काठमाडौँ– पछिल्लो समय नेपाली फिल्महरू पाइरेसीको शिकार हुन थालेका छन् । हल पुगेका दर्शकहरूले टिकटकमा स-सानो क्लिप हाल्ने क्रम बढ्दै गर्दा केहीले लामो समयको भिडियो क्लिप नै हालिरहेका छन् । कोरोना भाइरसको महामारी पश्चात नेपाली फिल्म पनि पाइरेसीको शिकार हुने क्रम बढेको छ । यद्यपि स-सानो क्लिप मात्र टिकटक झैँ युट्युबमा समेत आइरहेका छन् ।
टिकटकमा स-सानो क्लिप भएता पनि युट्युबमा भने केही लामो भिडियो नै आउन थालेका छन् । गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘म यस्तो गीत गाउँछु २’ का निर्देशक सुदर्शन थापाले पाइरेसीको समस्या बढेको बताए । आफ्नो फिल्म प्रदर्शनको समयमा विभिन्न झमेलामा रहेका कारण पनि धेरै ध्यान दिन नपाएको बताउने सुदर्शनले टिकटकमा भेटिएको लामो भिडियोलाई रिक्वेस्ट गरेर नै हटाउन लगाएको बताए ।
‘हाम्रो फिल्मको पार्ट-पार्ट गरेर आएको भिडियोलाई व्यक्तिगत आग्रह गरेर हटाउन लगाएका थियौँ । यसको लागि चेतना बढाउनु पर्ने आवश्यकता भइसकेको छ’ सुदर्शनले भने । उनले हलले पनि कडाइ गर्नु पर्नेमा जोड दिए । ‘भिडियो खिच्न नहुने सूचना फिल्म चल्नु अगाडि देखाउनेसँगै मोबाइलले भिडियो खिच्दा कडाइ गर्नु पर्छु उनले भने ।
उनको फिल्मको १७ मिनेट ५२ सेकेन्डको भिडियो युट्युबमा समेत छ । यो भिडियो हलबाट नै खिचेको प्रस्ट हुन्छ । अर्को प्रतीक्षित फिल्म ‘ए मेरो हजुर ४’ को पनि ५३ मिनेट ४८ सेकेन्डको भिडियो युट्युबमै छ । निर्माण पक्षले भिडियो हटाउन अनेक प्रयत्न गरेका थिए । यद्यपि एक च्यानलबाट हटाएको भिडियो अर्को च्यानलमा अपलोड भएको पाइन्छ । एक पटक भिडियो सामाजिक सञ्जालमा आइसकेपछि जत्ति नै हटाए पनि कही कतैबाट अपलोड हुने गरेको बुझाई कबड्डी ४ का निर्माता मनिराम पोखरेलको पनि छ । ‘एउटाले हटायो भने अर्कोले हाल्ने रहेछन् । पाइरेसी सम्बन्धी चेतना नै बढाउनु पर्ने आवश्यकता छ’ उनले भने ।
प्रदर्शन भइरहेको फिल्म ‘कबड्डी ४ : द फाइनल म्याच’ को २२ मिनेट ७ सेकेन्ड लामो क्लिप युट्युबमा छ । यो एउटाबाट हाते अर्कोमा अपलोड हुने गरेको छ । एक पटक सोसल मिडियामा आएपछि विभिन्न स्थानमा सेफ हुने भएकाले पनि यसलाई हटाउन असहजता बढ्दो छ । यद्यपि ‘कबड्डी ४’ टिम पछिल्लो समय अभिनेत्री मिरुना मगर र भिक्षु फुर्पा तामाङ बीच देखिएको विवाद मिलाउनमै व्यस्त छन् ।
पाइरेसी गर्न नहुने र गरेमा आउने परिस्थितिलाई बुझाउन नसक्दा फिल्म हेर्न हलसम्म पुग्ने गरेका दर्शकले रमाइलोको लागि भिडियो क्लिप बनाउने गरेका छन् । टिकटकले सुरुवाती समयमा सर्जकको कामलाई प्रचार गर्न ठूलो भूमिका खेलेको थियो तर पछिल्लो समय यो सर्जकका लागि नै सबैभन्दा धेरै घातक प्लेटफर्म बनिरहेको छ । प्रचारप्रसार हुने टिकटकमा आजभोलि फिल्मका दृश्यहरू छताछुल्ल हुन थालेका छन् । हलमा फिल्म हेर्न पुगेका अधिकांश दर्शकले मोबाइलबाट सानो क्लिप खिचेर टिकटकमा अपलोड गर्ने गरेका छन् । यसरी हलमा रिलिज भइरहेको फिल्मलाई टिकटकमा अपलोड गर्नुको मुख्य तात्पर्य फलोअर्सको संख्या बढाउनु र अरु प्रयोगकर्तालाई आफूतर्फ आकर्षित गर्नु हो ।
केही समय अगाडि फिल्म प्रदर्शकहरूको छाता संगठन नेपाल चलचित्र संघले पनि हलमा भिडियो क्लिप खिच्नेलाई कडाइ गर्न आग्रह गर्दै विज्ञप्ति जारी गरेको थियो । दर्शकहरुले नबुझ्दा नै यो समस्या बढेको उनीहरूको बुझाइ छ । सुरुवाती समयमा पब्लिसिटी सम्झेका अधिकांश फिल्मकर्मी अहिले यसलाई लिएर चिन्तित बन्न थालेका छन् । प्रचारमा सघाइरहेको टिकटकले प्रचारसँगै समस्या समेत निम्त्याएको छ । हलमा मोबाइल लैजान पाइने हुँदा यो छिट्टै रोकिने सम्भावना पनि छैन । अर्थात् आउँदा दिनमा यस किसिमको समस्या अझै पनि भोग्नु नै पर्ने देखिन्छ ।
पाइरेसी भइरहेको र यसले पार्ने असर र पाइने सजाय बारे चेतना बढाउन सके यो समस्या नियन्त्रण हुने प्रदर्शक, वितरकसँगै निर्माता समेत रहेका नरेन्द्र महर्जन बताउँछन् । उनले आफैँले हलमा निगरानी बढाउने गरेको बताएका छन् । ‘म आफैँ हलमा निगरानी बढाइरहेको छु । कर्मचारीलाई पनि कडाइ गर्न भनेको छु । टिकटकका लागि स-सानो क्लिप बनाउने भएकोले पनि त्यो कम भएता पनि रोकिएको छैन’ प्रदर्शक महर्जनले भने ।
नेपाल चलचित्र संघका निवर्तमान अध्यक्ष प्रदीपकुमार उदयले स-सानो क्लिप खिच्ने र भिडियो प्लेफर्ममा हाल्ने फेसन नै भएको बताए । ‘आफू हलसम्म पुगेको र फिल्म हेरेको जानकारी दिन पनि धेरैले भिडियो खिच्ने गरेका छन् । हामीले बारम्बार नखिच्न आग्रह गरिरहेका हुन्छौँ । हामी सजग र सतर्क छौँ’ प्रदर्शन उदयले भने । ‘हामीले हलभित्र धेरै समय बसेर दर्शकलाई डिस्टर्ब पनि गर्न मिल्दैन । हामीले कडाइ गर्दै फिल्म सामाजिक सञ्जालमा अपलोड गर्न हुन्न भन्ने सन्देश दिएका छौँ,’ उदयले भने । प्रविधिको विकाससँगै आउने चुनौतीलाई विस्तारै समाधान गर्दै अगाडि बढ्नुपर्ने उनको भनाइ छ ।
युट्युब र टिकटक मात्र नभई पछिल्लो समय सामाजिक सञ्जालका अन्य माध्यममा पनि आफ्नो गतिविधिबारे जानकारी दिने प्रचलन बढ्दो भएकाले नै यो समस्या आइरहेको छ । आफ्ना गतिविधिलाई सोसल मिडिया फ्रेन्डली बनाउनुकै कारणले बढेको समस्याले लोकप्रियतासँगै समस्या निम्त्याएको हो । नेपालमा प्राय हेर्ने माध्यम अन्यको तुलनामा छिटो लोकप्रिय बन्दै आइरहेको छ । यसले सँगसँगै निम्त्याएको समस्यालाई पनि समाधान गर्न जरुरी छ । त्यसो त यसको समाधानको लागि सचेतनाभन्दा अन्य विकल्प हुन नै सक्दैन । भिडियो पाइरेसीमार्फत फिल्मलाई पर्ने असरलाई दर्शकसम्म पुर्याउन सकेमा यसले पुनः प्रचारप्रसारकै लयमा काम समेत गर्न सक्छ ।