सांकेतिक तस्बिर

अपराध

कम्बोडिया पठाइदिन्छु भन्दै लाखौँ रुपैयाँ ठगी गर्ने पक्राउ

By खबरहब

December 02, 2022

काठमाडौँ- वैदेशिक रोजगारका लागि कम्बोडिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा खोटाङ दिक्तेल रुपाकोट मझुवागढी–१० का २७ वर्षीय रामकृष्ण आचार्य रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

सामाजिक संजालको माध्यामबाट पीडितहरुसँग सम्पर्क गरी आफू कम्बोडियास्थित होटेलमा सेक्युरिटी गार्डका रुपमा काम गरिरहेको भन्दै उनले २३ लाख ९७ हजार ठगी गरेको प्रहरीले जनाएको छ ।

कम्बोडियाको आकर्षक तलब सुविधासहितको सेक्युरिटी गार्डमा काम मिलाइदिने बहानामा आचार्यले प्रोसेसिङका लागि भन्दै पीडितबाट २३ लाख ९७ हजार बैंकमा जम्मा गर्न लगाएर ठगी गरेका हुन् ।

प्रहरीका अनुसार उनले विभिन्न व्यक्तिहरुको नाममा संचालित बैंक खातामा पैसा जम्मा गर्न रकम जम्मा गर्न लगाएका थिए ।

पक्राउ परेका आचार्यलाई ठगीसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान एवं कारवाहीको लागी जिल्ला प्रहरी परिसर, टेकु काठमाडौंमा पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।