फाइल तस्वीर

खेलकुद

एनएसएलको भोलि हुने अक्सन रोकियो

By खबरहब

March 03, 2022

काठमाडौँ– नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणका लागि भोलि हुने तय भएको अक्सन रोकिने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारी र असन्तुष्ट ८ क्लबबीच शुक्रबार बसेको बैठकले स्थगित गर्न एनएसएलको आयोजक नेपाल स्पाट्र्स एन्ड इभेन्ट म्यानेजमेन्ट प्रालीलाई पत्र काटेको स्रोतले जानकारी दियो ।

आफूहरूसँग अनुबन्ध भएका खेलाडी धमाधम एनएसएलले करार गर्न थालेको र आफ्नो क्लबबाट दर्ता रहेका खेलाडीलाई समावेश गरेर अक्सन गर्ने कुराप्रति सहिद स्मारक ए डिभिजन लिग च्याम्पिनयन मछिन्द्र क्लबसहित आठ क्लबले गम्भीर ध्यानाकर्षण गराउँदै आएका थिए ।

असन्तुष्ट क्लबले दुई पटक विज्ञप्ति निकाल्दै अक्सन रोक्न माग गरेको थियो । स्रोतका अनुसार सबै समस्याका समाधान भएपछि मात्रै अक्सन मिति तय हुनेछ । बैठकमा एन्फा अध्यक्ष भने उपस्थित थिएनन् ।

यस पटक एनएसएलमा १० क्लब रहने छन् । पहिलो संस्करणमा सात टोली रहँदा दोस्रो संस्करणमा तीन टोली थप गरिएको हो ।