फाइल तस्वीर

अन्तर्राष्ट्रिय

१५ लाख विदेशी पर्यटक भित्र्याउने श्रीलङ्काको लक्ष्य

By खबरहब

December 02, 2022

काठमाडौँ- श्रीलङ्काले आगामी वर्ष करिब १५ लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । त्यसैगरी सन् २०२४ मा ३० लाख पर्यटक भित्र्याउने लक्ष्य लिइएको पनि श्रीलङ्काली पर्यटनमन्त्रीले जनाएका छन् ।

पछिल्ला केही महिनामा पर्यटक आगमनमा सुधार आएको पर्यटनमन्त्री हरिन फर्नान्डोले स्थानीय सञ्चारमाध्यमलाई जानकारी दिएका छन् । उनले थुप्रै एयरलाइन्सले मुलुकमा उडान सुरु गर्ने योजना बनाएको पनि बताए ।

पर्यटन क्षेत्र श्रीलङ्काको विदेशी मुद्रा आर्जनको महत्वपूर्ण स्रोत हो । तर कोरोना महामारी र देशमा जारी आर्थिक एवं राजनीतिक सङ्कटका कारण पर्यटन व्यवसायमा झड्का लागेको छ ।

श्रीलङ्कामा पर्यटन क्षेत्रको गतिविधि केही हदसम्म सकारात्मक दिशामा अघि बढेको छ । श्रीलङ्काको छिमेकी देश माल्दिभ्सले विगत महिनादेखि मासिक एक लाखभन्दा बढी पर्यटकहरूलाई स्वागत गर्दै आएको छ तर श्रीलङ्कामा भने पर्यटक आगमन ३० हजार देखि ६० हजारमा सीमित रहेको आधिकारिक तथ्याङ्कले देखाएको छ ।