अन्तर्वार्ता

अनिन्द्रा र तनावले पनि टाउकोमा चाया पर्छ

By विना न्यौपाने

December 02, 2022

जाडो मौसममा अधिकांश मानिसको टाउकोमा चायाको समस्या हुन्छ । बढी चाया पर्ने समस्या रहेमा अरू मानिसका अगाडि लाजमर्दो अवस्था सिर्जना हुने, आत्मविश्वास कम हुने र आत्मबल कमजोर हुने जस्ता समस्याबाट चिन्तित हुनुपर्ने अवस्था पनि आउन सक्छ । टाउकोमा तेल रहँदा टाउकोको त्वचा चिल्लो हुन्छ, जसको कारणले कपालमा फोहोर जम्मा हुन्छ र यहीँ फोहोरले नै चायाको समस्या निम्त्याउँछ । जाडो बढेसँगै हाम्रो शरीरमा धेरै खालका समस्याले सताउँछन्, त्यसै मध्ये एउटा हो, टाउकोमा चाया पर्ने समस्या । यसै विषयमा केन्द्रित भएर छाला रोग विशेषज्ञ डा. सुदिप पराजुलीसँग खबरहबका लागि विना न्यौपानेले गरेको कुराकानीको सम्पादित अंश:

चिसो बढेसँगै टाउकोमा चाया पर्ने समस्यालाई हामीले कसरी बुझ्ने ? चाया पर्ने समस्या भनेको सामान्य अवस्थामा हुन्छ । यसलाई हामीले अंग्रेजीमा (सेबोरिक डेरमाटाइटिस) भन्छौँ र सामान्य भाषामा हामीले यसलाई चाया भन्छौँ ।चाया बच्चादेखि बुढो हुँदासम्म नै पर्दछ र यो विशेष गरी युवामा, वृद्धामा र जन्मने बित्तिकैका साना बच्चामा हुन्छ । यो एउटा त वंशाणुगत कारणले हुन्छ र त्यसैले जेनेटिक गुण अनुसार कसैमा धेरै हुन्छ र कसैमा कम हुन्छ ।

यो समस्या कुनै मान्छेलाई बढी र कसैलाई कम किन हुन्छ ? कुनै मान्छेमा व्याल्सहरु हुन्छ र त्यसले बढी चिल्लो आउँछ र कसैमा फंगल्लसको इन्फेक्सनले गर्दा चाया बढी हुन्छ । फंगल्लसको इन्फेक्सन अरूबाट सर्ने भन्दा पनि आफ्नै शरीरमा त्यो गुणले गर्दा आफै संख्या बढ्छ । कुनै मन्छेलाई एउटा इष्ट भन्ने फंगल्लस हुन्छ र त्यसले गर्दा शरीरले त्यसको विपरीत रियाक्सन देखाउँदा चाया आउने हुन्छ ।  चिसोमा हामीले बढी तनाव लिँदा आउँछ । ज्वरो आउँदा वा शरीरमा अन्य केही समस्या देखा परेको छ भने पनि चाया देखिन्छ ।

यो वंशाणुगत हुन्छ त ? हो, यो गुणमा नै भर पर्दछ । एउटै आमाबाबुको बच्चामा पनि कुनैमा बढी हुन्छ त कुनैमा कम हुन्छ । किनभने कुनैमा कुन बढी भयो कुनैमा कम भयो । गुणले हाम्रो शरीरमा कुनै रोग बनाउन महत्त्वपूर्ण भूमिका खेल्छ ।

चिसो मौसममा यो समस्याले सताउँदा के के कुरामा ध्यान दिने ? सबै भन्दा पहिला औषधि प्रयोग गरेर सबै चाया फाल्नु पर्ने हुन्छ । रोकथामको लागि त्यही औषधि छोटो समयको लागि प्रयोग गर्नुपर्ने हुन्छ । जस्तो: हाम्रो बानी के छ भने चायापर्यो, कपाल झर्छ भनेर नुहाउँदैनौँ सबै भन्दा राम्रो भनेको दैनिक रूपमा नुहाउनु पर्यो। औषधि भएको स्याम्पुहरू लगाएर नुहाउँदा कन्ट्रोल हुन्छ । कसै कसैलाई स्याम्पुले मात्र पुग्दैन खाने औषधि पनि चलाउनु पर्दछ । तर, छोटो समयको लागि त्यस्तो औषधि नखाँदा हुन्छ त्यसले पछि झन् बढाउने सम्भावना बढी हुन्छ ।

कस्तो स्याम्पुको प्रयोग गर्ने ? चायाको लागि हामीले जहिले पनि (जिंक अक्साइड र जिंक स्याम्पु ) वा जिंक भएको स्याम्पुको प्रयोग गर्न सक्छौँ र औषधि खान परेमा डाक्टरको सल्लाह र सिफारिस अनुसार नै लिनु उपयुक्त हुन्छ ।

टाउकोमा चाया परेर समयमा ध्यान दिएन भने पछि कुनै असर गर्छ कि ? धेरै चाया पर्यो भने टाउको बाहिरको छाला सुनिने प्रक्रियामा जान्छ र कपाल पातलिँदै जाने समस्या हुन्छ । युवा मान्छेलाई पनि अलि असर गर्दछ । अहिलेको जमानामा मान्छेहरू राम्रो भएर हिँड्न खोज्छन् र कपाल झर्दा मानिसको दैनिक जीवनमा नै असर पर्याउँछ । कपालमा चाया धेरै आउँदा हामी मेडिकल भाषामा (फोलिकुलाइटिस ) भन्छौँ त्यो भनेको कपालको जरा सुनिएर पिप आउँछ । त्यो चायाले गर्दा अनुहारमा रातो बिमिराहरू आउने, जिउमा पनि बिमिरा आउने हुन्छ र त्यसलाई नियन्त्रण गर्नुपर्छ ।

चाया पर्न नदिन पहिला नै केके कुरामा ध्यान दिने ? पहिला सुरुमा आफूमा चाया हुने वा नहुने गुण छ कि छैन थाहा पाउने,बाबा आमा कसैमा छ कि छैन ख्याल गर्ने,ज्वरो आएको बेला पनि बढ्न सक्छ, चिन्ता लिँदा पनि चायाँ धेरै पर्दछ । त्यसैले समय समयमा नुहाइरहने र हाइजेन मेन्टेन गर्ने ।

चाया धेरै भयो भनेर टोपी लगाइराख्दा त्यसले असर गर्छ कि गर्दैन ? यसको अध्ययन भएको छैन, तर हामी भन्छौ टोपी लगाउला त्यसले गुम्स्याउँछ र झन् धेरै चाया पर्न सक्छ । त्यसैले टोपी र स्याम्पुको प्रयोग कम गर्ने । भर्खर जन्मेको बच्चामा चायाँ पर्यो भने तोरीको तेलको प्रयोग नगर्ने, सबैले तोरीको तेलको प्रयोग नगर्ने ।

तेलको सट्टामा के प्रयोग गर्ने त ? समयमा ख्याल गर्यो भने चाया छोटो समयमा नै निको भएर जान्छ ।

सबैमा के सन्देश दिन चाहनु हुन्छ ? चाया भनेको एउटा इष्ट भन्ने फंगल्सको कारणले हुन्छ । धेरै चिन्ता लिँदा, निन्द्रा नपुग्दा पनि चाया आउँछ । त्यसैले जिंकहरु भएको स्याम्पुको प्रयोग गर्ने त्यति गर्दा पनि भएन भने डाक्टरको परामर्श लिएर औषधि खानु होला भन्न चाहन्छु ।

(प्रस्तुति : पुष्पाञ्जली बस्नेत)