तस्वीर- द पन्च नाइजेरिया

अन्तर्राष्ट्रिय

नाइजेरियामा भवन भत्किँदा ९ जनाको मृत्यु

By रासस

May 03, 2022

काठमाडौं- नाइजेरियामा एक भवन भत्किँदा त्यसमा परेर मृत्यु हुनेको संख्या नौ पुगेको छ । दक्षिणी नाइजेरियाको लागोस राज्यको एक नगरमा तीन तले भवन भत्किएको जनाइएको छ । भवन भत्किएका कारण नौ जनाको ज्यान गएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार ओनिग्बो नगरमा रहेको तीन तले भवन भत्किएको हो । यसअघि घटनामा ८ जनाको ज्यान गएको बताइएको थियो । यद्यपि उद्धारका क्रममा थप एक जनाको शव भेटिएको हो ।

हिजो सो भत्किएको भवनको भग्नावशेषबाट एक चार वर्षको बच्चाको शव निकालिएको थियो ।

सो भवनमा अरु पनि व्यक्ति पुरिएको हुनसक्ने आशंकामा उद्धारको काम जारी राखिएको छ । सो भवनमा कति मानिस थिए भन्ने बारेमा यकिन भने हुन सकेको छैन ।