आइतबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो मुलुकको परमाणु हतियार सम्मिलित प्रतिरोधक बललाई विशेष भूमिकामा सक्रिय रहन निर्देशन दिए। युक्रेनमा आक्रमण सुरु गरेलगत्तै यसअघि नै पुटिनले रुसी योजनामा हस्तक्षेप गरेको खण्डमा कुनै पनि देशले ‘इतिहासमै नदेखेको’ परिणाम व्यहोर्ने धम्की दिएका थिए।
परमाणु सतर्कताबारे निर्देशन दिनेक्रममा पुटिनले भनेका थिए, ‘प्रमुख नेटो राष्ट्रका उच्च अधिकारीले हाम्रो देशबारे उत्तेजित टिप्पणी गरेका छन्, त्यसैले म सेना र रक्षा मन्त्रालयलाई रुसी सेनाको प्रतिरोधक बललाई तयारी अवस्थामा रहन निर्देशन दिन्छु।’
तर, युक्रेनमाथि आक्रमण जारी रहेको बेला पुटिनले परमाणु हतियार सहितको प्रतिरोधक बललाई सक्रिय रहन दिएको आदेश भने केही भिन्न छ। पश्चिमा मुलुकका धेरै विश्लेषकलाई पुटिनले युक्रेनलाई थर्काउन र युक्रेनी फौजको मनोबल गिराउनका लागि आणविक हतियारको धम्की दिएका हुन् भन्ने लागेको छ।
पश्चिमा मुलुकका विशेषज्ञ र सुरक्षा अधिकारीले भने पुटिनले दिएको निर्देशन अस्पष्ट भएको बताएका छन्। बीबीसीका अनुसार पुटिनको पछिल्लो आदेशको आशय रुसी परमाणु सतर्कताको स्तरसम्बन्धी बेलायती अधिकारीको बुझाइसँग मिल्दो छैन।
केहीले रुसी परमाणु हतियार सतर्कताको सबैभन्दा तल्लो स्तर ‘नियमित’भन्दा एक तहमाथि ‘उच्च’मा पुर्याउन पुटिनले निर्देशन दिएको शैलीमा विश्लेषण गरेका छन्। क्रमशः ‘नियमित’, ‘उच्च’, ‘सैन्य खतरा’ र ‘पूर्ण’ गरी रुसी परमाणु सतर्कताका चार तह छन्।
बेलायती रक्षामन्त्री बेन वालेसले पुटिनको घोषणालाई सर्वसाधारणलाई उत्तेजित बनाउनका लागि दिइएको भाषण बाजीको संज्ञा दिएका छन्। यद्यपि जोखिम नै नभएको अर्थमा यसलाई बुझ्न नहुने बीबीसीका सुरक्षा संवाददाता गोर्डन कोरेरा बताउँछन्। उनका अनुसार नेटोलाई युक्रेनमा जारी युद्धमा प्रत्यक्ष रुपमा संलग्न नहुनका लागि चेतावनी दिनका लागि पनि पुटिनको नयाँ निर्देशन आएको हुनसक्छ।
रुसको आणविक नीति शीत युद्धको क्रममा तत्कालीन सोभियत संघले आणविक हतियारको ‘पहिले प्रयोग नगर्ने’ नीति अख्तियार गरेको थियो। यद्यपि ९० को दशकमा रुसले स्थानीय युद्ध वा सार्वभौमिकतामाथि जोखिम अनुभव गरेको खण्डमा आणविक हतियार प्रयोग गर्नसक्ने नीति लिएको थियो। त्यस्तै, सन् २०२० जुनमा पुटिनले नयाँ प्रतिरोध रणनीतिको सार्वजनिक गर्दै रुसमाथि गैर आणविक हतियार प्रयोग भएमात्रै पनि रुसले आणविक हतियारको प्रयोग गर्नसक्ने घोषणा गरेका थिए।
खतरा कति ? आम्र्स कन्ट्रोल एसोसिएसनका अनुसार रुससँग विश्वमै सबैभन्दा धेरै करिब ६२५० आणविक हतियार छन् भने दोश्रो धेरै अमेरिकासँग ५ हजार ५०० आणविक हतियार छन्। त्यसबाहेक फ्रान्स, बेलायत, भारत, चीन पाकिस्तान र उत्तर कोरियासँग पनि आणविक हतियार छन्। त्यस्तै, इजरायलसँग पनि आणविक हतियार रहेको विश्वास गरिन्छ। यद्यपि इजरायलले आफूसँग आणविक हतियार रहेको स्वीकार भने गरेको छैन।
ठूलो परिमाणमा आणविक हतियार रहेको भए पनि अमेरिका र रुस दुबै मुलुकका अधिकांश आणविक हतियारलाई दुश्मनविरुद्ध आक्रमण गर्नका लागि तैनाथ भने गरिएको छैन।
बीबीसीका सुरक्षा संवाददाता कोरेराका अनुसार पश्चिमा मुलुकका सुरक्षा अधिकारीले पनि पुटिनको आणविक धम्कीलाई गम्भीरतापूर्वक लिएका छैनन्।
गत सोमबार ‘आणविक युद्धबारे अमेरिकी चिन्तित हुनुपर्ने अवस्था कति छ ?’ भन्ने पत्रकारको प्रश्नमा अमेरिकी राष्ट्रपति जो बाइडनले ‘छैन’ भन्ने जवाफ दिएका थिए।
त्यस्तै, ह्वाइट हाउसकी प्रवक्ता जेन साकीले ‘रुसले आणविक हतियारको स्तर परिवर्तन गर्नुपर्ने कुनै कारण नभएको’ बताएकी थिइन्।
हार्डवर्ड केनेडी स्कूलका प्राध्यापक तथा पूर्व राष्ट्रपति बिल क्लिन्टनको ‘विज्ञान तथा प्रविधि नीति सम्बन्धी कार्यालय’का सल्लाहकार म्याथ्यु बन भन्छन्, ‘मेरो विचारमा युक्रेनका विषयमा आणविक हतियारको प्रयोग हुने सम्भावना शून्य छ।’ उनको विचारमा अमेरिका र नेटोका सदस्य राष्ट्रले युक्रेनमा सेना नपठाउने भएपछि आणविक युद्धको सम्भावना पनि नरहेको हो। ‘नेटोको सैनिक चुनौती नहुँदा पुटिनले आणविक हतियारको प्रयोग गर्नुको औचित्य पनि छैन।’
आणविक युद्धबाट विश्वलाई केले रोकिरहेको छ ? ‘आणविक हतियारको विनाशकारी शक्तिको भौतिक वास्तविकताले ठूलो डर पैदा गर्छ’, बन भन्छन्। आणविक प्रतिरोध (अर्थात् आणविक युद्ध हुने खतराका कारण एक आणविक शक्ति सम्पन्न मुलुकले अर्को आणविक मुलुकमाथि आक्रमण नगर्ने सिद्धान्त) शीतयुद्धका क्रममा अमेरिकी विदेश नीतिको प्रमुख भाग थियो।
तर, आणविक प्रतिरोधले मात्रै सबै युद्धको अन्त्य गर्छ भन्ने होइन। अमेरिकासँग रहेको आणविक हतियारले मात्रै ‘हामीलाई भियतनाममा सहयोग गरेन, हामीलाई इराकमा सहयोग गरेन, अफगानिस्तानमा सहयोग गरेन’, बन भन्छन्। ‘अमेरिकाले सामना गरिरहेका अधिकांश सुरक्षा चुनौतिका लागि आणविक हतियार उपयोगी छैनन्।
शीत युद्धयता आणविक प्रतिरोधले युरोपेली मुलुकका सीमाना नै परिवर्तन हुनेखाले चुनौति टार्ने आत्मविश्वास थियो। तर, युक्रेनी संकटले यो सिद्धान्तलाई पनि चुनौति दिएको बोस्टन विश्वविद्यालयका वरिष्ठ प्राध्यापक पउल हारे बताउँछन्। ‘आणविक प्रतिरोधको विश्वसनीयताको परीक्षण नभएको दशकौँ भइसक्यो’, हारे भन्छन्, ‘यस्तो लाग्दैछ कि हावामा विश्व व्यवस्थाको धज्जी उडिरहेको छ। यो युद्ध सुरक्षाका दृष्टिले अझ धेरै जोखिममा रहेका बाल्टिक देशमाथि आक्रमणको पूर्वसन्ध्या हो या युक्रेन लिएर पुटिन सन्तुष्ट हुन्छन ?’
युरोपमा अमेरिकी आणविक हतियार आम्र्स कन्ट्रोल एसोसिएसनका अनुसार जर्मनी, इटाली, टर्की, बेल्जियम र नेदरल्याण्ड्सका नेटो अखडामा करिब एक सय आणविक हतियार छन्। यद्यपि युरोपमा रहेका अमेरिकी आणविक हतियार तयारी अवस्थामा नरहेको र तिनलाई भूमिगत रुपमा भण्डारण गरिएको बताइएको छ।
यसअघिका आणविक धम्की कसैले अर्को मुलुकविरुद्ध आणविक हतियार आक्रमणको धम्की दिएको यो पहिलो घटना भने होइन। सीएनएनका अनुसार दोश्रो विश्वयुद्ध यता विश्वमा १७ पटक आणविक आक्रमणको धम्की दिइएको छ। उदाहरणका लागि सन् १९५९ मा तत्कालीन सोभियत संघका नेता निकिता ख्रुश्चेभले अमेरिकी राजदूतसँग ‘रुसी क्षेप्यास्त्रले युरोपलाई नै ध्वस्त पारिदिने कुरा पश्चिमा मुलुकले बिर्सेको’ टिप्पणी गरेका थिए।
अर्को उदाहरण पूर्वअमेरिकी राष्ट्रपति रिचर्ड निक्सनले विदेश नीतिमा बौलाहा सिद्धान्त (म्याड म्यान थ्यौरी) को प्रयोग गर्दै तत्कालिन उत्तर भियतनामीलाई सुनाउनका लागि आफ्ना साझेदारलाई ‘जब उहाँ रिसाउनुहुन्छ, हामी रोक्नै सक्दैनौँ, उहाँको हात आणविक हतियार प्रहार गर्ने बटममा छ।’ भन्ने टिप्पणी गर्न लगाएका थिए।
आणविक धम्कीले काम गर्छन् ? आणविक हतियार विशेषज्ञ भने आणविक धम्कीले काम गरेको उदाहरण नरहेको बताउँछन्। ‘न्युक्लियर वार एण्ड कोअर्सिभ डिप्लोमेसी’ पुस्तकका सहलेखक म्याथ्यु फ्युहरमान भन्छन्, ‘आणविक युद्धको धम्की देखाएर अरुलाई हेप्ने प्रयासको रेकर्ड राम्रो छैन।’
‘ख्रुश्चेवले बर्लिनलाई दिएको धम्कीजस्तै धेरै आणविक धम्की नराम्ररी विफल भएका छन्।’ उनका अनुसार ५० को दशकमा चीन र अमेरिका बीच ताइवानका विषयमा बढ्दो तनावका क्रममा अमेरिकाले आणविक धम्की दिएको थियो। उनी भन्छन्, ‘तर आणविक धम्कीले मात्रै निर्णायक भूमिका खेलेन।’
आणविक युद्धको सम्भावना ‘आणविक आक्रमणको धम्की दिँदैमा उनको केही जाँदैन। तर, आणविक हतियारको प्रयोग गर्दा भने उनको सबैकुरा जान्छ।’ युरोपमा अमेरिकी सेनाका पूर्व कमाण्डर अ.प्रा. लेफ्टिनेन्ट जनरल बेन होज भन्छन्।
‘कि त पुटिनलाई मतलब नै छैन कि त उनी वास्तविकता भन्दा धेरै टाढा छन्।’ आणविक हतियारको खतरा निर्मूल पार्ने अभियानमा संलग्न संलग्न प्लोशेयर्स फण्डका टम कोलिना भन्छन्, ‘आफूले चालेको कदमबाट कस्तो परिणाम आउँछ भन्नेबारे उनी जानकार छन् ?’
‘न्युक्लियर वार एण्ड कोअर्सिभ डिप्लोमेसी’ पुस्तककै अर्का सहलेखक टड शेसर भने पुटिनले परिणामको वास्तै नगरी आणविक आक्रमणको धम्की दिएको ठान्छन्। ‘रुसले सबै पासा फ्याँकिसकेको छ र संकटलाई आफ्नो स्वार्थ अनुकूल समाधा नगर्न अब धेरै औजार नै बाँकी छैन। आणविक धम्की धेरै विचार गरेर चालिएको सामरिक कदमभन्दा पनि कुण्ठित कार्यजस्तो देखिन्छ।’
शेसर भन्छन्, ‘यदी आर्थिक प्रतिबन्ध लगाउन वा युक्रेनलाई गर्दै आएको सहयोगबाट हात झिक्नका लागि अमेरिकी र युरोपलाई दबाब दिन आणविक धम्की दिइएको हो भने यो असफल भइसक्यो। यो कदमले अरु केही नभए पनि रुसप्रति मानिसको विचार नै नकारात्मक बनाएको छ।’
प्लोशेयर्स फण्डका टम कोलिनाका अनुसार कुनै दुर्घटनावश आणविक युद्ध हुने डर छ। ‘उनीहरुले आणविक बलको सतर्कता वा तयारी अवस्थाको स्तर बढाएपछि गल्तीले दुर्घटनावश आणविक युद्ध हुने जोखिम बढ्छ।’ उनी भन्छन्, ‘आक्रमणको निशानामा पर्ने मानिस र विश्वकै लागि यो अत्यन्त प्रलयकारी घटना हुनेछ।’
आणविक आक्रमणको उदाहरण आणविक हतियारलाई मानिसले अर्को मानिसलाई मार्न आविष्कार गरेको सबैभन्दा घातक हतियार मानिन्छ।
इतिहासमा एक पटक मात्रै आणविक हतियारबाट आक्रमण भएको छ। दोश्रो विश्वयुद्धका क्रममा अमेरिकाले जापानका दुई सहरहरु हिरोसिमा र नागासाकीमा क्रमशः १९४५ अगष्ट ६ र ९ मा आणविक बम खसालेको थियो। त्यसयता युद्धमा आणविक बमको प्रयोग भएको छैन।
ती आक्रमणबाट कति क्षतिभयो भन्ने यकिन तथ्यांक भने छैन। यद्यपि मार्काका अनुसार यी दुई आक्रमणबाट झण्डै २ लाख १० हजार मानिसको ज्यान गएको हुनसक्छ।
उदाहरणका लागि अमेरिकाले हिरोसिमामा एनोला गे बी– २९ बमवर्षक विमानबाट ‘लिटिल ब्वाई’ नाम गरेको आणविक बम खसालेको थियो। ६४ किलोग्राम युरेनियम- २३५ प्रयोग गरिएको बम सतहभन्दा ६ मिटर माथि विष्फोट हुँदा १५ हजार टन ट्राइनाइट्रो टोल्युन (टीएनटी) विष्फोट भएजतिको ऊर्जा पैदा भएको थियो। यसकाकारण झण्डै ४५०० मिटरको अर्धव्यास सम्म ४ हजार डिग्री सेल्सियसको ‘तापतरंग’ हिटवेभ’ पैदा भएको थियो।
आक्रमणको ५ वर्षपछि सो क्षेत्रमा रक्त क्यान्सरका बिरामीको संख्या नाटकीय रुपमा बढ्न पुग्यो भने १० वर्षपछि थाइराइड, स्तन र फोक्सो क्यान्सरका बिरामीको सङ्ख्या बढेको थियो।
आणविक विष्फोट भइहाले कसरी बच्ने ? झण्डै ८० वर्षअघि जापानको उदाहरण हेर्दा आणविक बम विष्फोटबाट बच्न के गर्ने भन्ने यकिनसाथ भन्न सकिने अवस्था छैन। एकान्त ठाउँमा जोगिएर बस्नु वा कङ्क्रिट र इँटाले बेरेको घरमा लुक्नु आणविक विष्फोटबाट ज्यान जोगाउने उपाय हुनसक्छ।
यद्यपि बजारमा आणविक विकीरणबाट जोगाउने कपडा पनि किन्न पाइन्छ। मानिसका लागि घातक आणविक विकीरणबाट जोगाउने दाबी गरिएका यस्ता कपडा भने अत्यन्त महङ्गो पर्छ। श्रोत- बीबीसी, सीएनएन, भक्स, मार्का