कैलाली– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले देशको संघीयस्वरूप अनुरूप आम नागरिकलाई बिमाको दायरामा ल्याउन ठोस कानुनी व्यवस्था आवश्यक रहेको बताएका छन् ।
बिमा समितिले बुधबार धनगढी गरेको सुदूरपश्चिम प्रदेश सरकारसँग बिमासम्बन्धी अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री भट्टले यस्तो बताएका हुन् ।
उनले सुदूरपश्चिम प्रदेशमा बिमा समितिले प्रदेश कार्यालय स्थापना गर्न लागेकोमा खुशी व्यक्त गर्दै बिमाको बारेमा फरक–फरक बुझाइमा एकरूपता कायम गर्न बिमासम्बन्धी जनचेतनामुलक कार्यक्रम संचालनलाई व्यापकता दिनुपर्ने पनि बताए ।
कार्यक्रममा बिमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले जनतालाई बीमाको दायरामा ल्याउन प्रदेश सरकारले आर्थिक सहायता एवम् अनुदानको व्यवस्था गर्नुपर्ने बताए । कार्यक्रममा बिमासम्बन्धी जानकारीमुलक कार्यपत्र प्रस्तुत गर्दै बिमा समितिका निर्देशक पुजन ढुङ्गेल (अधिकारी) ले बिमा दाबी भुक्तानीलाई छिटोछरितो रूपमा सहज बनाउनुपर्ने बताए ।
कार्यक्रममा सुदूरपश्चिम प्रदेश सरकारका मन्त्री र प्रदेश मन्त्रालयका सचिवहरू, बिमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेल, कैलालीका प्रमुख जिल्ला अधिकारी, बिमा कम्पनीहरू मेट लाइफ र नेको इन्सुरेन्सका प्रमुख कार्यकारी अधिकृतलगायतको उपस्थिति थियो ।