राजनीति

प्रधानमन्त्री देउवा काँग्रेस सभापतिको हैसियतमा भाजपा कार्यालय पुगेका हुन्ः परराष्ट्रमन्त्री

By खबरहब

April 03, 2022

काठमाडौँ– परराष्ट्रमन्त्री डा. नारायण खड्काले प्रधानमन्त्री शेरबहादुर देउवा भारतीय जनता पार्टी (भाजपा) को मुख्यालयमा नेपाली काँग्रेसको सभापति भएर गएको स्पष्ट पारेको छ ।

आज साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै डा. खड्काले देउवा प्रधानमन्त्री भएर नभई नेपाली काँग्रेसको सभापतिको हैसियतमा भाजपा मुख्यालय गएको बताएका हुन् ।

उनले काँग्रेस सभापतिका हैसियतमा प्रधानमन्त्री देउवाले भाजपाको कार्यालयमा आउनु मर्यादाविपरीत नभएको दाबी गरे ।

भारत भ्रमणका क्रममा प्रधानमन्त्री देउवाले भाजपाको मुख्यालय भ्रमणलाई कूटनीतिक मर्यादाविपरीत भएको भन्दै आलोचना भएको थियो ।

तर, परराष्ट्रमन्त्री खड्काले नेपाली काँग्रेस र भाजपाबीचको सम्बन्धलाई थप सुमधुर बनाउन सभापतिकाे हैसियतमा भाजपा कार्यालय पुगेको बताए ।