काठमाडौँ– स्थानीय निर्वाचनको माहौलमा देश छ । स्थानीय तहमा आउँदो पाँच वर्षसम्मको लागि सेवा गर्ने उद्देश्यका साथ उम्मेदवारी दिइसकेका छन् ।
स्थानीय तहमा सुशासन कायम गर्ने र डिजिटल स्थानीय तहको नारा आधिकांश युवा उम्मेदवारले दिइरहेका छन् । विशेषत स्थानीय तहमा युवाको सहभागिताले सेवालाई डिजिटल बनाउने योजना अगाडि बढिरहेका छन् । नेपालमा बढ्दो इन्टरनेटको प्रयोगले पनि यस किसिमको नारालाई अगाडि बढाउने दबाब युवामा छ । यद्यपि जीतपुरसिमरा उपमहानगरपालिकाको उपमेयर बन्ने दौडमा रहेकी विद्यार्थी नेत्री मेघा शाहीले आफ्नो एजेन्डामा सुशासनलाई बढी जोड दिएकी छिन् ।
विद्यार्थी हकहितका लागि नेपाल विद्यार्थी संघमा सक्रिय रहेर राजनीतिमा उदाएकी मेघा शाही उद्योग, पर्सा राष्ट्रिय निकुञ्ज सहितको उपमहानगरपालिकामा सुशासनको मुद्दालाई पहिलो नम्बरमा स्थान दिएकी छिन् । ‘सुशासन कायम भए अन्य योजनालाई पनि टेवा पुग्छ । त्यसैले मेरो प्राथमिकताको नम्बर एकमा सुशासन छ । स्थानीय तहलाई भष्ट्राचार मुक्त बनाउनुका साथै सेवालाई सरल बनाउने प्राथमिकता मैले लिएकी छु’ उनले भनिन् । ‘स्थानीय तहमा युवा’ भन्ने नाराका साथ उपमेयर पदमा उम्मेदवारी दिएकी मेघा विद्यालयमा पढ्दै राजनीतिमा प्रवेश गरेकी मेघा नेविसंघको ठाकुरराम बहुमुखी क्याम्पस इकाई अध्यक्ष हुँदै केन्द्रीय सदस्यसमेत भइसकेकी छिन् । सधैँजसो गुणस्तरीय शिक्षा र विद्यार्थी हकहितका एजेण्डा बोकेर आन्दोलनमा उत्रने मेघा अहिले जीतपुरसिमराको समृद्धि र सुशासनको एजेण्डा बोकेर चुनावी मैदानमा छिन् ।
व्यवस्थित सहरीकरण, सुशासन र नागरिक अधिकारको रक्षा नै आफ्नो मुख्य एजेण्डा बताउने मेघाले उपमेयरलाई दिएका अधिकारहरूको प्रयोग गर्दै जीतपुरसिमराका जनताको सेवा गर्ने आफ्नो लक्ष्य रहेको बताउँछिन् । सत्तारुढ गठबन्धनको तर्फबाट जीतपुरसिमरामा माओवादी केन्द्रका राजन पौडेल मेयरका प्रत्याशी छन् भने मेघा नेपाली कांग्रेसको तर्फबाट उपमेयर पदको प्रत्यासी छिन् ।
‘स्थानीय तहमा युवाको सहभागिता हुनुपर्छ अनि मात्र हामीले सोचेको स्थानीय तह बन्नेछ । हामीले बाहिर बसेर , वेवास्ता गरेर मात्र हामीले चाहेको स्थानीय तह त बन्दैन नी ? हामी मैदानमा आउनु पर्छ सँगै युवा विचारलाई पनि प्रवर्द्धन गर्नुपर्छ’ मेघाले भनिन् । युवालाई विश्वास गर्ने परिपाटी बढ्दो भएता पनि बदलावको लागि युवालाई भरोसा गर्नुको विकल्प नहुने उनी बताउँछिन् । सुशासनको लागि भ्रष्टाचार अन्त्य गर्नुपर्नेछ । पुराना बिग्रिएका कामहरू सुधार्दै नयाँ कामको सुरुवात गर्नु पर्ने छ । मेरो उद्देश्य शिक्षा, स्वास्थ्य र सुशासनमा योगदान गर्नु हो’, उनी भन्छिन् ।
औद्योगिक हिसाबले पनि निकै सबल रहेको जीतपुरसिमरालाई श्रमिकहरूको नगर पनि भन्ने गरिन्छ । यसलाई उनले ‘श्रमिक अस्पताल’ को धारणासँगै सम्बोधन गर्ने बताइन । ‘हाम्रो अधिकांश जनसंख्या श्रममा खटिने भएकाले उनीहरूको शिक्षा र स्वास्थ्यमा पहुँचलाई सुलभ बनाउने योजना छ । हामीले संघ वा प्रदेशसँग समन्वय गरेर भए पनि श्रमिक अस्पताल सञ्चालन गर्ने सोचेका छौं’, उनी भन्छिन् ।
‘हामीलाई आफ्नो राजनीतिसँगै आफ्नो ठाउँको पनि विकास गर्नु छ । हामी फेरी जनता कहाँ पुग्दा आफ्नो एजेन्डा पुरा गरेर पुग्न चाहन्छौ । त्यसैले पनि हामीले पुरा गर्न सक्ने योजनाहरूलाई अगाडि ल्याएका छौँ’ मेघाले भनिन् । उनले श्रमिकहरूका लागि श्रमिक अस्पतालको आवश्यकता महसुस गरेकी छिन् । सहरी संरचनाको पर्याप्त निर्माण हुन नसकेको, खुला व्यवस्थित स्थान र पार्कको अभाव रहेको उनले औँल्याएकी छिन् ।
मेघाले विद्यार्थीका लागि प्राविधिक शिक्षामा जोड दिएकी छिन् । ‘शिक्षाले नै समाजको मुहार फेर्ने हो । त्यसैले पनि शिक्षालाई विशेष महत्वका साथ अगाडि बढाउनु पर्छ’ उनले भनिन् । शिक्षासँगै स्वास्थ्यमा जोडी दिएकी मेघाले पर्यावरण स्वच्छ बनाउन पनि अग्रसर हुनुपर्ने बताउँछिन् । ‘उद्योग हाम्रो सम्पत्ति हो । यसले यहाँ धेरैलाई रोजगारी दिएको छ । यद्यपि त्यसबाट पर्यावरणलाई पर्ने असरलाई न्यून बनाउनै पर्छ’ उनले भनिन् ।
उनले आन्तरिक पर्यटन प्रर्वद्धनको समेत योजना बुनेकी छिन् । ‘पर्सा राष्ट्रिय निकुञ्ज व्यवस्थित बनाउनु सके मात्र पनि आन्तरिक पर्यटनलाई बढाउन सकिन्छु उनी भन्छिन् ‘हाम्रो काम गर्ने इच्छा शक्तिले हाम्रो बुनिएका योजनालाई मूर्तरूप दिन्छ । आफ्नो प्राकृतिक हिसाबले स्वच्छ, हराभरा र सुन्दर बनाउने गरी विकासको खाका ल्याउने योजना उनको छ ।
आफू कानुनकै विद्यार्थी रहेकोले मधेसका महिलाहरुले भोग्ने गरेका समस्याहरुबाट उन्मुक्ति दिलाउन न्यायिक समितिमार्फत विशेष अभियान सञ्चालन गर्ने मेघाको योजना छ । जीतपुरसिमरा उपमहानगरपालिकामा ७० हजार ६४ जना मतदाता रहेका छन् ।