सांकेतिक तस्बिर

अपराध

१७ वर्षीया बालिकाको अपहरणपछि बलात्कार 

By खबरहब

June 02, 2022

कपिलवस्तु – सांस्कृतिक कार्यक्रम हेर्न पुगेकी कपिलवस्तु वाणगंगा नगरपालिकाकी एक बालिकामाथि सामूहिक बलात्कार भएको छ । १७ वर्षीया बालिकाको अपहरणपछि बलात्कार भएको प्रहरीले जनाएको छ।

बलात्कार गरेको आरोपमा रुपन्देहीको कञ्चन गाउँपालिकाका छ जना युवालाई जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा कञ्चन गाउँपालिका वडा नम्बर-५ का निरज कार्की, वडा नम्बर-४ का राहुल सिंजाली, सुलभ केसी, वडा नम्बर-३ का लक्ष्मण रसाइली, अमित कँडेल र गौरव थापा रहेका छन् ।

मंगलबार राति करिब ११ बजे सांस्कृतिक कार्यक्रम हेरेर घर फर्किँदै गर्दा बालिकाको अपहरण भएको थियो।

घटनाको प्रारम्भिक अनुसन्धानको क्रममा रुपन्देही कञ्चन गाउँपालिकाका युवाहरूले मोटरसाइकल र स्कुटरको प्रयोग गरी अपहरण गरेको सूचना पाएपछि रातिदेखि प्रहरीले खोजतलास गरेको थियो ।

सोही क्रममा बुधबार मध्याह्न उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक जेसी शाहले जानकारी दिए ।

अनुसन्धानको क्रममा उनीहरूले बालिकालाई अपहरण पछि कञ्चन गाउँपालिका-३ रुद्रपुरमा लगी बलात्कार गरेको खुलेको उनले बताए ।