समाचार

कलंकीस्थित भाटभटेनी सुपरमार्केटलाई दुई लाख जरिवाना

By खबरहब

April 03, 2022

काठमाडौँ– जिल्ला प्रशासन कार्यालय काठमाडौँ र वाणिज्य विभागको संयुक्त अनुगमन टोलीले कलंकीस्थीत भाटभटेनी सुपरमार्केटलाई दुई लाख जरिवाना गरेको छ ।

आइतबार गरिएको अनुगमनका क्रममा म्याद नाघेका मिरिन्डा र म्याद स्पष्ट नदेखिने सामान राखिएको पाइएपछि दुई लाख जरिवाना गरेको हो ।

उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार भाटभटेनीलाई उक्त रकम जरिवाना गरिएको काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले जानकारी दिए । आगामी दिनमा म्याद गुज्रिएको सामान बिक्रि गरिएको पाइएमा थप कारावाही गर्ने गरि सचेत गराइएको उनले बताए । त्यस्तै कालिमाटीमा रहेको समर किराना पसल र चम्पारण स्टोरमा अनुगमन गर्दा मूल्य सूची नराखिएको, केहि सामानहरुको म्याद सकिएको र उपभोक्ताको स्वास्थ्यमाथि खेलवाड गरिएको भन्दै ५०–५० हजार रुपैयाँ जरिवाना गरिएको पौडेलले बताए ।

त्यस्तै टोलीले काठमाडौँको चाल्नाखेलस्थीत एभरेष्ट ग्यास उद्योगको अनुगमन गरेको थियो । सो क्रममा भारतबाट ग्यास आउने क्रममा रहेको र दुईतीन दिनभित्र फिलिङ गरि बजारमा पठाइने जानकारी पाएको अनुगमन टोलीले जनाएको छ ।

पौडलेले आगामी दिनमा अनुगमनलाई निरन्तरता दिने समेत जानकारी दिए ।