मनोरञ्जन

गायक तथा संगीतकार खत्री वैवाहिक जीवनमा बाँधिए

By खबरहब

October 02, 2022

काठमाडौं– गायक तथा संगीतकार कमल खत्री वैवाहिक जीवनमा बाँधिएका छन् । आइतबार बडादशैंको फूलपातीको दिनको अवसर पारेर गायिका मेलिना मैनालीसँग गायक खत्रीले विवाह गरेका हुन्  ।

दुवै तर्फका परिवारका सदस्यहरुको उपस्थितिमा सामान्य तरिकाले आफूहरुले विवाह गरेको कमलले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । साथै विवाहमा लाग्ने खर्च गरिब तथा असहायलाई सहयोग गर्ने समेत नवविवाहित जोडीले घोषणा गरेका छन् ।

‘जीवनको हरेक उतारचढावमा सदैव एकअर्काको साथमा रहने वाचा गर्दै हामीले रीतिरिवाजअनुसार विवाह गरेका छौं । सबैमा विजया दशमीको शुभकामना,’ कमलले फेसबुकमा लेखेका छन् । उनले आफ्नो वैवाहिक कार्यक्रमको भिडियो समेत युट्युबमा सार्वजनिक गरेका छन् ।

कमल र मेलिनाले केही समयअघि इन्गेजमेन्ट गरेका थिए । उनीहरु केही वर्षदेखि प्रेम सम्बन्धमा थिए ।