समाचार

मोटरसाइकल चोरीमा संलग्न दुई जना पक्राउ

By खबरहब

February 03, 2022

काठमाडौँ– राजधानीमा मोटरसाइकल चोरी गरी नक्कली नम्बर प्लेट राखेर चलाइरहेको अवस्थामा दुई जना पक्राउ परेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट खटिएको ट्राफिक प्रहरीको टोलीले गोकर्णेश्वर र ललितपुरको सानेपाबाट २ वटा मोटरसाइकलसहित २ जनालाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा सुर्खेत वीरेन्द्रनगर घर भई हाल चाबहिल बस्ने २३ वर्षीय सौरभ महतरा र सिन्धुपाल्चोक पाँचपोखरी थाङपाल गाउँपालिका बस्ने १८ वर्षीय समिर तामाङ् रहेको ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेश राज जोशीले जानकारी दिए ।

तामाङ्ले वास्तविक नम्बर बा. प्र. ०२, ०२९ प ५२०९ भएको मोटरसाइकलमा बा. प्र. ०२, ०२५ प १३१८ नक्कली नम्बर प्लेट राखेका थिए । त्यस्तै, बा. ९८ प ७९६१ नम्बरको मोटरसाइकलसहित पक्राउ परेका महतराले बा. ९९ प ४८८२ नम्बरको मोटरसाइकलको नम्बर प्लेट परिवर्तन गरी प्रयोग गर्दै आएका थिए ।