मुख्य समाचार

दिउँसो १ बजेसम्मका मुख्य १० समाचार

By खबरहब

August 02, 2022

काठमाडौँ- बिहानैदेखि आज पनि विभिन्न राजनीतिक, आर्थिक तथा सामाजिक घटनाक्रम चलिरहेका छन् । पछिल्लो २४ घण्टामा राजधानी काठमाडौँदेखि देशभरका समाचार अपडेटका साथै अन्तर्राष्ट्रिय र खेलकुदका विभिन्न गतिविधि तथा कार्यक्रम भइरहेका छन् । दिउँसो १ बजेसम्मका मुख्य १० समाचार यस्ता छन्ः 

१. काठमाडौँबाट धादिङ र चितवन भएर गुड्ने लामो दूरीका सवारी साधन सञ्चालनमा रोक धादिङ र चितवनका विभिन्न स्थानमा पहिरो खसेर सडक अवरुद्ध भएका कारण काठमाडौँको नयाँ बसपार्क, कलंकी, गौशला र भक्तपुरबाट देशका विभिन्न जिल्लातर्फ जाने लामो दूरीका सवारी साधनलाई सञ्चालनमा रोक लगाइएको छ । अवरुद्ध सडक खुलेसँगै सवारी साधन सञ्चालनमा आउने छन् ।

चितवनको नारायणगढ मुग्लिन सडकखण्डका विभिन्न ठाउँमा पहिरो खसेका कारण गए रातिदेखि आवागमन पुर्णरुपमा अवरुद्ध भएको छ । भरतपुर महानगरपालिका २९ केराबारी मौरीखोला, १७ किलो र इच्छाकामना गाउँपालिकाको वडा नम्बर ६ स्थित २ र ३ नम्बर पुलको बीचमा  पहिरो खसेको छ । जसका कारण गत रातदेखि नै सवारी आवागमन रोकिएको र पहिरो हटाउने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । रातिदेखि रोकिएका सवारी साधनको राजमार्गमा लामो लाम लागेको छ ।

लमजुङको वेशीशहर नगरपालिका १ उदिपुर र  मर्स्याङ्दी गाउँपालिका ४ काभ्रेभिरमा मंगलबार बिहानै पहिरो खसेको छ । जसका कारण लमजुङ हुँदै मनाङ जाने सवारी साधन रोकिएका छन् ।

पृथ्वी लोकमार्गअन्तर्गगत धादिङको बेनिघाट रोराङ गाउँपालिका १० तिङ्ग्राङ खानीमा पनि आज बिहानै पहिरो खस्दा आवागमन अवरुद्ध भएको छ । आज बिहान ३ बजे खसेको पहिरो हटाउने प्रयास भइरहेको छ । धादिङकै धुनिवेशी नगरपालिका ९ स्थित निमार्णाधिन सुरुङमार्ग नजिकै गए राति खसेको पहिरो भने पन्छ्याइएको छ । पहिरो पन्छ्याइएसँगै सवारी साधन एक लेनमा आलोपालो चल्न थालेका छन् । पहिरो पुर्णरुपमा हटाएर सवारी साधन दुईतर्फी सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ ।

२ . विपद् प्रभावितको उद्धार र राहतमा जुट्न गृहमन्त्रीको निर्देशन

गृहमन्त्री बालकृष्ण खाणले मुलुकका विभिन्न स्थानमा गएको बाढी र पहिरोले पुर्‍याएको क्षति तथा राहत र उद्धारबारे भइरहेका कामबारे सम्बन्धित निकायसँग जानकारी लिएका छन् ।

गृहमन्त्री खाणले  म्यादी मालिका गाउँपालिका–२ रुममा गएको पहिरो, चितवनको भरतपुर महानगरपालिका–२९ केराबारीमा गएको पहिरोले पुर्‍याएको सडक अवरोध  र चितवनकै इच्छाकामनामा गएको पहिरोबाट भएको क्षति उद्धार र राहत र सडक खुलाउन भइरहेको प्रयासबारे जानकारी लिएका हुन् ।

मन्त्री खाणले तत्काललै उद्धार कार्यमा जुट्न पनि सम्बिन्धत निकायलाई निर्देशन दिएका छन् ।

३. बुद्धिजीवी व्यक्तिहरूबाटै बच्चालाई स्तनपान गराउने कुरामा हेलचक्र्याइँ भइरहेको छ : मन्त्री खापुङ स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानीप्रसाद खापुङले बुद्धिजीवी व्यक्तिहरूबाटै बच्चालाई आमाको स्तनपान गराउने कुरामा हेलचक्र्याइँ भइरहेको बताएका छन्।

प्रसूति गृह थापाथलीमा बेबी मिल्क बैंक स्थापना कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खापुङले विकास निर्माणको अग्रसरतामा पछि परेको कर्णाली प्रदेशमा बच्चालाई स्तनपान गराउने संख्या बढी देखिएकोले बच्चा हुर्काउने र बच्चालाई स्तनपान गराउने मामिलामा बागमती प्रदेश भन्दा कर्णाली प्रदेश नै बौद्धिक देखिएको जिकिर गरे।

४. पेट्रोलियम पदार्थको मूल्य घटाउन एमालेको माग एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले तत्काल पेट्रोलियम पदार्थको मूल्य घटाउन माग गरेको छ ।

भारतीय पेट्रोलियम कर्पोरेसनले पछिल्लो १५ दिनमा पेट्रोलियम पदार्थको मूल्य दुई पटक घटाउँदा नेपाल आयल निगमले मूल्य समायोजन नगरेको भन्दै अनेरास्ववियुले  निगमको ध्यानाकर्षण गराएको हो ।

भारतीय पेट्रोलियम कर्पोरेसनले पछिल्लो १५ दिनमा दुई पटक गरेर पेट्रोलमा ३२.५६ रुपैयाँ र डिजेलमा २९.१ रुपैयाँ प्रतिलिटर तथा खाना पकाउने एलपी ग्यास ७७ रुपैयाँ प्रतिसिलिन्डर मूल्य घटाउँदा पनि नेपाल आयल निगमले घाटा पूर्तिको बाहानाबाजी गर्दै मूल्य नघटाएको अध्यक्ष सुनिता बरालद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

५. अण्डर ग्राउण्ड पार्किङ हटाउन महानगरको निर्देशन काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले नक्सामा अण्डर ग्राउण्ड पार्किङ पास गराएर अन्य प्रयोजनका लागि प्रयोग गरिएको भए हटाउन निर्देशन दिए ।

घरधनीले नक्सामा पार्किङ बनाउने उल्लेख गरे पनि त्यस ठाउँमा सटर हालेर पसलहरू राखिएको भेटिएको भन्दै उनले फरक प्रयोजनमा प्रयोग गरिएको भए हटाउन निर्देशन दिएका हुन् ।यसअघि मेयर शाहले फुटपाथमा राखिएका पसल हटाउन निर्देशन दिएका थिए ।

उनले आज बानेश्वर क्षेत्रको अवलोकन गर्दै फुटपाथ सफा भएपछि अब फरक प्रयोजनका लागि प्रयोग गरिएका पार्किङ क्षेत्र खाली गराउन पनि निर्देशन दिएका छन्।

६. खोटाङमा भूकम्पका कारण चार सय ७५ घरमा क्षति खोटाङमा भूकम्पका कारण चार सय ७५ घरमा क्षति पुगेको जनाइएको छ ।

साकेला गाउँपालिका–५ मात्तिमविर्तालाई केन्द्रबिन्दु बनाएर आइतबार गएको भूकम्पले जिल्लाभर दुई विद्यालय भवन, एक प्रहरी चौकी र चार सय ७५ घरमा क्षति पुगेको जिल्ला विपद् व्यवस्थापन कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार एक घर पूर्ण रूपमा भत्किएको छ भने अन्य घरहरू चर्किएका छन् ।

७. मन्दाकिनी हाइड्रोपावरको आईपीओ बाँडफाँड हुँदै मन्दाकिनी हाइड्रोपावर लिमिटेडको आईपीओ आज बाँडफाँड हुने भएको छ ।बिक्री प्रबन्धक बीओके क्यापिटल मार्केट लिमिटेडको कार्यालय काठमाडौंको नारायणचौरमा अपराह्न ४ बजे आईपीओ बाँडफाँड हुने बताइएको छ ।

कम्पनीले यही साउन ९ गतेदेखि सर्वसाधारणका लागि १०० रुपैयाँअंकित दरका ११ करोड ७६ लाख सात हजार ३०० रुपैयाँबराबरको ११ लाख ७६ हजार ७३ कित्ता आईपीओ निष्कासन गरेको थियो ।

८. अमेरिकाको केन्टकी बाढीमा मृत्यु हुनेको संख्या ३७ पुग्यो अमेरिकाको पूर्वी राज्य केन्टकीमा भीषण वर्षापछि आएको बाढीका कारण मृत्यु हुनेको संख्या ३७ पुगेको छ ।

अझै एक सयभन्दा बढी बेपत्ता भएको बीबीसीले जनाएको छ । बाढीमा परि एक वर्षदेखि ८ वर्ष उमेर समूहका ६ जना बालबालिकाको पनि मृत्यु भएको छ ।

वर्षाका कारण १२ हजार घरमा  विद्युत् सेवा अवरुद्ध भएको छ । विस्थापित   ३ सय जना स्थानीयलाई पार्क, चर्चमा आश्रय दिइएको अधिकारीहरूले बताएका छन् ।

९. २३२ विद्यालयमा ‘स्कुल नर्स’ राखिँदै

आगामी आर्थिक वर्षमा थप २५ स्थानीय तहका २ सय ३२ विद्यालयमा ‘स्कुल नर्स’ राखिने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निकालेको स्थानीय तह कार्यक्रम मार्ग निर्देशन अनुसार २५ स्थानीय तहमा सो संख्या बराबरको ‘स्कुल नर्स’ राखिन लागिएको हो ।

मन्त्रालयद्धारा जारी मार्ग निर्देशनअनुसार प्रदेशको १ को एक स्थानीय तहको १० वटा विद्यालयमा विद्यालय नर्स रहनेछन् भने  प्रदेश २ का ४ स्थानीय तहका ३८ विद्यालयमा नयाँ ‘स्कुल नर्स’ रहनेछन् ।

यसैगरी, गण्डकी प्रदेशका ४ वटा स्थानीय तहका ३० विद्यालयमा, लुम्बिनी प्रदेशका ५ स्थानीय तहका ४६ विद्यालयमा, कर्णाली प्रदेशका ७ स्थानीय तहका ७० विद्यालयमा, सुदूरपश्चिम प्रदेशका ४ स्थानीय तहका ३८ विद्यालयमा यसै आर्थिक वर्षबाट ‘स्कुल नर्स’ रहने व्यवस्था गरिएको छ ।

१०. १ अर्ब ३४ करोडभन्दा बढीको सिफुड नेपाल भित्रियो  नेपालमा एक वर्षको अवधिमा विभिन्न देशबाट १ अर्ब ३४ करोड रुपैयाँभन्दा बढीको सिफुड भित्रिएको छ । भन्सार विभागका अनुसार गत आर्थिक वर्ष २०७८/७९ मा उक्त मूल्य बराबरको सिफुड नेपाल भित्रिएको हो ।

सो अवधिमा कुल १ अर्ब ३४ करोड ६५ लाख ८० हजार रुपैयाँको सिफुड नेपालले आयात गरेको विभागको तथ्याङ्कले देखाउँछ । २०७८ साउनदेखि २०७९ असार मसान्तसम्मको अवधिमा नेपालमा ४९ लाख ६६ हजार ३३८ केजी सिफुड नेपाल भित्रिएको विभागले जनाएको छ । नेपालमा सिफुड भारत, थाइल्याण्ड, डेनमार्क, भियतनाम, ब्रुनाई, चीन, नर्वे, मलेसिया, सिंगापुर, क्यानडा, कतार लगायतका देशबाट आउने गरेको छ ।

अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा नेपालले विभिन्न देशबाट १ अर्ब ६९ करोड ८० लाख ६१ हजार रुपैयाँको सिफुड आयात गरेको थियो ।