फाइल फोटो

समाचार

व्यावसायिक सुन्तला खेतीप्रति आकर्षीत कृषक

By खबरहब

November 02, 2022

दिपायल– दिपायल र डोटीमा कृषकले व्यावसायिक सुन्तलाखेती बढाएका छन् । थोरै लगानीको सजिलो खेती र राम्रो आम्दानी हुने भएकाले अन्य पेसा-व्यवसायमा संलग्न व्यक्ति पनि व्यावसायिक सुन्तला खेतीमा सहभागी भएका छन् । यहाँका किसानले परम्परागतरुपमा गरिँदै आएको सुन्तला खेतीलाई व्यवसायीकरण गर्न थालेका छन् । डोटीको बडीकेदार गाउँपालिका-२ का तारा मटेलीले व्यावसायिकरुपमा सुन्तला खेती गर्दै आएका छन् । उनले आफ्नो जमिनमा सानाठूला गरी सुन्तलाका करिब पाँच सय बोट लगाएका छन् । 

बाबुबाजेले अन्नबाली लगाउँदै आएको जमिनमा चाहेजस्तो आम्दानी नभएपछि  सुन्तलालाई खेती गरी वार्षिकरुपमा सात लाखदेखि नौ लाखसम्म आम्दानी हुँदै आएको उनले बताए । 

विभिन्न निकायको सहयोगमा सुन्तलाखेती फस्टाउनसमेत सहयोग भएको उनको भनाइ छ । ‘फलफूल बिक्रीवितरणबाटै घरपरिवार चलाएको छु’, उनले भने, ‘राम्रो आम्दानी हुन थालेपछि यसलाई व्यवसायीकरण गरेको हुँ ।’ यस वर्ष भने असिनाले दानामा असर गर्दा उत्पादनमा कमी आउने उनको भनाइ छ ।

अन्य खेतीमा पटकपटक मेहनत गर्नुपर्ने भए पनि सुन्तलाखेतीमा वर्षका एक/दुईपटक मलजल गरेपछि राम्रै फल पाइने बडीकेदार गाउँपालिका–४ का किसान चक्र जेठराले बताए । उनले हाल बारीमा सानाठूला गरी सात सय वटा सुन्तलाका बोट रोपेको र वार्षिकरुपमा सात लाख आम्दानी गरिरहेको बताए । सडकको पहुँचबाट टाढा रहेको सो गाउँमा हाल उनले आफ्नो चार लाख लगानीमा सडक निर्माण गरी उत्पादन गरिएका सबै वस्तुले सहजरुपमा बजारमा लैजाने सकिरहेको बताए ।

स्थानीय स्थरमा उत्पादन गरिएका सबै वस्तुलाई बजारसम्म लैजान र बजारीकरण बनाउन पहल भइरहेको बडीकेदार गाउँपालिकाका अध्यक्ष भैरवबहादुर साउदले बताए । साथै स्थानीय सरकारले सडक नजोडिएको स्थानमा सडक जोड्ने र कृषि उत्पादन हुने क्षेत्रमा कृषि पकेट क्षेत्र बनाइ लगानी गर्ने उहाँको भनाइ छ  ।

यससँगै डोटीका जोरायल , बोगटान फुड्सिल  र बडीकेदार गाउँपालिकालाई सुन्तला जोन क्षेत्र घोषण गरिएको कृषि ज्ञानकेन्द्रका प्रमुख नरेन्द्र पनेरुले बताए । 

साथै यस क्षेत्रमा परम्परागतरुपमा रहेका सुन्तला खेतीलाई पछिल्लो समय व्यावसायिकीकरण गरिँदै आएको र यसलाई थप आधुनिकीकरणका लागि पहल भइरहेको उनले बताए ।