मनोरञ्जन

‘२ नम्बरी’ को विदेश बिक्री सुरु

By खबरहब

July 03, 2022

काठमाडौँ- आगामी ४ कात्तिकबाट रिलिज हुने नेपाली फिल्म ‘२ नम्बरी’ को विदेश बिक्री सुरु भएको छ ।

फिल्मका प्रस्तुत कर्ता किरण नेपालीका अनुसार फस्टलुक सार्वजनिक भएसँगै विभिन्न देशमा फिल्म बिक्री भइसकेको छ । विशेषत फिल्म मध्य पूर्वी देशहरूसँगै साउथ कोरियामा विक्री भएको हो । फिल्मको प्रचार सामग्रीहरू बाहिरिएसँगै आकर्षण बढेको यसले प्रस्ट्याएको छ ।

फिल्म ४ कात्तिकमा दक्षिण कोरिया, दुबई, कतार, कुवेत, साउदी अरब, बहराइन, जोर्डनलगायतका देशमा रिलिज हुने प्रस्तुत कर्ता नेपालीले बताए । फिल्मलाई निप फिल्मस्का लागि रमेश ढकालले किनेका हुन् ।

अन्य देशमा पनि फिल्मको लागि कुरा भइरहेको नेपालीले जानकारी दिए । दुई साथीको मित्रताको कथामा बनेको यो फिल्ममा दीपेन्द्र लामाको निर्देशन छ । फिल्ममा दयाहाङ राई, सौगात मल्ल, उपासनासिंह ठकुरी, उगेन छोदेनलगायतका कलाकारको अभिनय छ ।