सांकेतिक तस्बिर

समाचार

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

By खबरहब

April 03, 2022

सर्लाही – सर्लाहीको लालबन्दी नगरपालिकास्थित कालिञ्जोर पुल छेउमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

आज पूर्वपश्चिम राजमार्गअन्तर्गत लालबन्दी नगरपालिका–१७ स्थित कालिञ्जोर पुलमा ना. २९ प २४३७ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको ना. ५ ख ८४८५ नम्वरको ट्रकले ठक्कर दिएको थियो ।

ट्रकको ठक्करबाट मोटरसाइकल चालक लालबन्दी नगरपालिका–२ का २५ वर्षीय चन्दु पासवानको मृत्यु ईलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको हो ।

ट्रकको ठक्करबाट गम्भीर घाइते भएका पासवानलाई तत्काल लालबन्दीस्थित मोडेल अस्पताल पुर्‍याइएको थियो ।

लालबन्दीमा प्राथमिक उपचार पश्चात् थप उपचारका लागि जनकपुर लैजाँदै गर्दा पासवानको बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतक पासवानको शव परीक्षण पश्चात आफन्तको जिम्मा लगाइएको छ । ट्रक र त्यसका चालकलाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।