‘यहाँ आउनुभयो । हामी सबैको पाहुना हुनुहुन्छ,’ ती महिलाले खुसी भएर भनिन् । मेरो हातमा मोबाइल देखेर उनले हातमा बोकेको बाबियोको कुचो उचाल्दै भनिन्, ‘मेरो यो फोटो खिचेर फेसबुकमा हालिदिनुहोला । मेरो पनि बजारमा कुचो बिक्ने थियो ।’
कुरा गत महिनाको हो । हाम्रो कर्णाली यात्राको भएको । युएसएआइडी कर्णाली पानी एक्टिभिटिको सहयोगमा आइसेट नेपाल, काठमाडौँ विश्वविद्यालय र हाइड्रो एडको संयुक्त प्रयासमा कर्णालीमा रहेको २९ पालिकामा पानीको मुहान पहिचान गरि गुणस्तर नाप्ने काम थियो ।
जुन काममा संलग्न हुन पाउँदा मलाई हर्ष लागेको थियो । अति रमाइला र सकारात्मक सोच भएका साथिहरुसँगको पानी व्यवस्थापन र गुणस्तरको कुरा गर्दै हामी राराको ताल्चा विमानस्थलमा उत्रियौँ ।
नेपालगञ्जबाट उड्दा हामीले कर्णालीका अरु ठाउँ टेक्नु परेन । सोझै मुगुकै ताल्चा विमानस्थल टेक्यौँ । त्यसकारण हाम्रो कर्णालीको यात्रा सुर्खेतबाट होइन, कर्णालीको सिरानमा रहेको मुगुको विमानस्थलबाट सुरु भयो ।
हवाई जहाजबाट एक झलक देखेपनि राराको निलो पानीले कर्णालीमा स्वागत गरे झै लाग्यो । कति राम्रो हिमालको बीचमा रहेको यो निलो ताल । हाम्रो यात्राको उद्देश्य ताल जानु थिएन । तर जाने हुटहुटी भने बाँकी नै छ ।
उद्देश्य मुगुको गमगढी पुग्नुपर्ने भएकाले हामी तालको बाटो छाडेर गमगडी तिर लाग्यौ । भोलि पल्ट बिहान त्यहाँका स्थानीय मानिसलाई तालिम दिई पानी संकलन गर्न पठाउँनु थियो । केही उकाला र ओराला बाटाहरू हिँड्दै होटेलमा पुगियो । बिहानको तयारीमा लागियो ।
‘के खानु हुन्छ ?’ मार्सी चामल र सिमीको दाल भन्दै होटेलका भाइ सोध्न आए । ओहो मुगुमा पनि मार्सी चामल नखाई हुन्छ त ? भन्दै हामीले बनाउन भन्यौँ ।
धेरै समयदेखि काठमाडौँमा मार्सी चामल ठूला भनाउँदा मानिसले पनि खान्छन् भन्ने सुनेका थियौँ । हामीले मुगुमा पुगेर मार्सी चामल खाने अवसर पायौँ । बिहानदेखि चहलपहल थियो । तालिमका लागी अति बिकट क्षेत्रबाट बोलाइएका यी व्यक्तिहरू पानीको स्रोत पहिचान गरि गुणस्तर मापन गर्ने वैज्ञानिक प्रयोगमा आफ्नो संलग्नता हुने कुरामा अति उत्साहित थिए ।
साथसाथै यस कार्यबाट प्राप्त हुने पारिश्रमिकमा पनि । तालिम सञ्चालन गरियो । उनीहरूलाई मोबाइल फोनबाट तथ्यांक संकलन गर्न सिकाउनु थियो । यो कार्य अति नै गाह्रो भयो । पहिला त यी व्यक्तिका मोबाइल पुराना थियो ।
नयाँ मोबाइल भएका भए यस्तो काम नै किन गर्नु पथ्र्यो ? अनि बझाउन नै गाह्रो । प्रविधि प्रयोग गरेर पानी नाप्न काठमाडौंका स्नातकोत्तर गरेका विद्यार्थीलाई बुझाउँदा त समय लाग्ने, यहाँका स्थानीयले कति नै बुझ्न सक्छन् र ?
उनीहरु भन्दा हामीमा केही कमी महसुस गरियो । यो प्रविधिसँग यस क्षेत्रमा प्रयोगमा ल्याउँदा केही चुनौति पनि थिए । यदि बाहिरबाट गणक ल्याएको भए, स्थानीय व्यक्तिले पाउने पारिश्रमिक बाहिर जान्थ्यो । तर प्रविधि ल्याउँदा उनीहरूलाई गाह्रो पर्ने थियो । तैपनि सिकाउँदै काम अगाडि बढायौँ । राम्रो परिमाण आउने विश्वास हामीमा थियो । सञ्चार तथा प्रविधिले विकास त गरेको रहेछ । जहाँतहीँ मोबाइल पसल र इन्टरनेट पनि । भएर पनि के गर्नु यी भनेका हुनेखानेकै पहुँचमा त हो नी । उनीहरूले बोकेको मोबाइलले यस कुरा संकेत गर्छ ।
अब माथिको कुचो बोक्ने महिलाको प्रसंगमा कुरा गरौँ । फोटो फेसबुकमा राख्न आग्रह गरेपछि कुचोमाथि गमगढी बजारमा लगेर बेच्ने गरेको बताइन् । यो कुराकानी भएको ठाउँबाट बजार करिब ३ घण्टा जान र अर्का तीन घण्टा तल आउन लाग्थ्यो । कुचो बेचेर कति कमाउँनु हुन्छ भनेर सोध्दा करिब १०० रुपैयाँ भन्ने उत्तर आयो ।
६ घण्टा घाममा हिँडेर दिनको १०० रुपैयाँ काम गर्ने यी महिला यस भेगका महिलाका प्रतिनिधि रहिछन् भन्ने लाग्यो । १०० रुपैयाँमा कुचो बेचेर दिनभरि बस्दा दिउँसो खाजा पनि खानु पर्ने होला । गमगडीमा खाजा किनेर खान पनि सस्तो कहाँ पो छ र ? बेलुका फर्कँदा कति नै रकम बच्दो हो यिनको ?
त्यही पनि अनुहारमा मुस्कान छ । फूर्ति छ । नजिकै खेलिरहेकी एक बालिकालाई देखाउँदै उनले मेरो नातिनी भनिन् । मैले गोजीबाट केही रकम झिकेर नातिनीलाई चक्लेट ल्याउनु बजारबाट भनेर दिए । ‘धन्यवाद सर’ भन्दै उनी मलाई फेरि यस गाउँमा आउन आग्रह गदै आफ्नो बाटो लागिन् । गमगडीबाट दुई दिनपछि फकर्ने बेलामा मनले नै मानेन । रारा पुगेर ऐतिहासिक ताल नहेरी फर्किन मनले मानेन । मैले साथीहरूलाई आग्रह गरे, सबैले सहमति जनाए । केही समय यता मनलाई शान्त राख्न अलि अध्यात्मतिर झुकाव बढेको छ, मेरो ।
त्यसैले होला बिहान गमगडीको स्वच्छ वातावरणमा ध्यान गर्ने मौका पाए र अचम्मको अनुभव गरे । एक दिन अघि मात्र साथिहरुसँग रारा तालको उत्पत्ति र कुनै धर्मिक स्थल भए नभएको बारेमा छलफल गरेको थियौं ।
यसैले पनि हुन सक्छ ध्यानमा रारा तालको बीचबाट तलदेखि बडेमानको शिवलिङ्ग माथि निस्केको देखेँ र अत्यन्तै आनन्दको महसुस भयो । त्यसपछि माथि तालमा गएँ ।
तालको मनमोहक वातावरणको अनुभव गर्न पाइयो । ध्यानमा महसुस गरको शिवलिङ्ग देख्न नपाएपनि यस ठाउँको नाम छाया नाथ रहेकोले पक्कै पनि शिव भगवान र रारा तालको सम्बन्ध छ भन्ने कुराले अनुमान गर्दै तालको मनमोहक दृष्यमा मन्त्रमुग्ध भएँ ।