अन्तर्राष्ट्रिय

नेपाली प्रशिक्षकद्वारा बनारसमा योग शिविर सम्पन्न

By खबरहब

June 02, 2022

काठमाडौँ- भारतको बनारसमा सात दिने योग शिविर सम्पन्न भएको छ । नेपाल योग एकेडेमी तथा शिव तत्व योग स्कुलकी प्रशिक्षक डा. निवेदिता प्रधानको नेतृत्वमा बनारसमा योग शिविर आयोजना गरिएको हो ।

प्रशिक्षणमा डा. प्रधानसहित नेपालकै ओसिका श्रेष्ठ र स्पेनी प्रशिक्षक योआन योभरको पनि सहभागिता थियो । भारत र नेपालबीचको सम्बन्ध सुमधुर बनाउने प्रयासस्वरुप आयोजना गरिएको योग शिविर २३ मे मा सुरु भई २९ मेमा सम्पन्न भएको हो ।

उनले बनारसमा दुई सय भन्दा धेरै बालबालिकालाई योग सिकाएकी हुन् ।

प्रशिक्षण कार्यक्रममा भारतका तर्फबाट बनारस र नेपालका तर्फबाट पशुपतिनाथको कोसेली साटासाट समेत गरिएको शिविरको आयोजक आरएस वर्ल्ड स्कुलले जनाएको छ ।

प्रशिक्षण कार्यक्रममा उनले नेपाल भवान गौतम बुद्ध र सीताको जन्मभूमि रहेको उल्लेख गर्दै नेपाल बाबा गोरखनाथजस्ता योगी, ऋषि, महर्षिको तपोभूमि समेत रहेको उल्लेख गरेकी थिइन् ।