मुख्य समाचार

 साँझ ५ बजेसम्मका मुख्य १० समाचार

By खबरहब

August 02, 2022

आज पनि बिहानैदेखि विभिन्न राजनीतिक, आर्थिक तथा सामाजिक घटनाक्रम चलिरहेका छन् । पछिल्लो २४ घण्टामा राजधानी काठमाडौँदेखि देशभरका समाचार अपडेटका साथै अन्तर्राष्ट्रिय र खेलकुदका विभिन्न गतिविधि तथा कार्यक्रम भइरहेका छन् । साँझ ५ बजेसम्मका मुख्य १० समाचार यस्ता  छन्  :

 १ .देशलाई निर्दलीय अभ्यासतिर धकेलियो : भीम रावल

नेकपा एमालेका सांसद डा. भीम रावलले निर्दलीय अभ्यासतिर देशलाई धकेलिएको बताएका छन् । प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै रावलले नेपालको संविधानको धारा २६९ ले समान विचारधारा, दर्शन, कार्यक्रम भएका व्यक्तिहरू एउटा राजनीतिक दलमा आवद्ध हुने र त्यस्तो दलले यही कुरा निर्वाचन आयोगमा दर्ता गर्नुपर्ने लेखिएपनि यसको खुलेआम उल्लंघन भइरहेको बताएका हुन् ।

उनले  कुनैपनि सार्वजनिक पद धारण गर्ने, शपथ लिनुपर्ने व्यक्तिले आफ्नो जिम्मेवारी वहन गर्दा प्रचलित कानूनको पालना गरी, मुलुक र जनताको भलो चिताइ, कसैको डर नमानी पक्षपात नगरी, पूर्वाग्रह वा खराब भावना नलिइ इमान्दारिताका साथ गर्नेछु भन्नेकुरा लेखिएपनि देशमा अहिले विदेशीसँग थर्कमान भइ, डर मानी, संविधान मिचि, उल्लंघन गरी मनपरी गर्नेछु भन्नेजस्तो चरित्र देखिन थालेको  बताए  ।

शपथ लिइसकेपछि   कानुनको अनिवार्य  पालन गर्नुपर्ने उनले भनाई राखे   । 

२.विप्लव समूहका नेताहरूलाई जारी गरिएको पक्राउ पुर्जी फिर्ता गर्न माग

प्रमुख प्रतिपक्षी नेकपा एमालेले सरकारले नेकपाको विप्लव समूहका नेताहरूलाई जारी गरिएको पक्राउ पुर्जी फिर्ता गर्न माग गरेको छ । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले विप्लव समूहका नेहरुलाई थप कारवाही गर्ने खवर आएको भन्दै त्यो साचो हो भने तत्काल कारवाही फिर्ता लिन माग गरेका हुन् ।

केपी ओलीको सरकारले विद्रोह गरेको नेकपालाई सहमतिमार्फत शान्तिपूर्ण राजनीतिमा ल्याएको र सो सहमति पालना हुनुपर्नेमा जोड दिए । उनले कारवाहीको नाममा विप्लव समूहलाई पुनः हिंसामा जान दिन नहुने बताए । भट्टराईले तत्काल नेकपाका नेताहरूमाथिको कारवाही गर्ने कामबाट तत्काल पछि हट्न र उनीहरूलाई काटेको पक्राउ पुर्जी फिर्ता लिन माग गरे ।

यसअघि बैठकको शून्य समयमा माओवादी केन्द्रकी सांसद यशोदा गुरुङ सुवेदीले विप्लव नेतृत्वको नेकपाका नेताहरूप्रति वारेन्ट जारी गरिएकोमा आपत्ति जनाउदै सरकारसँग भएको सहमति कार्यान्वयन नभएको बताइन् । जिल्ला अदालत ललितपुरले पुराना घटनाका सम्बन्धमा विप्लव लगायत नेताहरूमाथि पक्राउ पुर्जी जारी गरेको थियो ।

यस्तै बैठकमा बोल्दै जनता समाजवादी पार्टी (जसपा) कि सांसद रेनुका गुरुङले सोमबार राति आफ्नो घरको गेटभित्र बम पड्किएको बताइन् । आज प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले आफ्नो घरको गेटभित्र बम पड्किएको दाबी गरेकी हुन्  । उनले सुरक्षाको कारण देखाउँदै आजीवन निजी सुरक्षाकर्मीको व्यवस्था गर्न गृहमन्त्री र सरकारसँग माग गरिन् ।

 ३. गण्डक बाँधका ३६ वटै ढोका खोलिए

लगातारको वर्षासँगै नारायणी नदीमा पानीको सतह बढ्दै थालेपछि गण्डक बाँधका सबै ३६ वटै ढोका खोलिएको छ । दुई दिनदेखि परेको लगातारको वर्षाका कारण पूर्वी नवलपरासीको त्रिवेणी ब्यारेजस्थित गण्डक बाँधको ढोका खोलिएको हो ।

गण्डक बाँधको ढोकाको चाँबी सधैँ भारतले राख्ने गरेको छ र  देवघाटस्थित जलमापन केन्द्रले नारायणी नदीको पानीका सतह खतरा नजिक पुगेको जनाएपछि तल्लो क्षेत्रमा समेत खतरा बढ्न सक्ने भन्दै भारतले ढोका खोलिएको हो । पानीको सतह बढेर खतरा बढ्न थालेपछि भारतले यसरी नै ढोका खोलिदिने गरेको छ ।

सामान्य अवस्थामा १८ वटा ढोका खुला हुने ब्यारेजमा नदीमा पानीको बहाव बढेसँगै सबै ढोका खोल्न लगाइएको स्थानीय प्रशासनले जनाएको छ ।नवलपरासीका निमित्त प्रमुख जिल्ला अधिकारी खिमलाल भुसालले नारायणी नदीको बाढी सतर्कता तह नजिक पुगेपछि गण्डक ब्यारेजका सबै ढोका खोल्न लगाइएको बताए ।

नारायणी नदीको देवघाटस्थित बाढीमापन केन्द्रकाअनुसार अहिले नारायणीमा पानीको सतह सात दशमलब एक मिटर रहेको छ । नारायणीमा पानीको सतह सात दशमलब तीन मिटरलाई सतर्कता तह र नौ मिटरलाई खतराको तहको रुपमा लिइन्छ ।  

४ .शेयर बजारमा सामान्य गिरावट

शेयर बजार परिसुचक नेप्से आज सामान्य घटेको छ । शेयर बजार परिसूचक नेप्से आज २.७६  अङ्कले घटेर दुई हजार एक सय ९३.४३ विन्दुमा पुगेको हो ।

आज दुई सय १७ वटा कम्पनीका ७८ लाख १३ हजार कित्ता शेयर तीन अर्ब २९ करोड ३२ लाख रुपैयाँमा कारोबार भएको छ ।आज बैंक, विकास बैंक, होटल, बीमा, अन्य र लगानी समूहको शेयर घटेको छ । व्यापार, जलविद्युत्, फाइनान्स, उत्पादन, लघुवित्त र म्युचल फन्ड समूहको शेयर भने सामान्य बढेको छ । आज ३ जलविद्युत् कम्पनीको मूल्य १० प्रतिशत बढेको छ ।

यस्तै  बिन्ध्यावासिनी हाइड्रोपावर, सामलिङ पावर र हिमाल दोलखा हाइड्रोपावरको मूल्य १० प्रतिशत बढेको छ । कारोबार रकमका आधारमा शिवम् सिमेन्ट, हिमालयन डिस्टिलरी, फरवार्ड माइक्रोफाइनान्स, गुडविल फाइनान्स र युनाइटेड इदी मर्दी अगाडि रहेका छन् ।

५ . १७ वर्षीया किशोरी बलात्कृत 

मोरङमा एक जना १७ वर्षीया किशोरी बलात्कृत भएकी छन् । उनलाई बलात्कार गरेको अभियोगमा जहदा गाउँपालिका–३ हातिबन्दा बस्ने २३ वर्षीय सुमन राजवंशीलाई  आज बिहान प्रहरीले पक्राउ गरेको छ ।

सुमनले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी मझारेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

६ . भारतबाट एक युवतीको उद्धार

मानव बेचविखनमा परेकी एक युवतीको उद्धार गरिएको छ । माइती नेपालले मकवानपुरकी १७ वर्षीया युवतीको भारतबाट उद्धार गरेको हो ।काम लगाइदिने भन्दै दलालमार्फत दिल्लीमा बेचिएकी ती युवतीको कोलकाताको सोनागाछीबाट उद्धार गरिएको माइती नेपालका निर्देशक विनोद खड्काले जानकारी दिए ।

कोलकाताको सोनागाछी प्रहरीको सहयोगमा उनको उद्धार गरिएको निर्देशक खड्काले बताए ।  उद्धार गरिएकी ती युवतीलाई नेपाल ल्याउन केही दिन समय लाग्ने उनको भनाइ छ ।

७ . जिल्ला अस्पतालले पाएन कोरोना सङ्क्रमितको उपचार खर्च 

जिल्ला अस्पताल लमजुङले  कोरोना सङ्क्रमितको उपचार खर्च नपाएको  गुनासो गरेका छन् । गण्डकी प्रदेश सरकारले उपलब्ध गराउने भनी सम्झौता गरेको  भए पनि हालसम्म रकम उपलब्ध नभएको जिल्ला अस्पताल लमजुङका प्रशासन प्रमुख हेमन्त श्रेष्ठले बताए ।

जिल्ला अस्पताल लमजुङले महामारी सुरु भएदेखि हालसम्म पाँच सय ६९ जनाले उपचार गरेको छ । उपचार गराएका सङ्क्रमितहरूको कूल रकम एक करोड ४१ लाख ७१ हजार पाँच सयमध्ये ५० लाख ७८ हजार पाँच सय भुक्तानी भए पनि ९० लाख ९३ हजार रकम नपाएको अस्पतालको भनाइ छ । सम्झौता अनुसार सरकारले प्रत्येक महिना सोधभर्ना भुक्तानी गर्नु पर्नेछ ।

कोभिड संक्रमितको उपचार खर्च संघीय सरकारले उपलब्ध गराउने भनेपछि जिल्ला अस्पताल लमजुङ, गण्डकी प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयबीच कोभिड–१९ संक्रमित बिरामीको उपचार र व्यवस्थापनका लागि अस्पतालमा कोभिड–१९ केयर युनिट सञ्चालन गर्ने विषयमा सम्झौता भएको थियो ।

 ८. पेलोसीले ताइवानको भ्रमण गरेमा सैन्य आक्रमण गर्ने चीनको चेतावनी 

चीनले अमेरिकी सभामुख न्यान्सी पेलोसीले ताइवानको भ्रमण गरेमा सैन्य आक्रमण गर्ने चेतावनी दिएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता चाओ लिचियानले अमेरिकी सभामुखले ताइवानको भ्रमण गरेमा त्यो आगोसँग खेलेसरह हुने चेतावनी दिएको समाचार संस्था एएफपीले  उल्लेख गरेको छ ।

चीनले यसअघि पनि पटक/पटक पेलोसीले ताइवानको भ्रमण गरेमा कडा जवाफ दिने र यसको जिम्मेवार अमेरिका नै हुने चेतावनी दिइसकेको छ । अमेरिकी प्रतिनिधि सभाकी सभामुख पेलोसी हाल एसिया भ्रमणमा छिन् ।

सिङ्गापुर भ्रमणबाट मलेसिया पुगेकी पेलोसी आज ताइवानको भम्रण  जान सक्ने खबर ताइवानी सञ्चारमाध्यमले दिएका छन् । यस्तै भ्रमणका क्रममा पेलोसीले दक्षिण कोरिया र जापान भ्रमण गर्नुहुनेछ । यद्यपि ह्वाइट हाउसले भने पेलोसीको ताइवान भ्रमणबारे केही खुलाएको छैन् ।

९. इराकका प्रधानमन्त्रीद्वारा वार्ताका लागि आन्दोलनरत पक्षहरूलाई आह्वान   

इराकका प्रधानमन्त्री मुस्ताफा अल कादिमीले वार्ताका लागि आन्दोलनरत पक्षहरूलाई आह्वान  गरेका छन् । हाल इराकमा देखिएको राजनीतिक गतिरोधको अन्त्यका लागि सबै पक्षलाई वार्तामा बोलाउँदै उनले राष्ट्रिय रुपमा सबै पक्ष वार्तामा बसेर नै अहिलेको राजनीतिक सङ्कटको समाधान गर्न सकिने बताएका  हुन् ।

उनको कार्यालयले  प्रकाशन गरेको एक विज्ञप्तिमा सो कुरा उल्लेख गरिएको छ । सो विज्ञप्तिमा आन्दोलनमा रहेका सबै पक्षलाई राष्ट्रिय वार्तामा आउन आग्रह गरिएको छ र वार्ताकै माध्यमबाट सबै समस्याको हल गर्न सकिन्न भनिएको छ ।

जुलाई २५ मा उनलाई प्रधानमन्त्री नियुक्त गरेपछि त्यसको विरोधमा  सो आन्दोलन सुरु गरिएको हो । 

१० .इटालियन सिरी ए क्लब टोरिनोद्वारा डिफेन्डर लाजारो अनुबन्ध 

 इटालियन सिरी ए क्लब टोरिनोले डिफेन्डर भ्यालेन्टिनो लाजारोलाई अनुबन्ध गरेको छ ।

टोरिनोले डिफेन्डर लाजारोलाई इन्टर मिलानबाट लोनमा अनुबन्ध गरेको हो । टोरिनोले एक सिजनका लागि उनलाई लोनमा अनुबन्ध गरेको हो ।अष्ट्रियन डिफेन्डर पछिल्लो समय लगातार लोनमा खेल्दै आएका छन् ।

गत सिजन उनले पोर्चुगिज क्लब बेन्फिकाबाट लोनमा खेलेका थिए  । अष्ट्रियाका लागि उनले ३६ खेलमा ३ गोल गरिसकेका छन् ।