राजनीति

नागरिकता विधेयक खारेजीको माग गर्दै राष्ट्रपतिलाई ज्ञापन पत्र

By खबरहब

August 02, 2022

काठमाडौँ– देशभक्त जनगणतान्त्रिक मोर्चाले नागरिकता विधेयक खारेजीको माग गर्दै राष्ट्रपतिलाई ज्ञापन पत्र बुझाएको छ ।

नेकपा (क्रान्तिकारी माओवादी) का बरिष्ठ नेता सी.पी. गजुरेल नेतृत्वको टोलीले मंगलबार शीतल निवास पुगेर प्रतिनिधिसभा र राष्ट्रिय सभाले हालै पारित गरेको नागरिकता विधेयक नेपालको राष्ट्रिय हितविपरीत रहेको भन्दै खारेजीको माग गर्दै राष्ट्रपतिलाई ज्ञापन पत्र बुझाएको हो । 

लोभ–लालच, आश्वासन–प्रलोभन, प्रभाव–दबाव र पैसाको चलखेलका आधारमा गैरनेपाली नागरिकले नागरिकता पाउने गरी राष्ट्रहित विपरीत नागरिकतासम्बन्धी विधेयक सदनबाट पारित गरिएको उनीहरूको भनाई छ । राष्ट्रपति समक्ष प्रमाणीकरणका लागि प्रस्तुत भएको उक्त विधेयक दक्षिण एसियाका अरु देशहरूको नागरिकता प्राप्तिका प्रबन्ध र प्रावधानसँग पनि कुनै तादाम्यता नरहेको मोर्चाले जनाएको छ । 

मोर्चाले नागरिकता विधेयकमा सर्वपक्षीय सहमति आवश्यक  रहेकोमा जोड दिएको छ । यसबारे व्यापक मात्रामा छलफल र बहस गरी सर्वपक्षीय सहमति कायम गरेर मात्र यसलाई अन्तिम रूप दिनका लागि यो विधेयक संसद्मा नै फिर्ता पठाइयोस् भन्दै उनीहरूले ज्ञापन पत्र बुझाएका हुन् ।