चिकित्सक सहायक रथी डाक्टर खगेन्द्रबहादुर श्रेष्ठले, अल्कोअलको पार्ट कतै पनि नभेटिएको बताएका थिए ।
यो तथ्य छानबिन समितिले कतै पनि राखेको थिएन । चिकित्सकहरूले शल्यक्रिया अगाडि गरेको रगत परीक्षणको रिपोर्टसमेत खोज्न नचाहेको समितिले उपचारमा संलग्न डाक्टर उपेन्द्र देवकोटा, डाक्टर श्रेष्ठ, सुशीलकृष्ण शिल्पकार, अच्युत शर्मा र एनेस्थेसियन चिकित्सकसँग मृतक र घाइतेको विषयमा विस्तृत कुरा गरेको थियो । जुन तथ्य प्रतिवेदन तयार पार्दा हटाइएको थियो । यो घटनापछि राष्ट्रिय विज्ञान तथा प्रविधि प्रतिष्ठान को प्रयोगशालालाई समेत घटनास्थलको सबुत प्रमाण परीक्षण, निरीक्षण र पोस्टमार्टमका सन्दर्भमा बेवास्ता गरिएको तत्कालीन अनुसन्धान प्रमुख डाक्टर सेवक राम भण्डारीले गुनासो गरेका थिए । उक्त घटनाको सबै परिक्षण र नियन्त्रण सेनाको घेरामा थियो ।