दोहा – आममाफीबाट कतारमा १४ हजारभन्दा बढी व्यक्ति लाभान्वित भएका छन् ।
कतारले आफ्नो गैरकानुनी अवस्था सच्याउनका लागि गत वर्ष १० अक्टोबरदेखि आममाफीको घोषणा गरेपछि हालसम्म २८ हजार ४७६ भन्दा बढी श्रमिकहरुको अनुरोध प्राप्त गरेको यहाँको आन्तरिक मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले सच एण्ड फलो विभागमा गरेको पत्रकार सम्मेलनमा अहिलेसम्म ८ हजार २२७ जना स्वदेश फर्किएका र ६ हजारले कागजपत्र नियमित गराएर वैधानिकता लिएको जानकारी दिएको छ ।
मन्त्रालयका अनुसार आममाफी अवधिका लाभग्राहीलाई स्वदेशभित्र रहेको अवस्थामा कानुनी हैसियत सच्याउन र सच्याउन नसके देश छाड्न समेत सबै सुविधा उपलब्ध गराउने जनाएको छ ।
कम्पनी तथा कामदारको हैसियतलाई वैधानिकता प्रदान गर्नका लागि कम्पनी तथा श्रमिकलाई फरार रकममा ५० प्रतिशत कटौती गरी लाभान्वित हुने कम्पनीका सञ्चालक र वैदेशिक रोजगारीमा जाने कामदारको हितलाई ध्यानमा राखी यो कार्यविधि भित्रिएको मन्त्रालयले जनाएको छ ।
कतार सरकारको यो निर्देशन २०१५ को कानुन नं २१ को प्रावधान अन्तर्गत आप्रवासीहरुको बसाई तथा बाहिरिने नियम अन्तर्गत जारी गरिएको हो । कानूनको व्यवस्था मिचेर स्वदेशमा बस्ने आप्रवासीहरुको अवस्थालाई वैधानिकीकरण गर्नु रहेको मन्त्रालयले जनाएको छ ।
आममाफीको अवधि अवधि मार्च ३१, २०२२ सम्म थप गरिएको छ । कतार सरकारले आममाफीको समय अवधि थप भएसँगै यहाँ गैरकानुनी रुपमा बसेका थुप्रै नेपाली कामदारहरु लाभान्वित हुने अपेक्षा गरिएको छ।
कतारमा अहिले ३ लाख १२ हजार ६५० नेपाली कानुनी रुपमा कार्यरत छन्। जसमा ११ हजार ९० जना महिला पनि कार्यरत छन् ।