समाचार

रेडियो नेपाललाई सार्वजनिक प्रशारण सेवामा लैजाने मन्त्री कार्कीको प्रतिबद्धता

By खबरहब

April 03, 2022

काठमाडौँ– सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले रेडियो नेपाललाई जतिसक्दो चाँडो सार्वजनिक प्रशारण सेवामा रूपान्तरण गरिने बताएका छन् ।

रेडियो नेपालको ७२ औँ वार्षिकोत्सवका अवसरमा आइतबार काठमाडौँमा भएको कार्यक्रममा सञ्चारमन्त्री कार्कीले सार्वजनिक प्रशारण सेवामा रूपान्तरणका लागि कानुनी तथा संसदीय प्रक्रिया छिट्टै टुङ्गिने विश्वास व्यक्त गरेका छन् ।

उनले विनाशकारी भूकम्प र कोरोना महामारीलगायत विपदका समयमा रडियो नेपालले निर्वाह गरेको भूमिकाको प्रशंसा पनि गरेका छन् ।

आगामी दिनमा रेडियो नेपालले सार्वजनिक सेवालाई प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्ने उनको भनाइ छ ।

वार्षिकोत्सवमा रेडियो नेपालले ‘रेडियो नेपाल राष्ट्रिय स्रष्टा सम्मान पुरस्कार’ बाट वरिष्ठ गीतकार किरण खरेल र सङ्गीतकार दीपक जङ्गमलाई सम्मान गरेको छ । त्यसैगरी रेडियो नेपालमा २५ वर्ष सेवा अवधि पूरा गर्ने ३६ कर्मचारीलाई स्वर्ण पदक प्रदान गरिएको थियो ।