सांकेतिक तस्बिर

समाचार

मतदाता नामावलीमा त्रुटि भए फागुन २० देखि २६ गतेसम्म सच्याउन सकिने

By खबरहब

March 03, 2022

काठमाडौँ– निर्वाचन आयोगले मतदाता नामावलीमा त्रुटि सच्याउनका लागि समयसीमा तोकेको छ ।

आयोगले मतदाता नामावली सच्याउने अवधि फागुन २० देखि २६ गतेसम्म निर्धारण गरेको जनाएको हो ।

स्थानीय तहको निर्वाचनका लागि तयार पारिएको मतदाता नामावलीमा त्रुटि भएको भए सच्याउन पनि आयोगले आग्रह गरेको छ ।

आयोगले बिहीबार विज्ञप्ति जारी गरी कसैले झुठा विवरण दिई नामावलीमा नाम समावेश गरेको भए यसको विरोधमा उजुरी दिन आग्रह गरेको छ ।

‘कुनै मतदाताको नाम एकभन्दा बढी स्थानमा समावेश भएकोमा एक स्थानमा मात्र कायम गर्न निवेदन दिने, मृत्यु भएका वा नागरिकता त्याग गरेका मतदाताको नाम मतदाता नामावलीबाट हटाउनका लागि सूचना दिने, उजुरी परेको मतदातालाई प्रमाणसहित सफाईको मौका दिने जस्ता कृयाकलापहरू फागुन २० देखि २६ गतेसम्म सञ्चालन हुने छन,’ विज्ञप्तिमा भनिएको छ ।

यस प्रयोजनका लागि मतदाता नामावली सम्बन्धित पालिकाको वडा कार्यालय, निर्वाचन कार्यालय र आयोगको वेब साइटमा हेर्न सकिने आयोगले जनाएको छ ।