मुख्य समाचार

बिहान १० बजेसम्मका मुख्य १० समाचार

By खबरहब

August 02, 2022

काठमाडौँ- आज पनि बिहानैदेखि विभिन्न राजनीतिक, आर्थिक तथा सामाजिक घटनाक्रम चलिरहेका छन् । पछिल्लो २४ घण्टामा राजधानी काठमाडौँदेखि देशभरका समाचार अपडेटका साथै अन्तर्राष्ट्रिय र खेलकुदका विभिन्न गतिविधि तथा कार्यक्रम भइरहेका छन् । बिहान १० बजेसम्मका मुख्य १० समाचार यस्ता छन्:

१. म्याग्दीमा पहिरोले घर पुरिँदा २ जनाको मृत्यु म्याग्दीको मालिका गाउँपालिका–२ रुम गाउँमा पहिरोले पुरिएर दुई जनाको मृत्यु भएको छ ।

गए राति पहिरोले तीन घर पुरिँदा दुई जनाको मृत्यु हुनुका साथै तिन जना बेपत्ता भएका छन् । घरमाथिको पाखोबाट आएको पहिरोले स्थानीय स्थानीय घामबहादुर विकको घर पुरिँदा १३ वर्षका छोरा राजन विक र १५ वर्षको नविन विकको मृत्यु भएको प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिए ।

पहिरोमा परेर घाम बहादुर विक, उनकी श्रीमती र सात वर्षीया छोरी बेपत्ता भएको भारतीले बताए । स्थानीयबासीहरुले पुरिएको घरबाट दुई जनाको शव निकालेको र बेपत्ता भएकाहरूको खोजी भइरहेको मालिका गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेमराज काफ्लेले जानकारी दिए।

२. पहिरोले मुख्य राजमार्ग अवरुद्ध हुँदा यात्रुलाई सास्ती लगातारको वर्षापछि आएको बाढी पहिरोले चितवन, धादिङ, सिन्धुपाल्चोक, कास्की र म्याग्दी लगायतका जिल्लामा सडक अवरुद्ध हुँदा यात्रुहरू मर्कामा परेका छन् ।

ठूला तथा साना राजमार्गमा पहिरो गए पनि गन्तव्यमा हिँडेका हजारौँ सर्वसाधारण बाटोमै अलपत्र बनेको सम्बन्धित जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएका छन् ।

धादिङको तिङ्ग्राङ खानी र चितवनको नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो जाँदा काठमाडौं उपत्यकाबाट उक्त सडकखण्ड हुँदै देशका विभिन्न स्थानमा आउ–जाउ गर्ने लामो तथा छोटो दुरीका सवारी साधन सञ्चालन हुन सकेका छैनन् ।

३. प्रतिनिधि सभा बैठक बस्दै, खानेपानी तथा सरसफाइ विधेयक टेबुल हुने विभिन्न विधेयकहरूमाथि छलफल गर्न आज प्रतिनिधि सभाको बैठक बस्दैछ ।

दिउँसो १ बजे बस्ने बैठकमा प्रतिनिधि सभामा उत्पत्ति भएको “खानेपानी तथा सरसफाइ विधेयक, २०७७” का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश सहितको विधेयक टेबुल गरिने कार्यसूची रहेको छ ।

यस्तै, प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सभाबाट सन्देश सहित प्राप्त “शपथ सम्बन्धी विधेयक, २०७९ माथि विचार गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्नुहुने तथा देउवाले नै राष्ट्रिय सभाबाट सन्देश सहित प्राप्त “तथ्यांक विधेयक, २०७८ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस्” भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

४. राहदानीको लागि अनलाइन आवेदन आजदेखि बिहान खुल्ने राहदानी विभागले ई–पासपोर्टको लागि आजबाट बिहानैदेखि अनलाइन आवेदन खुलाउने भएको छ । दिउँसो साढे चार बजेपछि खुलाउँदै आएको अनलाइन आवेदन आजदेखि बिहान ११ बजे खुलाउने विभागले जनाएको हो ।

राहदानी विभागले एक सूचना जारी गर्दै आजबाट दैनिक ११ बजेबाट अनलाइन आवेदन फाराम खुल्ने जनाएको हो । यस्तै, विभागले दैनिक २४ सय जनाको कोटा पनि बढाउने जनाएको छ ।

राहदानी बनाउन अनेक झन्झट र सास्ती खेप्नुपरेको सेवाग्राहीका गुनासो बढेपछि विभागले कोटा बढाउने भएको हो ।

५. आज नाग पञ्चमी पर्व मनाइँदै

आज नाग पञ्चमी पर्व, सनातन धर्मावलम्बीहरूले घरका मूल ढोकामा नागका तस्बिर टाँसेर मनाउँदै छन् । आजको दिन विधिपूर्वक नागको पूजा गर्नाले नाग प्रसन्न हुने र वर्षभरि  विषालु जीवको भय नहुने विश्वास छ ।

नाग पूजनका क्रममा सर्प, बिच्छी खजुर आदि अन्य विषालु जीवको पनि पूजा गरिन्छ । चट्याङले घरमा कुनै किसिमको हानि नोक्सानी नपुर्‍याइओस् भन्ने उद्देश्यले बज्रवाहकहरूको पूजा गरिन्छ । मूल ढोकामा नागको तस्बिर टाँसी विभिन्न पदार्थ चढाई पूजा गर्ने परम्परा रहेको छ । कृषिप्रधान मुलुक भएकाले सर्प र मानिसबिचको दूरी हटाउन यो पर्वको महत्त्व रहेको मानिन्छ ।

नाग पञ्चमीको अवसरमा आज काठमाडौँको नाग पोखरी, भक्तपुरको चाँगुनारायण मन्दिरमा भक्तजनको घुइँचो लागेको छ । नेवार समुदायमा चाँगुनारायणको दर्शन गरेर मात्र घरको मूल ढोकामा नागको तस्बिर टाँस्ने परम्परा रही आएको छ ।

६. काभ्रेमा पशु ओसारपसारमा रोक  काभ्रेको पनौतीमा पशुमा ‘अफ्रिकन स्वाइन फीभर’को सङ्क्रमण फेला परेको छ । पनौती नगरभित्र व्यावसायिक रूपमा पालिएको बङ्गुरमा सङ्क्रमण देखिएको नगरपालिका कार्यालयले जनाएको छ ।

बङ्गुरमा अफ्रिकन स्वाइन फीभर सङ्क्रमण पुष्टि भएपछि नगरपालिकाले ओसारपसारमा रोक लगाएको वरिष्ठ प्रशासकीय अधिकृत इन्द्रप्रसाद अधिकारीले जानकारी दिए।

ओसारपसार गर्नुपरेमा बङ्गुरको स्वास्थ्य परीक्षण गरेर मात्रै ढुवानी गर्न आग्रह गरिएको छ । सम्भावित क्षेत्रमा थप परीक्षणको तयारी गरिरहेका उनले बताए ।

७. अमेरिकी ड्रोन आक्रमणमा अल कायदाका मुख्य नेता जवाहिरीको मृत्यु अमेरिकाले अफगानिस्तानमा ड्रोन हमलामा अलकायदाका नेता अयमान अल जवाहिरी मारिएको दाबी गरेको छ । अमेरिकी राष्ट्रपति जो वाइडेनले जवाहिरी मारिएको पुष्टि गरेको बीबीसीले जनाएको छ ।

अफगानिस्तानको राजधानी काबुलमा सीआईएले गरेको प्रतिआतंकवाद कारबाहीमा उनको मृत्यु भएको जनाइएको छ । वाइडेनले आतंकवादी जवाहिरीको मृत्युले अब अमेरिकी जनतालाई न्याय न्याय मिलेको बताएका छन् ।

८. युक्रेनलाई अमेरिकाद्धारा थप हतियार सहयोग अमेरिकाले रसियासँग लडिरहेका युक्रेनी सेनाका लागि थप हतियार उपलब्ध गराउने भएको छ । अमेरिकाले उपलब्ध गराउने हतियारमा रकेट लन्चरहरू र आर्टिलरी बन्दुकहरूका लागि गोला बारुद समावेश रहेका छन् ।

अमेरिकाले ५५० मिलियन डलरको नयाँ प्याकेजमा उच्च गतिशीलता भएको रकेट र तोपखानाका लागि गोला बारुद सहयोग गर्ने उल्लेख गरिएको राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीले जनाएका छन् ।

९. नेपालले आज बंगलादेशसँग खेल्दै  साफ यू–२० च्याम्पियनसिप फुटबल अन्तर्गत नेपालले आज लिग चरणको अन्तिम खेलमा बंगलादेशसँग प्रतिस्पर्धा गर्ने भएको छ । नेपाल र बंगलादेशबीचको खेल नेपाली समय अनुसार दिउँसो ४ः१५ बजे सुरु हुनेछ ।

बंगलादेशविरुद्धको खेल नेपालका लागि निकै महत्त्वपूर्ण रहेको छ । नेपाललाई फाइनलमा पुग्न बंगलादेशविरुद्ध फराकिलो जित आवश्यक रहेको छ ।

१०. वेस्ट इन्डिजसँग भारत पराजित घरेलु टोली वेस्ट इन्डिजले भारतविरुद्धको दोस्रो टी–ट्वान्टी क्रिकेटमा जित निकालेको छ । गए राति भएको खेलमा घरेलु टोली ५ विकेटले विजयी भएको हो ।

जितसँगै घरेलु टोलीले ५ खेलको टी–ट्वान्टी सिरिजमा १–१ को बराबरी गरेको छ ।