समाचार

नेपाल फर्कनेभन्दा छोड्ने नेपालीको संख्या बढी

By खबरहब

April 03, 2022

काठमाडौँ – सन् २०२२ सुरु भएपछिको तीन महिनामा विभिन्न देशबाट नेपाल फर्कनेभन्दा नेपाल छोडेर अन्य देश जाने नेपालीको संख्यामा वृद्धि भएको पाइएको छ ।

अध्यागमन विभागका अनुसार गत जनवरी, फेब्रुअरी र मार्चमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआईए) बाट कुल ४ लाख ९२ हजार ७४३ जना नेपालीले आवतजावत गरेका छन् ।

पछिल्लो तीन महिनामा टीआईएबाट आवतजावत गर्नेमध्ये २ लाख ७ हजार ६९५ जना नेपाल फर्कनेहरू थिए । सोही अवधिमा २ लाख ८५ हजार ४८ जना नेपाली अध्ययन, रोजगारी लगायतका कारण विभिन्न देश गएका थिए ।

गत मार्चमा मात्र ८० हजार ७३३ जना नेपाली स्वदेश फर्केका थिए भने ९५ हजार ५५५ जना टीआईए हुँदै विभिन्न देश गएका थिए ।

२०२२ जनवरीमा एक लाख ५ हजार ९७२ जना नेपालीले देश छोडेका थिए । सोही अवधिमा ७२ हजार ५२४ जना स्वदेश फर्केका थिए ।

गत फेब्रुअरीमा ५४ हजार ४३८ जना नेपाली स्वदेश फर्केको र ८० हजार ५२१ जना विभिन्न देश गएको विभागको तथ्याङ्कले देखाएको छ ।