अन्तर्राष्ट्रिय

जसले थेग्छन् अबको भारतीय क्रिकेट

By मनोज घिमिरे

October 02, 2022

भारतीय क्रिकेटमा पछिल्लो समय युवा खेलाडीको सनसनीपूर्ण प्रभाव कायम छ। पछिल्लो दुई सिजन यता छाएका शुभमन गील, आर्सदिप सिंह, इसन किसन र रवि विस्नोइको प्रभाव अहिले त्यत्तिकै छ।

यी खेलाडीको प्रभाव बढ्दो छ। यी खेलाडीकै बलमा भारतले धेरै सफलता पनि पाइ सकेको छ। तर, यी मध्यका खेलाडी लामो समय टिममा रहने भन्ने प्रश्न चाहिँ गम्भीर हो। इसन किसनको प्रभाव सन् २०१६ देखि कै हो। झारखण्डका यी युवाको उदय सन् २०१६ मा बङ्गलादेशमा सम्पन्न युथ विश्वकपमा भारतलाई उप विजयी बनाएदेखि यता हो। सो संस्करणमा वेस्ट इन्डिजले उपाधि जितेको थियो।

यसअघि नै २०१५ को अक्टोबरमा भएको रणजी ट्रफीमा उनले सौराष्ट्रको विरुद्धमा ८७ बलमा ६९ रन प्रहार गरेका थिए। त्यसै वर्षको अक्टोबरमा उनले भारतीय यु-१९ टोलीलाई श्रीलङ्का र इङ्गल्यान्ड सम्मिलित त्रिकोणीय शृङ्खलामा जित दिलाएका थिए। ् किसनले पहिलो श्रेणीको खेलको सुरुवात भने सन् २०१४ को डिसेम्बरमा गरेका थिए। उनले त्यस समयमा शतक र पाँच अर्धशत्तक प्रहार गरेका थिए।

दीपक जगवीर हुड्डा पछिल्लो समय भारतमा परिचित स्टार खेलाडी हुन्। घरेलु क्रिकेटमा राजस्थान र लखनउ सुपर जेन्ट्सको प्रतिनिधित्व गरिसकेका छन्। दायाँ हाते अलराउण्डर उनी ब्याट र बलमा उत्तिकै निपूर्ण छन्। उनी दायाँ हाते अफ ब्रेक बलर हुन् भने तल्लो क्रमका हार्ड हिटर ब्याट्सम्यान हुन्। अलराउण्डर कोटामा टिममा आवश्यक ठानिने उनी छोटो ओभरका खेलका लागि भने अझ उपयुक्त मानिन्छन्।

घरेलु क्रिकेटमा केरेलाका लागि खेल्ने सञ्जु विश्वनाथ सामसुन आइपीएलमा राजस्थानका लागि खेल्ने गर्छन्। २०१४ मा भएको यु-१९ क्रिकेट प्रतियोगितामा भारतीय टोलीको उप कप्तान सामसुन थिए। विकेटकिपर समेत रहेका उनी शीर्ष क्रमका ब्याट्सम्यान हुन्। १९ जुलाई २०१९ मा पहिलो पटक जिम्बाबेविरुद्ध मैदानमा उत्रिएर उनले अन्तर्राष्ट्रिय डेब्यु गरे। उनले डेब्यु मै अर्धशत्तक प्रहार गरे। यो सफलता पाउने उनी तेस्रो भारतीय ब्याट्सम्यान हुन्। २०१६-१७ को रणजी ट्रफिमा उनी केरेलाका लागि दोस्रो शीर्ष रन प्रहार गर्ने खेलाडी हुन्।

२०१८ मा आइपीएल अक्सनमा राजस्थानमा पुगेका उनी २५ वर्षको हुँदा भारतीय टोलीको सबैभन्दा भरपर्दा खेलाडी भएका छन्। सबै भन्दा पछिल्लो समय भारतीय टोलीमा आबद्ध भए पनि अहिले आर्सदिप सिंह भारतका हेर्न लायक सिम बलरको रूपमा परिचय बनाउन सफल भएका छन्। गत जुलाईमा इङ्गल्यान्डसँगको खेलमा उनले गरेको प्रदर्शनले धेरैलाई चकित पारेको थियो।

सन् २००६ मा गुलसन गोस्वामी र अजित अगरकर पछि उनी टी २० को पहिलो अन्तर्राष्ट्रिय ओभर नै मेडल राख्ने पहिलो भारतीय बलरको रूपमा कीर्तिमान राख्न सफल भएका थिए।

गोस्वामीले सन् २००६ को अगस्टमा डर्बीका इङ्गल्यान्डसँग भएको महिला टी-२० शृङ्खलाको पहिलो खेलमा डेब्यु गर्दै पहिलो ओभर नै मेडन फ्याकेकी थिइन्। सन् २००६ मा जोहन्सबर्गमा अजित अगरकरले सोही सफलता पाएका थिए। तथापि यी दुई भन्दा आर्सदिपको सफलतामा केही भिन्नता छन्। दुवै खेलाडीले परिपक्व भइसकेपछि भर्खरै टी-२० प्रचलन भएका कारण डेब्युमा सो सफलता पाएका हुन्। आर्सदिपले अन्तर्राष्ट्रिय खेल जीवनको सुरुवातमै सो सफलता पाएका हुन्।

सिंहले १८ रन खर्चेर दुई विकेट लिएको खेलमा भारतीय टोली ५० रनले विजयी भएको थियो। उनले पहिलो खेलमै रेस टोप्ले र म्याट पार्किन्सनको विकेट लिएका थिए।

इङ्गल्यान्डसँगको सोही सफलतापछि नै आर्सदिप लगातार भारतीय टोलीका प्रभावशाली खेलाडी भएका छन्। त्यसको लगत्तै उनी दक्षिण अफ्रिकाविरुद्ध घरेलु भूमिमा भएको पाँच खेलको शृङ्खलामा पनि टोलीमा समावेश भएका थिए।

आइपिएलमा उनका साथी पन्जाब किङ्सकै अर्का बलर कासिगो रबाडासमेत सिंहको खुलेर प्रशंसा गर्न रुचाउँछन्। रबाडाकै विचारमा सिंह संसारकै उत्कृष्ट डेथ ओभर बलर हुन्।

बच्चा अवस्थामा नै उनलाई प्रशिक्षण दिएका जयन्त राईले उनलाई कम उमेरमै धेरै कुरा सिक्न सक्ने प्रतिभाशाली बलरको रूपमा व्याख्या गरेका छन्।

त्यसो त भारतको प्रतिनिधित्व गर्दै क्रिकेट टोलीमा पर्नु नै चानचुने कुरा होइन। संसारको दोस्रो ठूलो जनसङ्ख्या भएको देशको सबै भन्दा लोकप्रिय खेलको राष्ट्रिय टोलीमा पर्ने सपनासहित हजारौँ जनाले हरेक दिन प्रशिक्षण गरिरहेका छन्। यसरी प्रशिक्षण गरिरहने हजारौँ मध्यबाट छानिएर आउने ती खेलाडी रोल मोडल नहुने त कुरै भएन।

अहिलेको यो युवा पुस्ताको भीडमा सबैभन्दा लामो समय टोलीमा रहन सक्ने खेलाडी भने सायद शुभमन गील नै हुने छन्।

सन् २०१८ मा भारतलाई यु-१९ विश्वकप जिताउने क्रममा गिलले ३७२ रन प्रहार गरेका थिए। त्यसै प्रदर्शनको आधारमा उनी प्लेयर अफ द टुर्नामेन्ट घोषित भएका थिए। २१ वर्षको उमेरमा त उनी भारतको सबै भन्दा आशा लाग्दा ब्याट्सम्यानको रुपामा आफूलाई स्थापित गर्न सफल भइसकेका थिए।

गिलको यो सफल यात्रामा कुशल अभिभावकत्वले पनि कम्ती काम गरेको थिएन। पन्जाबमा फिकालीमा जन्मेका उनको क्षमता देखेर बाबुले मोहालीमा लगेका थिए।

उनले १४ वर्ष नपुग्दै पन्जाबमा भएको एक यु-१६ प्रतियोगितामा ७३.४० को औसतले ७ सय ३४ रन रन प्रहार गरेका थिए। अर्को वर्ष उनले त्यसै प्रतियोगितामा ९२.५४ को औसतले १ हजार १८ रन प्रहार गरेका थिए। उनी २०१४-१५ र २०१५-१६ मा भारतका उत्कृष्ट यु-१६ क्रिकेटर घोषित भएका थिए।

पन्जाबको सिनीयर टोलीमा डेब्यु गर्न उनलाई लामो समय कुर्नु परेको थिएन। २०१६-१७ को सिजनमा उनले त्यहाँको सिनियर टिमबाट प्रतिनिधित्व गरेका थिए। २०१८ को आइपिएल अक्सनमा चार टोलीले उनमा चासो देखाए पनि कलकत्ता नाइट राइडर्स टोलीमा आबद्ध गराउन सफल भएको थियो।

सन् २०१८-१९ मा उनी दुई भ्रमणमा भरतमा समावेश भएका थिए। तर, उनी प्रति सबै आकर्षित हुने खेल भने २०१८-१९ को रणजी ट्रफी थियो।

गिलले न्युजील्यान्डविरुद्ध पाँच खेलको शृङ्खलाबाट अन्तर्राष्ट्रिय खेल जीवनको सुरुवात गरेका थिए। उनले पहिलो शृङ्खलाका ३ खेलमा सहभागिता जनाएका थिए। टेस्ट क्रिकेटमा सन् २०२० मा अष्ट्रेलियाको विरुद्धमा ब्याटिङ गर्दै डेब्यु गरेका हुन्। गिलले सन् २०१९ मा इमर्जिङ प्लेयरको उपाधि जितेका थिए।

सन् २००० मा जन्मिएका २२ वर्षीय रवि विस्नोइ पनि अहिले भारतीय टोलीमा लामो समय प्रभाव राख्न सक्ने खेलाडीको रूपमा स्थापित भएका छन्। उनले २०२२ को फेब्रुअरीमा इडेन गार्डेनमा वेस्ट इन्डिजविरुद्ध मैदानमा उत्रँदै टी २० मा अन्तर्राष्ट्रिय डेब्यु गरेका हुन्। त्यस यताका १० पारीमा उनले १६ विकेट लिइसकेका छन्।

सायद यी खेलाडी नै भारतीय क्रिकेटका सन् २०२० को दशकमा पुरै छाउन सक्ने छन्। स्रोत : इन्डियन एक्सप्रेस, एमपिएल लाइभ , क्रिकबज