समाचार

चंखेलीदेखि देउलीसम्मको तीस किलोमिटर सडक प्रदेश सरकारलाई हस्तान्तरण

By खबरहब

April 03, 2022

मुगु– हुम्ला लिंकरोड अन्तर्गत चंखेलीदेखि देउलीसम्मको ३० किलोमिटर सडक प्रदेश सरकारलाई हस्तान्तरण गरिएको छ ।

बेलायत सरकारको सहयोगमा निर्माण सम्पन्न भएको उक्त सडक प्रदेश सरकारलाई हस्तारन्तरण गरिएको हो ।

ग्रामीण पहुँच कार्यक्रम (र्‍याप थ्री) ले बेलायत सरकारको सहयोगमा निर्माण सम्पन्न गरेको ३० किलो मिटर सडक हस्तारन्तरण गरिएको चंखेली गाउँपालिकाका अध्यक्ष धनलाल चौलागाईंले जानकारी दिए ।

ग्रामीण पहुँच कार्यक्रमले निर्माण गरेको मध्ये ३० किलोमिटर सडक आइतबार कर्णाली प्रदेश सरकारलाई हस्तान्तरण गरिएको हो ।

चंखेली गाउँपालिका वडा १, २, र ३ का नागरिकका साथै अन्य हुम्लाबासीले अबका दिनमा सहजैरुपमा गाडीमार्फत जिल्ला बाहिर आवतजावत गर्न पाउने भएका छन् । हुम्लाको दक्षिण भेगका नागरिकलाई आवतजावतमा सहजका साथै बिरामीलाई उपचारका लागि जिल्ला बाहिर लैजान सहज हुने भएको छ ।

कार्यक्रमले यसअघि निर्माण गरेको २६ किलोमिटर सडक सन् २०२० मा प्रदेश सरकारलाई हस्तान्तरण गरेको थियो ।

सडकको नियमित मर्मतसम्भार गर्ने गरी प्रदेश सरकारलाई बुझाइएको कार्यक्रमका परियोजना व्यवस्थापक विष्णुराम विष्टले बताए ।

सडक निर्माणको काम भएपछि हुम्ला र मुगुका झण्डै दुई दर्जन बस्तीहरू सडक सञ्जालमा जोडिएको चंखेली गाउँपालिका उपाध्यक्ष चौलागाईंले बताए ।