समाचार

सङ्क्रमण बढ्यो, भेरियन्टको नयाँ प्रजातिबारे अध्ययन हुँदै

By खबरहब

July 02, 2022

काठमाडौँ– कोरोना भाइरस सङ्क्रमणको ग्राफ उकालो लागेको छ । भारतमा सङ्क्रमण बढ्नु तथा नेपालमा नै सङ्क्रमण छैन जस्तो गरी स्वास्थ्यका मापदण्ड पालना नगर्नुजस्ता कारणले सङ्क्रमण बढेको पाइएको हो ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले भारतमा सङ्क्रमण बढेसँगै नेपालमा पनि सङ्क्रमण बढेको बताए । उनका अनुसार ०.५ प्रतिशतसम्म झरेको सङ्क्रमणको दर अहिले ६ प्रतिशत पुगेको छ । ‘भारतमा जुन हिसाबले सङ्क्रमण बढेको थियो । सोहीअनुसार नेपालमा अहिले सङ्क्रमण धेरै नै बढेको हुनुपर्ने हो’, उनले भने, ‘तर नेपालमा भारतमा बढेको जस्तो भने बढेको छैन ।’

नेपालमा कोरोना भाइरसको सङ्क्रमण सबैभन्दा कम चार जनामा देखिएको थियो । सङ्क्रमण बढ्दा सक्रिय सङ्क्रमित पनि बढिरहेका छन् । अहिले २९७ जना सक्रिय सङ्क्रमित रहेका छन् । असार १ गते तीन हजार ९०५ जनामा परीक्षण गराउँदा २५ जनामा सङ्क्रमण भएकामा हिजो असार १७ गते दुई हजार ८१४ जनामा परीक्षण गर्दा दोब्बरमा सङ्क्रमण देखिएको छ । असार १७ गते ५० जनामा सङ्क्रमण देखिएको छ । 

असार १६ गते ५५ जना, असार १५ गते ६२ जना, असार असार १४ गते ४४ जना, असार १३ गते ४१ जना, असार १२ गते २९ जना र असार ११ गते २७ जना सङ्क्रमित रहेका छन् । अहिले २९१ जन होम आइसोलेशन, छ जना संस्थागत आइसोलेशन र तीन जना सघन उपचार कक्ष (आइसियु) मा रहेका छन् ।  इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले भारतमा सङ्क्रमण बढेका कारणले नेपालमा पनि बढेको जानकारी दिए । भारतबाट नेपालमा आउने मानिसमा सङ्क्रमण देखिएको उनको भनाइ छ ।  

नेपालमा अहिलेसम्म ओमिक्रोनको BA2 प्रजातिको भेरियन्ट रहेको छ । उनका अनुसार अहिलेका बिरामीमा पहिलेका सङ्क्रमतिलाई जस्तै सामान्य लक्षण रहेको छ ।