फाइल फोटो

समाचार

लमजुङको खानेपानीमा ७६ प्रतिशत इकोली ब्याक्टेरीया भेटियो

By खबरहब

July 02, 2022

लमजुङ– स्वास्थ्य कार्यालय लमजुङले विभिन्न समयमा १२० वटाको नमुना परीक्षण गर्दा  ९१ वटामा इकोली भेटिएको पाइएको हो । जिल्लाका आठ स्थानीय तहमध्ये ७ स्थानीय तहमा गरिएको परीक्षणमा ७६ प्रतिशत नमुनामा इकोली भेटीएको स्वास्थ्य कार्यालय लमजुङका प्रमुख अमर दवाडीले बताए । पानीमा दिसाजन्य पदार्थ मिश्रण हुनुलाई इकोली भनिने उनले बताए ।

परीक्षणमा जिल्लाका अधिकांश स्थानको पानी मानिसको स्वास्थ्यमा प्रतिकूल असर पार्ने खालको रहेको पाइएको हो । प्रमुख दवाडीका अनुसार मध्यनेपाल नगरपालिकामा खानेपानीको २२ नमुनामा परीक्षण गर्दा २० वटामा इकोली भेटिएको छ । सुन्दरबजार नगरपालिकामा ३९ वटा नमुना परीक्षण गर्दा २७ वटामा , राइनास नगरपालिकामा आठ नमुना परीक्षण गर्दा ६ वटामा , बेसीशहर नगरपालिकामा २९ नमुना परीक्षण गर्दा २२ वटामा इकोली भेटिएको छ ।

यस्तै दोर्दी गाउँपालिकामा पाँच नमुना परीक्षण गर्दा चार वटामा, मर्स्याङ्दी गाउँपालिकामा परीक्षण गरिएको दुई वटै नमुनामा शतप्रतिशत इकोली भेटिएको छ । यस्तै क्वहोंलासोँथर गाउँपालिकामा १४ नमुना परीक्षण गर्दा १० वटामा इकोली भेटिएको छ । बर्खाको समयमा कीटजन्य तथा पानीजन्य सङ्क्रमणको जोखिम रहने भएकाले स्वास्थ्य सावधानी अपनाउनका साथै पानी शुद्धीकरण गरी पिउन स्वास्थ्य कार्यालय लमजुङले आग्रह गरेको छ ।