क्रिकेट

विराट कोहलीको नटआउट टेस्ट १००*

By एसेन्स श्रेष्ठ

March 03, 2022

काठमाडौँ : भारत र श्रीलंकाबीच शुक्रबार पहिलो टेस्ट हुँदैछ । भारत भ्रमणमा रहेको श्रीलंकन टोलीले शुक्रबार भारतविरुद्ध टेस्‍ट खेल्नेछ । पन्जाबको मोहालीस्थित पीसीए रंगशालामा हुने यो खेलमा विश्वभरका लाखाैँ क्रिकेटप्रेमीको नजर छ । ५० प्रतिशत मात्रै दर्शकलाई प्रवेश दिइने यो खेल विशेष कारणले पनि अहिले चर्चा, बहस र विवादको फेरोमा छ ।

जहाँ क्रिकेटका वर्तमान बादशाह विराट कोहली आफ्नो क्रिकेट करियरको १०० औँ टेस्ट खेल्दैछन् । कोहलीलाई विश्वभर क्रिकेट महानताको रुपमा लिइन्छ, जसले टेस्ट क्रिकेटलाई नयाँ जीवन दिएका छन् । अनि क्रिकेट हेर्ने दर्शकलाई पनि जित र हारभित्रको वास्तविक क्रिकेट खेल पस्केका छन् ।

करिब करिब चार दिनमा सीमित भएर टेस्ट क्रिकेटको भविष्य समेत खुम्च्याउन लागेका बेला विराटले नै आफ्नो खेल कौशल, टिम स्प्रिट र नयाँ पुस्ताको खेलाडीको उम्दा प्रदर्शनले टेस्ट क्रिकेटलाई नयाँ उचाई दिलाउन सफल भएका हुन् ।

भारतका सर्वाधिक सफल टेस्ट कप्तान कोहलीले १०० औँ टेस्ट क्रिकेट खेल्दा यति धेरै चाँसो, चिन्ता, उत्साह, उमंग र उचाईको एक सुपरस्टारको वास्तविक खेल जस्तो भइरहेको छ । यसअघि सायदै क्रिकेटरले यस्ताे सम्मान र सद्भाव पाउँथे । तर यसमा सचिन तेन्दुलकर आउँदैनन् ।

विराटको क्रिकेट करियरमा पछिल्लो समय घृणित राजनीतिले पनि ठाउँ लिन थालेको छ । यसअघि विराटको १०० औँ टेस्ट खेल बेंगलुरुमा खेलाउने तयारी थियो । तर त्यो ठाउँ रद्द गरियो । पछि बीसीसीआईले यो खेल कोलकत्तामा खेलाउने भन्यो । त्यो ठाउँमा पनि रद्द गरियो ।  अहिले यो खेल पञ्जाबको मोहालीमा राखियो ।

यसमा ठूलो राजनीति मिसिएको भारतीय स्वतन्त्र क्रिकेट विश्लेषकहरु बताउन थालेका छन् । कोभिडका कारण खेल दर्शकविनाको रंगशालामा खेलाउने तयारी थियो । तर खेलको तीन दिन अगाडि भारतीय क्रिकेट बोर्ड बीसीसीआईले दर्शकको उपस्थिती निश्चित गरेको छ। विराट जस्‍ता खेलाडीकाे सम्मानमा बाेर्ड चुक्न नहुने भन्दै दबाब बढेपछि बीसीसीआईले बुधबार राती मात्रै विराटकाे १०० टेस्ट‍ क्रिकेट विशेष हुने बताएकाे छ । जहाँ सचिन, द्रविड, सेहवाग र साैरभ गांगुलीले विराटकाे सफलतामा केही शब्‍द खर्च गरेका छन् ।

‘विराट कोहलीको सयौँ टेस्ट क्रिकेट ऐतिहासिक हुने भएकोले क्रिकेट प्रेमीलाई रंगशालामा उपस्थित गराउने निर्णय गरेका छौँ’ बीसीसीआईका सचिव जय सिंहले वक्तव्यमा भनेका छन् ।

भारतको लागि एक सयौँ टेस्ट क्रिकेट खेल्ने विराट १२ औं क्रिकेटर हुनेछन् । ३३ वर्षीय यी ब्याटरले टेस्ट क्रिकेटमा २७ शतक बनाइसकेका छन् । जुन वर्तमान विश्वका अर्का उत्कृष्ट ब्याटर स्टिभ स्मिथको बराबरी हो । अनि सचिनभन्‍दा पछि । सचिनले ५१ शतक बनाएका छन् ।

तर उनी सर्वाधिक दाेहाेराे शतक हान्ने वर्तमान विश्व क्रिकेटका एक मात्रै कप्तान र ब्याटर हुन् । उनको नाममा सर्वाधिक ७ दोहोरो शतक छन् । जुन उनका लागि सबै टेस्ट क्रिकेटमा सम्भव भएका दोहोरो शतक हुन् ।

भारतका लागि सचिन तेन्दुलकरले सर्वाधिक २०० टेस्ट क्रिकेट खेलेका थिए । भारतीय क्रिकेट टोलीका मुख्य प्रशिक्षक राहुल द्रविडले आफ्नो करियरमा भारतका लागि १ सय ६३ टेस्ट खेलेका छन् ।

पूर्व कप्तान कपिल देवले १ सय ३१ टेस्ट खेलमा र सुनिल गावास्करले १ सय २५ टेस्ट खेलमा भारतको प्रतिनिधित्व गरेका थिए । पूर्व कप्तान महेन्द्र सिंह धोनीले भने भारतको लागि ९० टेस्ट खेल खेलेका थिए ।

कोहली भारतका लागि सर्वाधिक सफल टेस्ट कप्तान हुन् । उनले ६८ टेस्ट खेलमा भारतलाई ४० जित दिलाएका छन् । जुन भारतीय टिममा सर्वाधिक हो । पूर्व कप्तान धोनीले भने २७ टेस्ट जितेका थिए ।

शान्त शैलीमा खेलिने टेस्ट खेललाई विराटले आक्रामक र विस्फोटक बनाउन उल्‍लेख्‍य याेगदान दिएका छन् । टेस्ट क्रिकेटलाई विश्व जगतमा पुनः स्थापित र रोमाञ्चक बनाउन विराटले महत्वपूर्ण योगदान दिएको क्रिकेट पण्डितहरुले बताउँदै आएका छन् ।

सोही कारण पनि विराटको १०० औँ टेस्ट खेललाई दर्शकले रुचाउने गरेका छन् । बीसीसीआईले दर्शकलाई टेस्ट खेलमा उपस्थित हुने अनुमति दिएसँगै भारतीय क्रिकेट प्रेमीहरुमाझ थप उत्साह थपेको छ । विराटको सयौँ टेस्ट खेलको लागि धेरै भारतीय दर्शकले सामाजिक सञ्जाल ट्वीटरमा उत्साहजनक रोमाञ्चकता मनाइरहेका छन् ।

कोहलीले सन् २०११ मा वेष्ट इण्डिजविरुद्ध किंगस्टोनमा भारतीय टिमका लागि डेब्यु गरेका हुन् । त्यसपछि सन् २०१४ मा उनले भारतीय टेस्ट टिमको कप्तानी पाए । धोनीले अचानक टेस्ट क्रिकेटबाट सन्यासको घोषणा गरेपछि कोहलीले कप्तानी सम्हालेका हुन् ।

कप्तान भएपछि कोहलीले लगातार पाँच वर्ष भारतलाई टेस्ट क्रिकेटको नम्बर एक टिम बनाएका थिए । जुन सर्वाधिक सफलता हो । अनि कोहली स्वयंम पनि झण्डै दुई वर्ष नम्बर एक ब्याटर बने । कप्तानका रुपमा कोहलीले झण्डै ५ हजार रन बनाएका छन् ।

समग्रमा कोहलीले टेस्टमा ७ हजार ९ सय बढी रन बनाएका छन् । सर्वाधिक टेस्ट रन बनाउनेमा विराट सातौ भारतीय ब्याटर हुन् । गएको वर्ष मात्रै टेस्ट क्रिकेटको कप्तानी छाडेका कोहली अझै एक दशक क्रिकेट खेल्न सक्ने अनुमान छ ।

जुन समय उनले सचिन तेन्दुलकरको सर्वाधिक १०० शतक बनाउने कीर्तिमान पनि भंग गर्ने अनुमान छ । उनी हार्न थालेपछि निकै निराश हुने गर्छन् । तर जित्न थालेपछि अत्याधिक खुशी हुने बानीले पनि उनी सर्वाधिक रुचाइने खेलाडीमा पर्छन् ।

गएको महिना मात्रै दक्षिण अफ्रिका टेस्ट सिरिज गुमाएपछि कोहलीले ट्वीटरमार्फत अचानक कप्‍तानीबाट राजीनामा दिएकाे पत्र बीसीसीआई समक्ष राखिदिएका थिए । पछिल्लो दुई वर्षयता खासै फर्ममा नरहेका कोहलीले शतक बनाउन सकेका छैनन ।

उनले आफ्नो १०० औँ खेलमा शतक बनाउन सक्ने अनुमान गरिएको छ । भारतमै खेलेका दुई देशसँगको सिरिजमा पनि विराटले उल्लेख्य प्रदर्शन गर्न सकेनन् । यी यावत चुनौतिबीच पछिल्लो तीन वर्षदेखि शतकविहीन रहेका कोहलीले आफ्नो १०० औँ टेस्ट क्रिकेट स्मरणीय मात्रै होइन, ऐतिहासिक बनाउने चाहना फ्यानले राखेका छन् ।