खेलकुद

झापा फुटबल क्लबल‍ाई सी डिभिजन लिगको उपाधि

By खबरहब

June 03, 2022

काठमाडौँ- झापा फुटबल क्लबले शहीद स्मारक सी डिभिजन लिगको उपाधि जितेको छ । शुक्रबार १३ औँ जित निकाल्दै झापा फुटबल क्लबले उपाधी जितेको हो ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबार दिउँसो भएको अन्तिम खेलमा झापाले स्वयम्भू क्लबलाई ४–२ गोल अन्तरले पराजित गर्यो ।

झापाका जितमा विशाल खवासले २ तथा मनिष लिम्बू र पुजन राईले १–१ गोल गरे । स्वयम्भूको लागि भने पाल्साङ लामा र राजिब मगरले १–१ गोल फर्काए ।

झापाका पारस कार्की लिगको सर्वोत्कृष्ट खेलाडीको उपाधिसहित ५० हजार रुपैयाँले पुरस्कृत भए । प्लानिङ ब्वाईजका लोकेश चौधरीले उत्कृष्ट गोलकिपरको उपाधिसँगै ३५ हजार रुपैयाँ प्राप्त गरे ।

लिगमा समान १४ गोल गरेका खेमराज तामाङ र फागुराम थारु सर्वाधिक गोलकर्ता घोषित भए । दुबैले ३५ हजार रुपैयाँ प्राप्त गरे ।

यस्तै महावीर क्लब फेयर प्ले टोली घोषित हुँदै ५० हजार रुपैयाँ पुरस्कार जित्यो ।