राजनीति

सत्ता गठबन्धनको बैठक बस्दै

By खबरहब

January 03, 2022

काठमाडौँ– राष्ट्रियसभा सदस्यको निर्वाचनमा उम्मेदवार छान्नका लागि सत्ता गठबन्धनको बैठक बस्दैछ।

बैठक आज (सोमबार) बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो। बैठकले राष्ट्रियसभाको १९ सीटका लागि साझा उम्मेदवार टुंगो लगाउने बताइएको छ। केही समय यता सत्ता गठबन्धनको बैठक बस्न सकेको थिएन।

यसअघि मंसिर ४ गते सत्ता गठबन्धनका दलसहित संसदमा प्रतिनिधित्व गर्ने दलहरुको सर्वदीय बैठक बसेको थियो । तर उक्त छलफलमा प्रमुख प्रतिपक्षी नेकपा एमाले भने अनुपस्थित रहेको थियो ।

सत्ता गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय जनमोर्चा रहेका छन् ।

राष्ट्रियसभामा एमालेबाट ८, कांग्रेसबाट ३, माओवादी केन्द्र र एकीकृत समाजवादीबाट ४–४ स्थान रिक्त हुँदैछ।

राष्ट्रपतिबाट मनोनित हुने एक स्थान बाहेक १९ सिटका लागि यही माघ १२ गते चुनाव हुँदैछ।