काठमाडौँ– ‘प्रसाद’ को सिक्वेल ‘प्रसाद २’ को घोषणा गरिएको छ । गत बिहिबार काठमाडौंमा फिल्मको औपचारिक घोषणा गरिएको हो । दिनेश राउत निर्देशित प्रसादको सिक्वेललाई भने सुदर्शन थापाले निर्देशन गर्नेछन् । फिल्ममा विपिन कार्की, नम्रता श्रेष्ठ र अर्पण थापाको अभिनय रहनेछ । प्रसादमा देखिएका निश्चल बस्नेत यसपटक फिल्ममा छैनन् । फिल्मका मुख्य पात्र बाबुराम र नारायणी सहरबाट गाउँ फर्किने र गाउँ फर्केपछि आउने उतारचढावलाई फिल्मले प्रस्तुत गर्ने लेखक सुशील पौडेलले बताए ।
यसपटक आफूहरूको क्यारेक्टर अझै परिपक्व भएर दर्शक सामु आउँन लागेको नम्रताले बताइन । फिल्म नारायणीको भूमिका निर्वाह गर्ने नम्रताले फिल्मलाई लिएर उत्साहित रहेको बताइन । ‘यसपटक अर्पण दाइ पनि आउनु भएको छ । त्यसैले आफ्नो क्यारेक्टरमा जीवन्त बनाउन झनै मेहनत आवश्यक छ । प्रसाद हेरेर आफैँले औँल्याएको कमीकमजोरीले सिक्वेललाई राम्रो बनाउन मदत गर्ने छ’ उनले भनिन् ।
पछिल्लो समय आफू प्रसादको सिक्वेल र ग्रहण फिल्ममा काम गरिरहेकाले अन्य प्रोजेक्टलाई समय नदिएको समेत उनले बताइन । मैले लकडाउन अगाडि नै प्रसाद २ गर्ने सेड्युल थियो । यद्यपि लकडाउनले सबै फेरबदल भयो । साथै , ग्रहणको लागि समेत एरियल योगाको प्रशिक्षण लिइरहेकाले अन्य प्रोजेक्टमा समय दिएकी छैन । मेरो एउटा प्रोजेक्टमा कुराकानी भइरहेको छ भने आफ्नै होम प्रोडक्सनबाट पनि एउटा फिल्म गर्दैछु नम्रताले भनिन् । उनले सिक्वेलमा निर्देशकको रुपमा सुदर्शन थापा आउँदा आफूहरूमा आएको परिपक्वताले काम गर्ने बताइन ।
‘मैले सुदर्शनजीसँग मेरो एउटा साथी छ मा काम गरेकी थिएँ । त्यस बेला हामी दुवै सिकाइकै क्रममा थियौँ । त्यतिबेलासम्मको यात्रामा संगालेको अनुभवले प्रसाद २ लाई फाइदा गर्नेमा विश्वस्त छु’ नम्रताले भनिन् । फिल्म तिहारमा रिलिज गर्ने तयारी निर्माण पक्षको छ । फिल्मका प्रस्तुतकर्ता सुभाष थापा हुन् भने निर्माता केशव पाण्डे छन् ।