फाइल फोटो

राजनीति

एमसीसी अनुमोदन भयो, अब राष्ट्र र जनतालाई केन्द्रमा राखेर काम गर्नुपर्छः नेता सिंह

By खबरहब

March 03, 2022

काभ्रे– नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले प्रतिनिधिसभाबाट एमसीसी अनुमोदन भइसकेको अवस्थामा सबै दलले राष्ट्र र जनतालाई केन्द्रबिन्दुमा राखेर काम गर्नुपर्ने बताएका छन् ।

काभ्रेपलाञ्चोकको धुलिखेलमा बिहीबार भएको नेपाली काँग्रेस काठमाडौँ जिल्ला कार्यसमितिको ५० औँ बैठकमा उनले राष्ट्र र जनताको हित हुने गरी राष्ट्रिय सहमतिको वातावरण बनाएर अगाडि बढ्नुको विकल्प नभएको बताएका हुन् ।

उनले अन्य पार्टीमा जस्तो काँग्रेसभित्र एमसीसीको विषयमा कसैको फरक मत नरहेको दाबी गरे ।

नेता सिंहले विपक्षी दल नेकपा एमालेले पनि समझदारीका आधारमा जिम्मेवार राजनीति गर्नुपर्ने बताए ।

उनले राष्ट्रलाई हित हुने खालका काममा दाता राष्ट्रसँग अनुदान लिएर राष्ट्रिय सहमतिमा नै विकास निर्माणका काममा ध्यान दिनुपर्ने धारणासमेत राखे ।

बैठकमा काठमाडौँ जिल्ला सभापति कृष्ण बानियाँ, नेपाली काँग्रेस बागमती प्रदेश समितिका महामन्त्री कञ्चनचन्द्र बादेलगायत नेताको उपस्थिति थियो ।