राजनीति

‘पूर्वाधार विकासमा बुटवलले असाधारण फड्काे मार्छ’

By खबरहब

November 02, 2022

बुटवल– पूर्वअर्थमन्त्री तथा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पूर्वाधार तथा विकासको क्षेत्रमा बुटवलले असाधारण फड्काे मार्ने दाबी गरेका छन् । सुरु गरिएका ठूला विकासका आयोजना सम्पन्न भएपछि यहाँको विकास मुलुककै लागि नमुना देखिने उनको दाबी छ । ठूला पूर्वाधार निर्माणका कामलाई कसैले पनि राजनीतिक रङ नदिएर सम्पन्न गर्दा यहाँका बासिन्दाको जीवनस्तरमा उल्लेख्य सुधार हुने उनले दाबी गरे ।

बुटवल-११ प्रगतिनगरमा बुधबार मतदाताहरूसँग अन्तरक्रिया गर्दै पौडेलले तिनाउ-दानव करिडोर निर्माण भएपछि बुटवल नमुना सहरको रूपमा विकास हुने दाबी गरे । करिडोर निर्माणको नाममा यहाँका कुनै पनि बासिन्दालाई विचलित नपारिने उनले स्पष्ट पारे । नदी नियन्त्रण गरी व्यवस्थित सहर निर्माण गर्ने उद्देश्यले करिडोर निर्माणको काम अघि बढाइएको बताउँदै उनले कोरिडोर क्षेत्रमा पर्ने घरपरिवारलाई समेत व्यवस्थित र सुरक्षित स्थानमा व्यवस्थापन गरिने बताए । 

एमाले पोलिटब्युरो सदस्य तथा लुम्बिनी प्रदेशका पूर्व मन्त्री लीला गिरीले एमाले सरकारमा सुरु गरिएका पूर्वाधार निर्माण र विकासका कामलाई पूर्णता दिन ४ मङ्सिरमा जनताले सूर्यमा मतदान गर्न आग्रह गरे । जनताको समस्या बुझ्न र विकासका लागि एमालेको नेतृत्व अनिवार्य रहेको बताउँदै उनले आगामी मङ्सिरमा जनताले एमालेकै पक्षमा फैसला गर्ने दाबी गरे ।