खेलकुद

प्लानिङ ब्वाइज बी डिभिजनमा बढुवा

By खबरहब

June 03, 2022

काठमाडौँ- प्लानिङ ब्वाइज युनाइटेड बी डिभिजन लिगमा बढुवा भएको छ  । शहीद स्मारक सी डिभिजन लिगको १३ औँ  खेलमा जित निकाल्दै प्लानिङ बी डिभिजनमा बढुवा भएको हो ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबार दिउँसो भएको खेलमा प्लानिङले रेलिगेसनमा परेको ओएसिसलाई ५–० गोलअन्तरले पराजित गरेको हो ।

प्लानिङको जितमा फागु राम थारुले ह्याट्रिक गरे भने तथा अर्जुन कुमार राना र ओम प्रकाश चौधरी १–१ गोल गरे । प्लानिङका फागु राम म्यान अफ द म्याच घोषित भए ।

यस्तै, काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँढे १२ बजे सुरु भएको स्पोर्ट्स एकेडेमी साँगा र आरसी ३२ फुटबल एकेडेमी बीचको खेल भने गोलरहित बराबरीमा सकिएको छ ।

गोल बराबरीमा सकिएसँगै आरसी ३२ अंक तालिकाको दोस्रो स्थानमा उक्लिएर बी डिभिजनमा बढुवा हुने सपना अपुरो भएको हो । लिगको अन्तिम खेलमा भने झापा फुटबल क्लब र स्वयम्भू क्लब दिउँसो साढे ३ बजे भिड्नेछन् ।

बी डिभिजनमा बढुवा भइसकेको झापा पनि ११ औँ जित निकाल्न चाहन्छ । स्वयम्भू भने तेस्रो जितको खोजीमा छ ।