तस्बिर: रेडियो स्भोबोदा

समाचार

रुसविरुद्धको युद्धमा होमिएका नेपालीले भिडियोमा यसो भने

By खबरहब

March 03, 2022

काठमाडौँ- रुसले युक्रेनमाथि आक्रमण गरेपछि त्यहाँ भिषण लडाईहरु भइरहेका छन् । रुसी आक्रमणको सामना गर्न युक्रेनका सर्वसाधारण देखि राष्ट्रपति, सांसद र पूर्व मिस युक्रेन पनि डटेर लागिरहेका छन् ।

विश्व शक्तिराष्ट्र रुसको सेनाविरुद्ध लडिरहेको कमजोर देश युक्रेनका राष्ट्रपतिले केही दिनअघिमात्रै विदेशीहरुलाई युक्रेनी सार्वभौमिकताको रक्षार्थ रुसी सेनाविरुद्ध लड्नका लागि युक्रेन आउन आह्वान गरेका थिए । उनले युक्रेनी फौजमा बेग्लै ‘विदेशी डफ्फा’ (फरेन लिजन) को व्यवस्था गर्ने पनि घोषणा गरेका थिए ।

युक्रेनी राष्ट्रपतिको गुहार सुन्दै धेरै विदेशीहरु पनि अहिले युक्रेन पुग्ने क्रम बढेको छ । यही सन्दर्भमा एकजना नेपाली युवा पनि युक्रेनमा रुसी फौजविरुद्ध लड्न लागिपरेका छन् । अरु नेपालीहरुले सुरक्षित साथ युक्रेन छाडिरहेका बेला नेपाली युवा प्रताप बस्नेत रुसी फौजविरुद्ध लड्न अघि सरेका हुन् ।

युक्रेनबाट भिडियो सन्देशमार्फत् उनले आफू युक्रेनको पक्षबाट लड्न लागेको बताएका हुन् । रेडियो स्वोदाले सार्वजनिक गरेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

सडकको किनारमा खिचेको जस्तो देखिने भिडियोमा उनले आफु युक्रेनको पक्षमा लाग्न पाउँदा गौरवान्वित महशुस गरिरहेको बताएका छन् । ‘मलाई खुब गर्व लागिरहेको छ किनकी मैले युक्रेनको पक्षमा उभिने निर्णय गरेको छु । म अहिले सेनामा सहभागि हुन सैनिक बेस अगाडि उभिएको छु ।’ उनले भिडियोमा भनेका छन् ।

सही निर्णय गरेका कारण गर्व लागेको उनको भनाई छ । उनी भिडियोमा भन्छन्, ‘मेरो नाम प्रताप बस्नेत हो र म नेपालबाट आएको हुँ । यो भूमि युक्रेनको हो र रुसलाई उनीहरुको निर्णयमाथि हस्तक्षेप गर्ने कुनै अधिकार छैन ।’

‘पछिल्लो अवस्थाका कारण म रातभर सुत्न सकेको छैन । किनकी यो मानव अधिकार र मानवताको सवाल हो ।’ आफूलाई अहिले युक्रेनमा सुरक्षित महसुस नभएको भन्दै उनी भन्छन्, ‘म युक्रेनका लागि केही राम्रो गर्न चाहन्छु । किनकी म यहीँ काम गर्छु । गास बास पनि मलाई युक्रेनले नै दिएको छ । अनि यतिबेला युक्रेनलाई मेरो सहयोग चाहिएको छ र म सेनामा लाग्न आएको हुँ ।’

‘म अन्तिम श्वाससम्म युक्रेनकै लागि लड्नेछु यसमा मलाई गर्व छ ।’