तस्वीर- फिटबिट

ग्याजेट/प्रडक्ट्स

ब्याट्री पड्कन थालेपछि बजारबाट १७ लाख स्मार्टवाच फिर्ता

By खबरहब

March 03, 2022

काठमाडौँ- प्राविधिक गडबडी देखिएपछि स्मार्टवाच निर्माता कम्पनी फिटबिटले आफ्ना १७ लाख सामान बजारबाट फिर्ता बोलाएको छ । आइकोनिक ब्राण्डका स्मार्टवाचमा ब्याट्री तात्ने र पड्कने समस्या देखिएको गुनासो आएपछि आफ्ना सामान फिर्ता गर्न लागेको कम्पनीले जनाएको छ ।

अमेरिकी उपभोक्ता सुरक्षा आयोगले जारी गरेको नोटिसमा स्मार्टवाचको ब्याट्री तात्ने र पड्कने समस्या आएको र धेरैजना घाइते भएको उल्लेख थियो । आयोगले उक्त ब्राण्डको स्मार्टवाच प्रयोग तुरुन्त बन्द गर्न समेत आह्वान गरेको थियो ।

अन्तर्राष्ट्रिय समाचारहरुले जनाएअनुसार फिटबिटले १० लाख आइकोनिक स्मार्टवाच अमेरिकी बजारमा मात्रै बेचेको छ । प्रयोग गरिरहेको स्मार्टवाच फिर्ता गरेको खण्डमा उपभोक्तालाई २९९ अमेरिकी डलर दिने समेत कम्पनीले जनाएको छ ।