फाइल तस्वीर

अन्तर्राष्ट्रिय

नवाज शरिफलाई लक्षित गरी लण्डनमा आक्रमण

By खबरहब

April 03, 2022

काठमाडौं– पूर्व पाकिस्तानी प्रधानमन्त्री नवाज शरिफलाई लक्षित गरी हमला भएको छ । बेलायतको राजधानी लण्डनमा बसोबास गर्दै आएका शरिफलाई सत्तारुढ पाकिस्तान तहरिक ए इन्साफ पार्टीका कार्यकर्ताले आक्रमण गरेको बेलायतमा रहेका पाकिस्तानी पत्रकार अहमद नूरानीले सामाजिक सञ्जाल ट्विटरमार्फत् जानकारी दिएका छन् ।

आक्रमणका क्रममा शरिफका सुरक्षाकर्मी घाइते भएको बताइएको छ । प्रधानमन्त्री इमरान खानविरुद्ध संसद्‍मा अविश्वासको प्रस्तावमाथि मतदान हुनुअघि शरिफमाथि हमला भएको हो । अविश्वासको प्रस्ताव पारित भइ खान पदबाट हटेको खण्डमा नवाजका भाइ एवम् पाकिस्तान मुस्लिम लिग (नवाज) का नेता शहबाज शरिफलाई नयाँ प्रधानमन्त्री बन्ने बाटो खुल्ने बताइएको छ ।

यता नवाज शरिफकी छोरी मर्यमले भने हिंसात्मक गतिविधि गर्ने सत्तारुढ दलका कार्यकर्तालाई तत्काल कारवाही गर्न माग गरेकी छिन् । यतिमात्रै नभइ इमरान खान आफैँ घटनाप्रति जिम्मेवार रहेको उनले आरोप लगाएकी छिन् ।