अन्तर्राष्ट्रिय

श्रीलंकामा सामाजिक सञ्जालमा लागेको प्रतिबन्धप्रति सरकारका मन्त्री नै असन्तुष्ट

By खबरहब

April 03, 2022

कोलम्बो – श्रीलंकाका मन्त्री नमल राजापाक्षेले सामाजिक सञ्जालमा लगाइएका प्रतिबन्धमा पुनर्विचार गर्न सरकारलाई आग्रह गरेका छन् ।

प्रतिबन्ध पूर्ण रूपमा उपयोगहीन भएको बताउँदै उनले त्यसबारे पुनर्विचार गर्न सरकारलाई आग्रह गरेका हुन् ।

श्रीलंका सरकारले फेसुबुक, ट्विटर, इन्स्टाग्राम, ह्वाट्सएप, युट्युबलगायतका सामाजिक सञ्जालका माध्यमहरूमा प्रतिबन्ध लगाएको छ ।

गलत सूचना रोक्न सरकारले सो निर्णय गरेको बताइएको छ । अप्ठ्यारो आर्थिक संकटबीच राष्ट्रपति गोटाबाया राजापाक्षेविरुद्ध विरोध प्रदर्शन भइरहेका बेला सरकारले संकटकाल घोषणा गरेको थियो । शनिबार साँझ देशव्यापी कर्फ्यु लगाएको सरकारले आइतबार सामाजिक सञ्जालमा रोक लगाएको थियो ।

युवा तथा खेलकुद मन्त्रालय हाँकेका नमल राजापाक्षे राष्ट्रपति गोटाबाय राजापाक्षेका भतिजा हुन् । उनले ट्विट गरेका छन्, ‘सामाजिक सञ्जालमा रोक लगाउने कुरालाई म कहिल्यै मान्दिनँ।’