फाइल तस्वीर

राजनीति

पार्टीभित्र देखिएको मतभेदलाई अनिरञ्जित ढंगले नबुझ्नुस्ः नारायणकाजी

By खबरहब

March 03, 2022

काठमाडौँ– नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पार्टीभित्र देखिएको मतभेदलाई अतिरञ्जित ढंगले नबुझ्न आग्रह गरेका छन् ।

आइतबार प्रतिनिधिसभाबाट एमसीसी पारित भएसँगै उनी रुष्ट बनेका थिए । श्रेष्ठले कुनै पनि हालतमा एमसीसी पास गर्न नहुने बताउँदै आए पनि पार्टीले व्याख्यात्मक घोषणासहित एमसीसी पारित गर्ने निर्णय गरेको थियो ।

उनी पक्षधरले विरोध गर्न थालेसँगै पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी छाडेर गए पनि फरक नपर्ने खालको अभिव्यति दिएपछि माओवादीमा विवाद चुलिएको थियो ।

तर, नेता श्रेष्ठले भने सञ्चारमाध्यमा विभिन्न ढंगले प्रचार भइरहेको भन्दै त्यसो नगर्न आग्रह गरेका छन् ।

‘हाम्रो पार्टीभित्र देखिएको मतभेद र अन्तरविरोधलाई लिएर विभिन्न सञ्चारमाध्यममार्फत् विभिन्न ढङ्गले प्रचार भइरहेको सम्बन्धमा यस विषयलाई अतिरञ्जित ढंगले नबुझ्न सबैसँग अनुरोध गर्दछुु ।’ बिहीबार साँझ सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘अध्यक्ष प्रचण्ड र मेरो बीचमा छलफल जारी छ र अन्य नेतृत्वदायी कमरेडहरूसँग पनि छलफल भइरहेको छ ।’