राजनीति

पाँच दलीय गठबन्धनका कारण मुलुक अप्ठ्यारोमा पुग्यो : ओली (भिडियो)

By खबरहब

January 03, 2022

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धनका कारण मुलुक अप्ठेरो अवस्थामा पुगेको आरोप लगाएका छन्।

नेपाल जनसांस्कृतिक महासंघको ३५औं स्थापना दिवसका अवसरमा सोमबार काठमाडौंँमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले पाँच दलीय गठबन्धनको सरकार बनेपछि मुलुकमा बिकास योजना अवरुद्ध भएको, बैंकहरु रित्तिएको र राज्यको ढुकुटीमा समस्या आएको आरोप लगाउँदै सम्रग मुलुक अप्ठेरो अवस्थामा पुगेको टिप्पणी गरे।

अध्यक्ष ओलीले मुलुकमा एमाले नेतृत्वको सरकारले विकास र समृद्धिको लहर ल्याएकाले नियोजित ढंगले आफूलाई सरकारबाट हटाइएको जिकिर गरे।

कार्यक्रममा अध्यक्ष ओलीले ६४ प्रतिशत मत भएको कम्युनिष्ट सरकार ढालेर विपक्षीको सरकार बनाउने माओवादीले समाजवादको कुरा गर्न नसुहाउने धारणा राखे। माओवादी महाधिवेशनमा अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन झुटको पुस्तक भएको उनले टिप्पणी गरे । उनले गठबन्धनको साझा कार्यक्रमको कुनै अर्थ नभएको बताए । आफूलाई वामपन्थी नभएर रामपन्थी भनेको प्रति ओलीले नेकपाबाट छुट्टिएका केही व्यक्तिले मार्क्सवाद नै नबुझेको उल्लेख गरे ।