तस्वीर- एनडीटीभी/पीटीआई

अन्तर्राष्ट्रिय

श्रीलंकाली पूर्वराष्ट्रपति गोटाबाया राजापाक्षे स्वदेश फर्किने तयारीमा

By खबरहब

September 02, 2022

काठमाडौँ- श्रीलंकाका पूर्वराष्ट्रपति गोटाबाया राजापाक्षे थाइल्याण्डबाट स्वदेश फर्किने अन्तिम तयारी गरेको श्रीलंकाका सञ्चार माध्यमहरुले जनाएका छन् ।

टापु देश श्रीलंकाको सबैभन्दा खराब आर्थिक संकटका कारण सरकारविरुद्ध विद्रोहपछि देश छोडेर भागेका राजापाक्षे शनिबार स्वदेश फर्किन सक्ने डेली मिररले जनाएको छ ।

राजधानी कोलम्बोको राष्ट्रपति भवन र अन्य धेरै सरकारी भवनहरूमा प्रदर्शनकारीहरूले आक्रमण गरेपछि ७३ वर्षीय राजापाक्षे देश छोडेर भागेका थिए ।

श्रीलंका एयरफोर्सको विमानमा माल्दिभ्स गएका पूर्वराष्ट्रपति त्यहाँबाट सिंगापुर गएका थिए । उनले १३ जुलाईमा सिंगापुरबाटै राजीनामा पठाएका थिए ।

पछि उनी अस्थायी आश्रय खोज्दै थाइल्याण्ड पुगेका थिए । थाइल्याण्डका विदेशमन्त्री डोन प्रमुद्विनाइले राजापाक्षेसँग कूटनीतिक राहदानी रहेकाले ९० दिनसम्म त्यहाँ बस्न सक्ने बताएका छन् ।